• २१ वैशाख २०८१, शुक्रबार

स्वर्गको झल्को दिने से–फोक्सुन्डो

blog

कर्णालीको फोक्सुन्डो ताल जाने हल्ला र सल्लाह निकै अगाडिदेखि चलेको थियो। कोको जाने, कहिले जाने, कसरी जाने ? यस्तै–यस्तै मेसोमा हिँड्ने दिन तय भयो। धेरै योजना बुन्न थाल्यो भने काम हुँदैन भन्दै आइहाल्नु भनेर सुर्खेतबाट श्रीमान् भीम ढकालले ह्विप जारी गर्नुभो। कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहनुभएका मेरा श्रीमान्ले गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराई र मेडम उर्मिलालाई उक्त यात्रामा जोडिन प्रस्ताव गर्नुभएको थियो। सोहीबमोजिम हाम्रो यात्रा जुरेको थियो। २४ जेठ २०८० मा बिहान आकाश मार्ग हुँदै सुर्खेत पुगियो।

दिनभर सुर्खेत उपत्यकामा अवस्थित काँक्रे बिहार, बुलबुले ताल, देउती बज्यैको मन्दिर, सहिद पार्क गुडी डाँडा फन्को मारियो। हामी दुई जोडीका अतिरिक्त सशस्त्र डिआइजी प्रदीप पाल र मेडम, देवरबाबु छविराम ढकाल अनि केही प्रहरीसमेत से–फोक्सुन्डो आरोहण गर्न जाने निधो भयो।

डोल्पा क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला। ७८८९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। ३५५५ वर्ग किलोमिटरमा विस्तारित से–फोक्सुन्डो  राष्ट्रिय निकुञ्ज पनि रहेको जिल्ला हो। ११ औँ शताब्दीका गुम्बा यहाँको गौरव हो। त्यसमाथि झन्डै ५ वर्ग किलोमिटर क्षेत्र ओगटेको से–फोक्सुन्डो  ताल। यस्ता अनगिन्ती परिचय छन् डोल्पा जिल्लाका। तालको बारेमा धेरै सुनेको हो, पढेको हो तर आफैँ साक्षात्कार गर्न पाउने अवस्थाले मन बेचैन हुने नै भयो। तालको अलौकिक सुन्दरताको स्वाद चाख्ने हुटहुटीले लामो पैदल यात्रा गर्न सबै तम्तयार। जेठको २५ गते सखारै गाडी चढेर हामी लाग्यौँ डोल्पाको दुनैतिर। बाटाभरि अनेक खाले गफ आए। दुनैदेखि से–फोक्सुन्डो  पुग्न कस्सिएर हिँड्दा चार दिन यात्रा गर्नुपर्ने। कोही अलि नाक खुम्च्याउने त कोही जे पर्ला टर्ला भन्ने मनस्थितिमा थियौँ। छविराम बाबुको भुँडी ठुलो अनि उर्मिला मेम तराईमा जन्मे हुर्केको हुनाले हिँड्न सक्ने/नसक्नेबारे हाँसो ठट्टा चलिरह्यो। 

सुब्बाकुना हँदै भेरी नदी क्रस भएर छिन्चु पुगेपछि दाहिने कोहलपुर जाने बाटो नगई उत्तर–पूर्व भेरीको किनारै किनार अगाडि बढ्यौँ। बोटेचौर पुगेर चिया खान रोकिँदा कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री कृष्ण जीसीले हाम्रो भ्रमण दललाई स्वागत गर्दै शुभकामना दिनुभयो र कर्णालीको विकास र सम्भावनाबारे सङ्क्षेपमा चर्चा गर्नुभयो। छिन्चुदेखि करिब एक घण्टा टाडा सल्लीबजारसम्म भेरीको दायाँबायाँ जमिन अत्यन्त सुन्दर, मलिलो, समथर अनि रसिलो पनि। यही क्षेत्रमा भेरी डाइभर्सनमार्फत करिब बाह्र किमी पूर्व बबईमा पानी खसालेर बिजुली निकाल्ने र बाँके बर्दियामा सिँचाइ पु¥याउने उद्देश्य रहेछ। साथै, स्मार्ट सिटी बनाउने कुरा पनि सुनियो। सल्लीबजारबाट पुनः भेरी नदी पार गरी सुर्खेतको केही भूभाग छिचोलेर जाजरकोट प्रवेश ग¥यौँ। 

तल भेरी नदी, पारी रुकुमको चौरजहारी हेर्दै जाजरकोटका अग्ला पहाडमा आँखा घुमाउँदै दुई घण्टामा हामी जाजरकोट सदरमुकाम खलङ्गा टेक्याँै, जहाँ जिल्ला प्रहरीले खानाको प्रबन्ध गरेको रहेछ। अर्गानिक र स्वादिष्ट खाजा खाएर भेरी पारिको चौरजहारी फाँटलाई धित मरुन्जेल नियाल्दै केही स्न्याप फोटो लिएर खलङ्गा बजार हुँदै पुनः तल भेरी किनारतर्फ लाग्यौँ। खलङ्गाको डाँडाको टुप्पोमा जाजरकोटे राजाको दरबार रहेछ। जहाँ जिल्ला प्रशासन अफिस सञ्चालनमा छ। त्यस बेलाको राजाले आफ्नो सुरक्षाकै लागि डाँडामा दरबार बनाउने गरेको रे। खलङ्गा बजार रहेको भूगोल पनि अलिक भिराले र असजिलो रहेछ। 

पुनः भेरीको किनारै किनार आधा घण्टामा रिम्ना पुगियो जहाँबाट मुसिकोट जाने बाटो र डोल्पा जाने बाटो छुटिँदो रहेछ। रिम्नाबाट तीन घण्टामा तल्लु पुगियो। जहाँ भेरी नदी तर्न बनाइएको फलामको पुल भाँचिएको रहेछ। तल्लो बगर भनिने त्यो ठाउँ जाजरकोट जिल्लामा पर्छ। तल्लु सानो व्यापारिक केन्द्र रहेछ। निमार्णाधीन अवस्थामा सामान कटाउन खोज्ने डोजरको लापरबाहीले केही महिना अगाडि त्यहाँ पुल भाँचिएछ। त्यस घटनामा चार जना कामदारको मृत्यु भएको खबरले मन भाँचियो। पुल नभएको कारणले यताका गाडी यतै, उताका गाडी उतैको अवस्था भएकोले स्थानीय मजदुरले पल्टी गरेर झोलुङ्गे पुलबाट सामान तार्ने गरेका रहेछन्। यही कारण त्यहाँ मान्छेको भिड देखियो। पल्टीको ज्याला सामानको प्रकार हेरी न्यूनतम ५० देखि अधिकतम सात हजारसम्म पर्छ भन्थे। 

हामी झोलुङ्गे पुलबाट पारी त¥यौँ। अब हाम्रो सवारीसाधन उता जान नसक्ने भएकाले चालक दिलीप हमालले तल्लु प्रहरी कार्यालयमा छाड्ने निधो गर्नुभयो। हाम्रा ब्याग पल्टी गर्न हेम कार्की, डिलबहादुर खत्री, हिमालजङ्ग शाही र सन्देश बुढा तल्लीन भए। मलाई लाग्यो, अर्को कठिन यात्रा अब सुरु भयो। हो, नेपालकै भू–भाग भए पनि जीवनमा कहिल्यै नहिँडेको बाटो कुनै दिन नटेकेको माटो थियो। मानसपटलमा भने स्वर्ग सरी से–फोक्सुन्डोको तस्बिर घुमिरह्यो। 

सदरमुकाम दुनैदेखि हामीलाई लिन आएका जिल्ला प्रहरी र जिल्ला प्रशासनका गाडी भेटिए। हामी तिनै गाडीमा इलाका प्रहरी कार्यालय गोतामकोट रुकुम पुग्यौँ। जहाँ हाम्रा लागि खाना तयार थियो। अघि झोलुङ्गे तर्दा सिमसिम छिट्याएको पानी दर्किन थाल्यो। वर्षासँगै हावा पनि चल्यो। तुरुन्तै जाडो महसुस भयो। लाग्यो, अब चिसो सुरु भयो। अझ डोल्पा कति ठन्डी होला ? यसरी पानी पर्नु साइत हो तर लगातार झरी प¥यो भने चार दिन पैदलै कसरी हिँड्नु ? एकातिर से–फोक्सुन्डोको सुन्दर तस्बिर अर्कोतिर वर्षात्। के होला हाम्रो यात्रा। मनमा अनेक तर्कना आउन थाले तर उपयुक्त मौसम नै यही रहेछ, त्यतातिर घुमफिर गर्न। 

तल अवलोकनका लागि आन्तरिक पर्यटक बनेर हिँडेका सबै उत्साहित, थियौँ, देखिन्थ्यौँ। गोतामकोटबाट रिम्ना हुँदै धुलाम्मे सडक तल्ली आइयो। अब ६२ किमी दुनै पुग्न बाँकी। आहा, से–फोक्सुन्डो तिमीलाई भेट्न कति हतारमा छौँ। हेर, हामी नजिक आइसक्यौँ! आउँदै छौँ। ताल सम्झेर फुरुङ्ग मन एकै छिनमा लत्रक्क भयो। चालकले श्रीमान्ज्यूलाई भन्दै थिए, “सर हजुर! अप्ठ्यारो कच्ची ढुङ्गैढुङ्गाको यो सडक पार गर्न सात घण्टा लाग्छ। बिहान पाँच बजे हिँडेका हामी १२ बजे मात्र यहाँ आइपुगेका हौँ।’

भेरी नदीको किनारै किनार डोल्पाको सिमाना भेटियो। अघि बढ्दै जाँदा ठुल्ठुला अजङ्गका नाङ्गा पहाडमाथि दाउरा हार लगाए जस्ता ढुङ्गा! ठाउँ–ठाउँमा थुप्रो देखियो। हो, जीवनमा धेरै सडक पार गरियो तर नदेखेको देखियो। नभेटेको भेटियो। हुन त कर्णालीकै बाटो मुगुको रारा पुग्न ढुङ्गाको भिर कोपेर बनाइएको सडक अलौकिक होइन ? सबैभन्दा धराप र आङै सिरिङ्ग हुने कालीकोटको भूगोल! 


 त्यताको तुलनामा केही व्यवधानबाहेक यो यात्रा सहज लाग्यो। किनकि नदीकै छेउबाट कच्ची बाटो थियो। त्यसैले भिर पहरामा गाडी दौडिन परेन। यताको माटो कमलो–कमेरे पनि होइन। आँखाभरि केरा बगान नसकिँदै ठाउँ–ठाउँमा व्यवस्थित कृषि बाली देखियो। खोलाको पानी पम्पिङ गरेर गाउँ उकालेको दृश्य स्वर्गतुल्य आनन्द! भेरी नदीको काखै काख अगाडि बढ्दै जाँदा दायाँबायाँको अग्लो पहाड छिचोल्दै राति ९:१५ बजे सदरमुकाम दुनै पुग्यौँ। डिएसपी शिव बुढाथोकी सरले हामीलाई खादाले स्वागत गर्नुभयो। खानपिन गरेर त्यो रात त्यही बितायौँ।

 भोलिपल्ट श्रीमान्ज्यू बिहानभरि अफिसियल निरीक्षणमा व्यस्त हुँदा हामी फुर्सदिला जति ठुली भेरीको झोलुङ्गे पुल ओहोर दोहोर दुनै बजार परिक्रमा गर्नतिर लाग्यौँ। खाना खाने कार्यक्रमपछि ११:५५ बजे दुनैबाट सुलिगाड खोलासम्म तीन किलोमिटर गाडीबाट पार ग¥यौँ। लामो झोलुङ्गे पुल तरेर पारी आर्मी ब्यारेक छिचोलेर अघि बढियो। सइ नारायण शर्माले अक्सिजनका साना–साना सिलिन्डर हातमा लिएर झोलामा कोच्दै गरेको देखेँ। त्यो दृश्यले झसङ्ग भएर मुटु नै चिसो भो। नेपाल आर्मीका एक जवानले भन्दैथे, “सर, यसलाई प्रयोग गर्ने तरिका पनि सिकेर जानू।” 

दिउँसो बाटो कट्ने मोड थाहा नभए पनि नारायण शर्माको ब्यागले घरिघरि झस्काउन छाडेन। हिमाल चढ्ने हो र ? किन चाहियो अक्सिजनका ती सिलिन्डर ? मनमनै तर्कना गरेँ। भौगोलिक रूपमा नेपालकै ठुलो जिल्ला डोल्पा! हावाले ढुङ्गा खसाउने भिरको बाटो लगातार हिँड्यौँ। निकै खतरा लाग्यो। चरनमा भुलेका बाख्राले पनि ढुङ्गा झार्दा रहेछन्। केही गरी एउटा झ¥यो भने त्यसले अरू दुई वटा झार्दो रहेछ। ती दुई वटाले चार वटा। चारले कति कति ? पहिरो लड्न एउटा बाख्रोले झारेको ढुङ्गा नै काफी। फेरि, त्यसदिनका घाम सात वटा सूर्य उदाएजत्तिकै कति चर्का! 

धेरै हिँडेपछि जङ्गल भेटियो। १३ जनाको डफ्फा तीन भागमा बाँडिए जस्तो भयो। कोही अगाडि कोही माझमा अनि पछाडि। पाइलै नसर्लान् भनेर गन्गनाउने छवि बाबुलाई भेट्न सकिएन। श्रीमान्ज्यू र डिएसपी साब ढिलो हिँड्न नजान्ने। उही पाइलो शिव सर त म्याडमको सारमा पछि हुनुभयो। म न अघि न पछि।

फोक्सुन्डो खोलाको किनारमा खच्चडसँग जम्काभेट भइरह्यो। उनीहरू आएको देखेपछि भित्तातिर लाग्नु पर्दो रहेछ, हामीले त्यसै ग¥यौँ। कतिपय ठाउँमा बाटो दिन जमिन नै हुँदैनथ्यो। उँधो भिरमाथि आकाश! कर्णालीको यो जीवन देख्दा मन आत्तियो, आँखा रसाए। लौरो टेक्दै अघि बढेँ। यो प्रक्रिया धेरै पटक दोहोरियो। 

जिल्लाभरि ४० हजार जनसङ्ख्या। अपत्यारिलो तथ्य लागे पनि यो विकट पहाडको वास्तविकता हो। यहाँका मानिस यार्सा टिप्ने समय भएकाले घरमा साँचो ठोकेर पाटनतिर बसाइँ नै सरे झैँ गाउँ नै रित्तो पारेर वस्तुभाउसहित उकालो लाग्दा रहेछन्। ढुङ्गाको गारो माटाको छानो एकछत्र घर नियाल्दै पाइला चाल्यौँ। जति नै थकान महसुस भए पनि ठाउँ–ठाउँमा क्यामेरा तेस्र्याउन छाडिएन। हो, नत्र खै हिँडेको प्रमाण ?

से–फोक्सुन्डोबाटै खसेको पानीसहित सुसाउँदै बगेको फोक्सुन्डो खोलाको सुन्दरता अति नै मनमोहक। कतै छङछङ, कतै शान्त। बाटोमा यो खोला पटक पटक तर्नु पर्ने। कतै फलामका झोलुङ्गे पुल, कतै काठका। गाउँका मिस्त्रीले बनाएका काठको पुलको डिजाइन हेर्दा ती मिस्त्री अर्गानिक इन्जिनियर हुन् भन्ने लाग्यो। सलाम छ ती मिस्त्रीलाई! 

डोल्पाको प्राकृतिक सौन्दर्यसँग लुकामारी गर्दै बाटोमा देखिएका विभिन्न जातका फूल तथा जनावर र चराचुरुङ्गीलाई नियाल्दै साँझ ५:१५ बजे छेक्पा पुगियो। हिँड्दा छपक्क भिजेको शरीर पसिना ओभाएपछि जाडो भयो। आजको बाटो पार भइयो। एकापसमा बात मार्दै हातगोडा धोए र मनतातो पानी साथै, कालो चिया पिउँदै आराम गर्नतिर लाग्यौँ। भोलिको हिँडाइ कस्तो होला ?

कति बेला पुगिएला ? गोडालाई ‘नदुःख है’ भनेर फकाउँदै मेरो पालो हात खुट्टामा नरिवलको तेल घस्न थालेँ। मेरो चाँजोपाँजो हामी दुई जोडी, डिएसपी साब र छवि बाबुलाई समेत तेल लगाउन अनुरोध गरेँ। एकछिन सबै जना त्यही आनन्दमा भुल्यौँ। यी अक्षर कोरिरहँदा छेक्पाको त्यस होटलको मिठो र यादगार सम्झनाले निकै सताएको छ। 

हमाल र हेम बढो जाँगरका साथ भान्सामा खटेर लोकल कुखुरा भुट्दै रहेछन्। एकछिन अघि मात्रै पक्रिनलाई भाले छेक्दै गरेको देख्या हो। दिउँसो पैदल मार्गमै भनेथेँ, आजका बहादुर कोही भए हमाल र हेम हुन्। गाडी नै उचालेर हिँडेका छन्। बहादुर! मात्रै दुई जना ? किन ? जब गाडी छाडेर गोरेटोतर्फ अघि बढ्यौँ। लुइँलुइँ रित्तो देख्या भए प्रसङ्ग उठ्ने थिएन तर काँधमा मरिकुच्च झोलाका खात मैले बोलीमा लगाम लगाउन सकिन। भाइहरूलाई मेरो सम्मान छ।  अर्को दिन बिहान पौने ६ बजे हामी बाटो लागिसकेका थियौँ। क्षेत्रफलका हिसाबमा नेपालकै ठुलो से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने फोक्सुन्डो तालसम्म पुग्न दुनैबाट ३८ किलोमिटर दूरी पार गर्नु पर्दो रहेछ। सुलिगाड, काग्नी, साङ्टा, छेप्का, र्याची, बोर्डिङ र पलमलगायत बस्ती हुँदै सडकमार्गबाट ठाउँ–ठाउँको भूगोल, वनस्पति, रहनसहन, वातावरण, वस्तुस्थिति र स्थानीयका जीवन शैली नियाल्दै हामी अघि बढ्यौँ। 

 जङ्गलमा हुर्केका रुख हेर्दा लाग्थ्यो, गौतम बुद्धका पालाका हुन्। खोला नजिक पुग्ने बेला बाटो ओरालिन्थ्यो। हिँड्दै जाँदा बाटो उकालिन्थ्यो। एवंरीतले छहरा–पहरालाई पछार्दै पाइला अघि बढे। वीरेन्द्रनगरबाट कोशौँ टाढा पुग्यौँ। पदयात्रामा रमाउने जमर्को ताल खोज्दै अनवरत लम्किरह्यौँ। हिजो थाकेको ज्यान पनि अब नारेको गोरु झैँ एकनास हिँडिरह्यो।

बाटो–बाटोका ढुङ्गाहरूमा तिब्बती भाषामा विभिन्न कथन कुँदिएका शिलालेख देख्न पाइयो। गुम्बालाई सम्झेर थुपारिएका ढुङ्गामा ढुङ्गा थप्दै पाइला बढाइयो। डोल्पाको से– फोक्सुन्डोसँग जोडिएको चर्चित प्रसङ्ग चर्चा गर्दै हामी लम्किरह्यौँ। माथिल्लो डोल्पाको प्रकृति, संस्कृति, चालचलन र परम्परालाई समेटेर निर्माण गरिएको बहुचर्चित चलचित्र क्याराभान सुटिङ भएकाले पनि यस तालको विशेष महत्व छ। ओस्कारमा पुग्न सफल उक्त चलचित्रमा तालको दृश्य छायाङ्कन गरिएकाले याक खसालिएको स्थान हेर्नकै लागि पर्यटक झुम्मिँदा रहेछन्। 

पलमको उकालो छिचोल्न निकै कठिन प¥यो। कुनै प्रकारका रुखपात नभएको नाङ्गो त्यस ठाउँमा अक्सिजन नपुग्ला भन्ने पीर! अब बुझेँ नारायण सरले झोलामा किन सिलिन्डर भिर्नु भा’ हो। बुट्यान विहीन भिर माथिबाट ढुङ्गा झर्ने खतरा। हो, त्यही बेला खच्चडका ताँतीसँग हाम्रो भेट भयो। क्रमशः तेर्सो बाटो झन् डरलाग्दो! हिँडाइको चाल एक इन्च मात्रै ब्यालेन्स बिग्रियो भने कहाँ पुगिन्छ ? फेला पर्दैनन् हाडखोर। यस्तो भयानक बाटो अहोरात्र कसरी हिँड्छन् मान्छे! 

 वरिपरि हिउँले ढाकिएका अग्ला पहाड डोल्पाको सिमाना पस्दैदेखि आँखामा अल्झेका हुन्। घरी घरी बल्झिन छाडेका छैनन्। कठिन बाटो पार गरेर अब से–फोक्सुन्डो तालबाट चुहिएको पानी बगेर चट्टानबाट झर्दा बनेको १६७ मिटर अग्लो सुलिगाड झरना झललल हाँसेको देखियो पारी भिरमा। उक्त झरनाको नामको खण्डन गर्दै एक स्थानीय महिलाले भनिसकेकी थिइन्, ‘त्यो त से–फोक्सुन्डो झरना हो। मान्छेले कुरै नबुझी नानाभाँती नाम राख्छन्।’ 

साँझ नपर्दैं हामी पुग्यौँ, से–फोक्सुन्डो गाउँ, ‘रिग्मो’ । थकानले शिथिल भएर। बिहानदेखिको हिँडाइले शरीर मुलाको थेबे जस्तो भएको थियो। थाक्नुको सीमा थिएन। वर्तमान गाउँपालिका अध्यक्ष निमा लामाज्यूको होटल रहेछ, मुस्किलले पुग्यौँ। उहाँले खादा लगाएर हाम्रो स्वागत गर्नुभयो। केहीबेर थकाइ मारेर साँझपख ताल हेर्न जाने योजना तर सकिएन।

तीन हजार सात सय मिटर उचाइमा अवस्थित विशाल तालको गहिराइ १४५ मिटर छ। ४:८ किमी लम्बाइ १:६ किमी चौडाइ रहेको अनुपम आकर्षणलाई हेर्न, भेट्न, छुन चैत, वैशाख र जेठ तथा भदौ, असोज र कात्तिक उपयुक्त महिना हुन्।

जेठ २८ गते बिहानै हामी तालको वरिपरि घुम्यौँ। देउडा नाच्यौँ, गायौँ। हिजोको त्यो थकान पूरै गायब। प्रकृतिको अनुपम उपहार। घाम लाग्दै थिए। तालले रङ्ग फेर्न थाल्यो। सबै छङ्छङी। सारै आनन्दको अनुभूति। बल्ल बुझियो मानिस किन यति कष्ट गरेर यहाँ आउँदा 

रहेछन् ? स्वर्गानुभूति। वर्णन गरी साध्यै रहेन। अब सबैको ध्यान थियो राम्रो तस्बिर उतार्नेतिर। यताबाट राम्रो आउँछ कि उताबाट भनेर ठाउँ चहारी–चहारी पोज–पोजमा खिचियो। हिमाली हावाको त्यो स्पर्स यति रमायौँ, बयान गर्ने शब्द छैन। तालको पूर्व र दक्षिण भागमा रहेको कोणधारी जङ्गल वास्तवमै मनमोहक छ। पाखै पहेलपुर हुने गरी फुलेका पहेला काँडे फूल आहा! तालको दक्षिण पश्चिम किनारा चट्टान काटेर बनाइएको बाटो अपरडोल्पा जाँदो रहेछ। यहीँ रहेछ, क्याराभानमा चौरी खसेको दृश्य खिचिएको ठाउँ पनि।

निलो हीराको रूपमा समेत चर्चा पाएको से–फोक्सुन्डो तालमा जीवित प्राणी छैनन् भनेको सुन्दा आश्चर्य लाग्यो। डोल्पाको लोक संस्कृति, परम्परा, वेशभूषा तथा यहाँको ऐतिहासिक धार्मिक र सांस्कृतिक चालचलन फरक छ। शान्त र विशाल छ। यहाँ बाहिरबाट आएकालाई जग्गा नबेच्ने नीति रहेछ। निकुञ्ज स्थापना हुनु पहिला जग्गा किनबेच हुन्थ्यो रे। त्यो प्रचलन २०४० सालमा जब राष्ट्रिय निकुञ्ज स्थापना भयो, तब रोकियो। बाहिरका मानिस आएर बस्न थालेपछि यहाँका प्राकृतिक सौन्दर्य, अर्गानिक वस्तु, संस्कृति धूमिल हुन जान्छ, अस्तित्व हराउन सक्छ भनेर बाहिरकालाई जग्गा किन्न रोकेका हुन, रे! स्थानीयका अनुसार ‘से’ भनेको गुम्बा हो। अनि, गुम्बाको छेउमा फोक्सो आकारमा जमेको पानी। यही भएर यसको उच्चारण से–फोक्सुन्डो भनिएको जनविश्वास छ । जे होस् धर्तीको अनुपम र सुन्दर उपहार डोल्पाको से–फोक्सुन्डो ताललाई नजिकबाट छुन/चलाउन पाउँदा स्वर्ग पुगेको अनुभूति भयो। वरिपरि अग्ला पहाड र हिमाल, बिचमा कालो निलो ताल, आहा! नेपालको शान, से–फोक्सुन्डो तालले बल्ल मनको धित म¥यो।

लेखक  साहित्यमा कलम चलाउनुहुन्छ। 

  

Author

बिन्दु अधिकारी ढकाल