• १५ चैत २०८०, बिहिबार

‘लम्पी स्किन’ रोग नियन्त्रणमा सरकार गम्भीर

blog

काठमाडौँ, असार २४ गते । कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि मन्त्रालय गम्भीर रूपमा लागेको बताउनुभएको छ । 

पशुमा महामारीका रूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि सात वटै प्रदेशमा अध्ययन गर्न टोली पठाइसकेको बताउँदै उहाँले रोग  नियन्त्रणका लागि औषधी खरिद गर्नका लागि १० करोड रुपियाँ पनि छुट्याइसकेको जानकारीसमेत गराउनुभयो । 

हालै पुनर्गठन भएको राष्ट्रिय किसान सञ्जालले बुझाएको २२ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि आफूले कुनै कसर बाँकी नराख्ने बरु किसान तथा सङ्घ संस्थाले पनि सहयोग गरे चाँडै नियन्त्रणमा आउने बताउनुभयो । 

पशुमा लागेको यो रोग चाँडै नियन्त्रणमा आउने दाबी गर्दै उहाँले यसका लागि किसान पनि सचेत हुनुपर्ने धारणा राख्नुभयो । 

यो सरुवा रोग हो, यसलाई नियन्त्रण गर्नका लागि एक पशुबाट अर्को पशुमा नसरोस् भनी किसान पनि सचेत रहनुपर्ने उहाँले बताउनुभयो । उहाँले एक प्रसङ्गमा यस पटक मलको अभाव नहुने पनि उहाँले दाबी गर्नुभयो । 

कृषि मन्त्रालय तयारी अवस्थामा छ, आवश्यकता भएको ठाउँमा धमाधम मल पठाउने काम भइरहेको बताउँदै मन्त्री भुसालले मल पर्याप्त मात्रामा मौज्दात रहेको बताउनुभयो । 

कृषि मन्त्रालयले केही कामै गरेको छैन भनी अनावश्यक टिप्पणी भइरहेको बताउँदै उहाँले यसअघिका मन्त्रीहरूले गरेको कामको अपजस आफूलाई नदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यसअघिका मन्त्रीहरूले के गर्नुभयो, के गर्नुभएन, त्यो छोड्दिनुस् अहिले के के भइरहेको छ, मैले कसरी काम गरिरहेको छु, कामको परिणाम हेरेर मूल्याङ्कन गरिदिनुहोस् ।”

सञ्जालले लम्पी स्किनबाट किसानलाई भएको क्षतिको अध्ययन गरी राहत र क्षतिपूर्ति दिलाउन माग गरेको छ ।