ललिता साह
बाेदेवर्साइन (सप्तरी), असार २३ गते । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको तीन वटै सुरक्षा संयन्त्रका प्रमुखले जिल्लामा सञ्चालनमा रहेका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ ।
जल उत्पन प्रकोप नियन्त्रण तथा मनसुनको समयमा जिल्लामा हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले जलश्रोत तथा सिंचाई विकास डिभिजन, खाँडो नदी व्यवस्थापन कार्यालय सप्तरीले र कोसी पम्प चन्द्र नहर सिंचाइँ व्यवस्थापन कार्यालय अन्तर्गत सञ्चालित आयोजनाहरुको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो।
खाँडो नदी नियन्त्रण कार्यका साइटहरु, बलान विहुल गाउँपालिका –६ स्थित निर्माणाधीन विहुल पुललगायत साइटहरूको कार्य प्रगति अवस्थाबारे जानकारी लिएको खाँडो नदी व्यवस्थापन कार्यालयका प्रमुख रवीन्द्र शर्माले जानकारी दिनुभयो । खाँडो नदी व्यवस्थापन कार्यालय सप्तरीले नेपाल–भारत कुनौली सिमानाको दशगज्जा भएर बग्ने खाँडो नदीले नेपालतिरका गाउँहरू र खेतीयोग्य जग्गा बाढीबाट जोगाउन योजना सञ्चालन गरिएको छ । करिब चार करोड लागतमा अठार सय २० मिटर रहेको सो योजनाको स्थलगत अनुगमन गरिएको छ ।
यसै वर्ष सम्पन्न गर्ने गरी काम हुँदैआएको विहुल पुल बनेपछि जिल्लाको दक्षिणी भेगका दर्जन बढी गाउँको मानिसलाई आवतजावतमा सहज हुने र सिंचाइ व्यापार बढने कोसी पम्प चन्द्र नहर सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रदीप बान्तवाले बताउनुभयो ।