विष्णुप्रसाद देवकोटा
डोल्पा, असार २३ गते । त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको छ । साक्षर नेपाल अभियान अन्तर्गत जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको हो ।
यसअघि जगदुल्ला गाउँपालिका साक्षर पालिका घोषणा भएको थियो । शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा नगर केन्द्र त्रिपुराकोटमा बिशेष कार्यक्रम गरेर साक्षर नगरपालिका घोषणा गरिएको हो ।
नगरप्रमुख जनचन्द्र रोकायाको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको प्रमुख आतिथ्यतामा नगरका ९५ प्रतिशत नागरिक साक्षर भएको दावीसहित साक्षर नगरपालिका घोषणा गरिएको रोकायाले बताउनुभयो ।
नगरभित्रका पाँच ओटा सामुदायिक सिकाइ केन्द्रले ११ वटा वडामा ५३ ओटा कक्षा सञ्चालन गरी लिइएको तथ्याङ्कको आधारमा साक्षर नगर घोषणा गरिएको शिक्षा शाखा प्रमुख भिमबहादुर थापाले बताउनुभयो ।
शिक्षा शाखा प्रमुख थापाका अनुसार अब नगरमा पाँच प्रतिशत नागरिक मात्र साक्षर हुन बाँकी छन् । जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले विद्यार्थीलाई ब्यवहारिक शिक्षा दिनु अहिलेकोे आवश्यकता भएको बताउनुभयो ।
नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले शिक्षित बेरोजगार हुनुभन्दा असल र ब्यावसायिक बेरोजगार हुनु ठीक भएको बताउनुभयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपालीले नगरपालिकाभित्र तीन सय ५४ जना नागरिक अझै निरक्षर रहेकाले छिट्टै साक्षर बनाई पूर्ण साक्षर नगरपालिका बनाइने बताउनुभयो ।