• ६ जेठ २०८१, आइतबार

जलवायुको प्रभाव

blog

यस वर्षको मनसुन सुरु भएकै हप्ता भएको वर्षाले पूर्वी नेपालका तीन जिल्ला पाँचथर, सङ्खुवासभा र ताप्लेजुङमा करोडौँ धनजनको क्षति पु-यायो। मानवीय क्षति, विस्थापित र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण सुरु गरिएकोलगायत अद्यावधिक विवरण आउने क्रम अझै जारी छ। निकै कम पानी पर्ने क्षेत्रमा एकै पटक बाल्टी घोप्ट्याएको जस्तो पानी पर्दा पहिरो र त्यसपछि खोलामा आएको बाढीको चपेटामा पर्दा मेची राजमार्ग विच्छेद हुँदा जनजीवन कष्टकर भइरहेका समाचार अझै आइरहेका छन्।

सामान्यतया मनसुन पूर्वी नेपालबाट भित्रिएपछि बिस्तारै पानी पर्दै सुदूरपश्चिमसम्म फैलिनुपर्नेमा मनसुन भित्रिँदै गर्दा एकै ठाउँमा पानी ओइरिएको यो घटना सबैका लागि फरक बन्यो। गत वर्ष मनसुन सकिएपछि दसैँ चलिरहेको बेला एकाएक सुरु भएको वर्षा लम्बिँदै जाँदा पूरै दसैँ हिले दसैँ बन्न पुगेको थियो। देशभर दसैँको हर्षोल्लासको बेला टीका थाप्न एक ठाउँबाट अर्को ठाउँ जानुपर्ने बेला भएका बाढीपहिरो र डुबानका घटनाले ‘मनसुन सकिएपछि पानी नपर्नुपर्ने के भएको हो यस्तो’ भन्ने प्रश्न उब्जायो।

यसबाट ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा... जता जाउँ उतै भन्छन्, दसैँ आयो दसैँ आयो’ भन्ने कवि शिरोमणि लेखनाथ पौड्यालको कविताले वर्णन गरेको त्यस बेलाको मौसमभन्दा अहिलेको मौसम फेरिएको देखियो। विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको गरेर ५५१ घर बगाएको थियो। जसबाट पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गयो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए। 

असार १ गते आएको भयानक बाढीको प्रभाव कम हुन नपाउँदै साउन १६ गते फेरि मेलम्ची खोलामा आएको लेदोसहितको भीषण बाढीले हेलम्बु–मेलम्ची किनारको करिब ४० किमी क्षेत्रलाई थप तहसनहस गर्दै बगरमा परिणत गरिदियो। बाढीले मेलम्ची बजारमा बाँकी रहेका केही भौतिक संरचनामा क्षति पुग्यो। सुन्दर मेलम्ची बजार खण्डहर बन्यो। यसरी एउटा सिङ्गो सहर नै बगरमा परिणत गरिदिने गरी आएको बाढी आममानिसले गरेको कल्पनाभन्दा बाहिरको थियो। 

त्यसै वर्ष वर्षायाम सकिएर मनसुन बाहिरिइसकेपछि असोज अन्तिमबाट कात्तिक ३ गतेसम्म बझाङ, बैतडी र डडेलधुरा जिल्लामा परेको मुसलधारे पानीबाट आएको बाढीपहिरोबाट ठुलो जनधनको क्षति भयो भने हजारौँ हेक्टर जमिन बगरमा परिणत भयो। एक सयभन्दा बढी परिवार विस्थापित भए। बेमौसममा भएको वर्षाले सुदूरपश्चिममा तहल्का मच्चायो। २०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा माथिबाट सिङ्गै पहाड खस्दा १४५ जनाको ज्यान गएको थियो। जुरेको पहिरोले तत्कालीन मांखा गाविसका इटिनी, बागुने, पराजुली टोल, राम्चेको ड्याम बजार र टेकानपुरको दाबी गाउँ गरी पाँच गाउँ एकै झट्कामा सुनकोशीमा मिलाएको थियो। मध्य वर्षामा उर्लिएको सुनकोसी नदी ११ घण्टासम्म ठप्प थुनेको उक्त पहिरोले अन्तर्राष्ट्रिय समुदायकै ध्यान खिचेको थियो।

त्यसअघि विसं २०६६ असोज १८ देखि २० मा भएको भारी वर्षाका कारण सुदूरपश्चिमका धेरै भाग र मध्यपश्चिमका केही भूभागमा पहिरो र बाढी आयो। जसबाट कैलाली, कन्चनपुर, बर्दिया, बाँके, दाङ, डडेलधुरा, डोटी, अछाम, बैतडी र बझाङलगायतका १४ जिल्ला प्रभावित भए। बाढी, पहिरो र डुबानबाट ७८ जनाको मृत्यु भयो। एक लाख ७५ हजार जना प्रभावित भएकोमा १५ हजार जना पूर्ण रूपले विस्थापित भए। 

यी सामान्यभन्दा फरक प्रकृति र प्रवृत्ति भएका पछिल्लो १५ वर्षभित्रका केही मुख्य मौसमी घटना हुन्। जसमा नेपालमा पानी पर्ने तरिका र पर्ने पानीको मात्रा दुवै अस्वाभाविक रूपमा बदलिएको र त्यसले निम्त्याएका विपत्का घटनाको आयतन र क्षति दुवै भयावह रहेको देखिन्छ। वर्षायाममा मुसलधारे पानी पर्नु र झरी लाग्नु ठुलो कुरा होइन तर क्षणभरमै बाल्टी घोप्ट्याएको जसरी पानी पर्नु र त्यसबाट आएको पहिरोले डाँडै खसेर दर्जनौँ गाउँ बस्ती पुरेर सयौँ मानिसको एक चिहान बनाउनु, नदीको बहाव अस्वाभाविक भएर नदी किनारभन्दा ५० औँ मिटर माथिका राजमार्ग, पुलपुलेसा सोहोरेर आसपासका सहर एवं बस्ती बगरमा परिणत गर्ने गरी बाढी आउनु पक्कै पनि सामान्य कुरा होइन। 

पानी पर्ने सिजन (मनसुन) सकिएर बालीनाली स्याहारेर ‘हिलोमैलो सकियो’ भन्दै दसैँ–तिहार मनाउँदै गर्दा एकाएक ओइरिएको पानीले पहाडमा पहिरो तथा बाढी र तराईमा डुबानले सयौँको मृत्यु, हजारौँको बिचल्ली र करोडौँ रुपियाँ बराबरको क्षति पु-याउने घटना एउटा मात्रै हुँदा ‘मौसमको भर हु्ँदैन भन्छन् यस्तै हो...’ भनेर बेवास्ता गर्न सकिएला तर त्यस्ता असामान्य, अनौठा, अस्वाभाविक र बेमौसमी घटना दोहोरिँदै गएर समग्र मौसमी प्रणाली फेरिन थाल्नु ठुलो परिवर्तन हो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुन भित्रिने औसत मिति जेठ ३० (जुन १३) हो भने बाहिरिने दिन असोज १५ (अक्टोबर २) हो। यसअघि मनसुन भित्रिने औसत दिन जेठ २७ (जुन १०) थियो भने बाहिरिने दिन असोज ६ (सेप्टेम्बर २३) थियो। मनसुन सुरु हुन ढिला हुने र बाहिरिन पनि ढिला हुने गरी बर्सात्का गतिविधि केही पछि सरेपछि महाशाखाले ३० वर्षपछि सन् २०२१ मा मनसुन भित्रिने र बाहिरिने नयाँ औसत मिति तय गरेको थियो।

यसबाट मनसुन सुरु हुने दिन तीन दिन पछि स-यो भने बाहिरिने दिन नौ दिन पछि स-यो। यो गर्दा जम्माजम्मी मौसमी दिनमा एक हप्ता थपियो। महाशाखाको तथ्याङ्क अनुसार सन् १९६८ देखि २०२३ सम्म ३९ वटा मनसुन ढिला सुरु भएका छन् भने १४ वटा मनसुन औसत समयभन्दा छिटो सुरु भएका छन्। मौसमविद्हरूका अनुसार नेपालमा मनसुन भित्रिने र बाहिरिने समय बदल्न पर्नु, पछिल्ला वर्षहरूमा पानी पर्ने अवधि घट्दै जानु र थोरै समयमा नसोचेको परिमाणमा पानी परेर विपत्का घटना र क्षति दुवै बढ्नु जलवायु परिवर्तनको प्रभाव हो। अहिलेको मनसुन पहिलेको जस्तो छैन। विश्वव्यापी तापमान वृद्धिसँगै विश्वभर ताता दिनहरू बढेर गएको परिदृश्यमा नेपालमा पनि बर्सेनि गर्मी दिनहरू बढ्दै गइरहेका छन्। 

पहिलेको अत्यधिक चिसो हुने हिउँदमा अहिले चिसो दिनहरू कम भएर गइरहेका छन्। एकै पटक अकस्मात अत्यधिक हिउँ परेर रेकर्ड ब्रेक गर्ने र त्यसपछि वर्षौं हिमपात नहुने परिवर्तित मौसमी गतिविधिले हिमाली क्षेत्रमा तापमान वृद्धिको प्रभाव स्पष्टै देख्न सकिने भइसकेको छ। वर्षायाममा वर्षा कम हुने, सुक्खा दिनहरू बढी हुने, तराईको जस्तो गर्मी पहाडी इलाकामा बढ्दै जाने गर्दा तराई क्षेत्रमा लाग्ने रोग भनेर चिनिएको डेङ्गुको महामारी काठमाडौँलगायत उच्च हिमाली जिल्लामा समेत पुगिसकेको यथार्थ हामीसामु छ। 

सिँचाइको राम्रो व्यवस्था नभएका कारण नेपालको धेरै जसो खेतीबाली प्रणाली आकाशे पानीमा निर्भर छ। आकाशे पानीको उपलब्धता अनुसार विभिन्न भेगमा त्यसै अनुरूपको फरक फरक समय अनुसारको अलग अलग बालीनाली उब्जाउ हुन्छ। यस्तोमा नेपालमा हुने वर्षामा जलवायु परिवर्तनको प्रभावस्वरूप पानी पर्ने दिन कम हुनु, अत्यधिक पानी परेर तहसनहस हुनु, अति कम पानी पर्नु, पर्ने बेलामा पानी नपरेर नपर्ने बेला नरसंहार हुने गरी पानी पर्नु आदि जस्ता परिवर्तित मौसमी घटनाले सोझै उब्जनीमा असर पर्छ। यसै पनि जीविका धान्न मुस्किल हुने कृषिकर्म गरेर जीविका चलाउनुपर्ने बाध्यताको बाहुल्य भएको हाम्रो देशमा फेरिएको वर्षाको धारसँगै खेतीपातीको तौरतरिका फेर्नुपर्ने अवस्था आइसक्यो। 

लेखक गोरखापत्र अनलाइनमा पत्रकार हुनुहुन्छ।

  

Author

प्रमोदकुमार टण्डन