• १२ मंसिर २०८१, बुधबार

सफलताको शिखर चुम्न

blog

विकसित प्राणी मनुष्य भएका हुनाले मनुष्यलाई अन्य प्राणीलाई भन्दा सुख दुःख हुने गर्दछ। दुःखलाई हल गर्न मनुष्य मिलेर बस्न थाल्यो। मिलेर बस्दा समाज बन्यो। समाजले परम्परा बनायो। परम्परा समाजको नैतिक कानुन बन्यो। परम्परालाई प्रकृतिले निर्देशन गर्दछ, प्रकृतिको वातावरण अनुसार चाडपर्व, लवाइ खवाइ झैँ रोग अनुसार उपचार हुन गएको हो। मानिस स्वार्थी प्राणी भएकाले स्वार्थले समाजमा अनियमितता नहोस् भनेर राज्यको आवश्यकता भएको हो। राज्य बनाउन राजनीति आवश्यक हुन्छ।

अहिलेको राजनीतिको संरचना सुव्यवस्थित प्रणालीबाट आफ्नो आवश्यकतालाई पूर्ति गर्न सङ्गठित भएको देखिन्छ। गरिब राष्ट्रमा उद्योग व्यवसाय कमीको कारणले जनता बेरोजगारी हुन्छ, यसै कारणले युवा विदेश पलायन हुने कि राजनीतिमा संलग्न हुने विकल्प खोज्न थाल्छन्। त्यसैले पनि दल च्याउ उम्रे जस्तै उम्रेपछि दल छ्यासछ्यास्ती हुन थालेका छन्। चुरा धेरै भएको हात हल्लिएपछि धेरै बज्ने गर्छ, त्यस्तै दल बढी भएको राष्ट्रमा विवाद धेरै हुन्छ। विवाद धेरै हुनु, निर्णय थोरै हुनु, मैदानको फुटबल जस्तो यताउता हुँदै समय बित्नु, कुनीतिको राजनीति केरमेटको चित्र जस्तो ठम्याउन नसकिने भइरहे छ।

बेरोजगार व्यक्ति दलमा लागेपछि त्यस्ता व्यक्तिले आफ्नो आवश्यकतालाई ध्यानमा राखी कार्यनीतिमा अनियमितता गर्नाले भ्रष्टाचारको बिगबिगी भएको हो। आफू शक्तिशाली बन्नका लागि निकृष्ट भावनाले अर्को दलबललाई खण्डन गरी सही कामलाई विरोध गर्दछ। यो प्रवृत्ति धेरै राजनीति गर्नेले यसलाई शत्रु मास्ने हतियार बनाएको पाइन्छ। बलिया मान्छेसँग अन्याय सहन नसकेर नैराश्यपनले नेपाल यस्तै छ भनेर कमजोर मानिसले भन्ने गर्छन्। राजनीति छलकपटको संस्था भएकाले राजनेता इमानदारीको हतियार लिएर शेरजस्तो शक्तिशाली भएर स्याल जस्तो चतुर हुनु पर्दछ। 

बुद्धिमानी, स्वाभिमानी नेतासँग समाज निर्माणमा आन्तरिक आत्मीयता हुन्छ। यस्ता राजनेता पाउने जनता भाग्यमानी ठान्नु पर्छ। जनता पनि स्वाभिमान हुन सके सुलभ तरिकाबाट देशमा शान्ति कायम हुन्छ। स्वाभिमानी जनता भए मात्र स्वाभिमानी नेताको जन्म हुन सक्छ, जनताबाटै जनप्रतिनिधि चुन्ने भएकाले स्वाभिमानी जनताले स्वाभिमानी नेता चुन्छन्। स्वाभिमानी नेताले वास्ताविक राजनीतिक नीतिको व्याख्या गर्दछ। अझ ज्ञानमा प्रखर भएर सुध्रिएको विवेकशीलले मात्र उपयुक्त प्रभावकारी ढङ्गले राजनीतिको नीति नियम वर्णन गर्दछ। कुशल राजनीतिज्ञले जे बोल्दछ, त्यही गर्दछ, जे गर्दछ, त्यही मात्र बोल्दछ। 

विकसित राष्ट्रमा यही नीतिले जनताले धोका खाँदैनन्। यहाँ त फट्याइँ गरेर, भन्ने एउटा गर्ने एउटा पत्याउनै नसकिने हावामा महल बनाउने कुरा। अझ उखानैमा गफ दिएर जनताको काँधमा चढेर जनतालाई सिसाबिनाको रङ्गीन चस्मा लगाई दृश्य रङ्गीन बनाइदिन्छ। यस्तै अनियमितताले गर्दा सबैभन्दा बढी बाटो बनाएर सबैभन्दा बढी बाटो बिगारेको देख्नु परिरहेको छ। हात्तीको लडाइँले घाँसको मिचाइ भए जस्तै प्राधिकरणका एक जना प्रमुखले देशलाई अन्धकार तुल्याएको हामीले भोगेका छौँ। 

मानिसमा नैतिकता नहुनाले आफ्नो चरित्रलाई कृत्रिम आवरणले ढाकेर अपराधको स्रोत बन्न पुगेको छ। समाज विश्लेषण गर्ने ऐना हो। ऐनाले वास्तविक विकृतिलाई उत्खनन गर्नाले आजको सरकारले भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याई निराकरण गर्न खोजिरहेको छ। भ्रष्टाचार निर्मूल हुनु देश समृद्धितिर लम्केर आर्थिक स्थितिमा बलियो भएर आउनु हो। आर्थिक स्थितिमा संयमताले समाजमा सुमधुर शान्ति कायम गर्दछ। राजनीतिका लागि समाज पुस्तक हो, समाजका लागि राजनीति पुस्तकको आवरण हो। 

राजनीति विवादको एक प्रक्रिया भएकाले राजनीतिमा विवाद हुन्छ। विवाद विचारले गर्ने भएकाले विचारले क्रान्ति गर्छ। क्रान्तिमा क्रोध हुन्छ, क्रोधले विद्रोह गर्छ, क्रोध प्रतिशोधको आवेग धेरै बेरसम्म रहिरहँदैन। वैरभावले वैरी शान्त हुँदैन भनी विचार गरी शान्त चित्तबाट निर्णय गर्न सक्यो भने राजनीतिले रक्तपातबिना युद्ध जित्न सक्छ, त्यसैले राजनीति विज्ञान हो। राजनीतिले दीनदुःखीलाई टेवा दिई सेवा गर्न सक्ने भएकाले राजनीति सेवा गर्ने संस्था हो। राजनीति यस्तो हुरी हो, हुरीले रुखलाई झुकाइदिन्छ, राजनीतिको शक्तिले मान्छेको शिर निहुराइदिन्छ। राजनीति कुनीति र सुनीतिको युद्ध गर्ने मैदान भएकाले राजनीति रणभूमि हो। 

विवेकशीलताको संयमताले, दृढ विश्वासले शान्तिपूर्वक मुकाबला गर्दा प्रयत्नमा रत्न भेट्न सकिन्छ। उत्तानपादकी श्रीमती ध्रुवको आमा सुनीतिले ध्रुवलाई धु्रवतारा बनाइन्। सुनीतिले चलेको चाल जस्तै आज सरकार भ्रष्टाचारीलाई कारबाही गरी शान्तिपूर्वक राजनीतिको मैदानमा उत्रिरहेको छ। जसबाट जनतामा खुसीको पालुवा पलाएका छन्। राजनीतिमा जनतालाई खुसी गर्नु भनेको पत्थरलाई रत्न बनाउनु हो। 

भ्रष्टाचारीलाई निवारण गर्न सरकारले जुन नीति ल्यायो, त्यो क्रान्तिबिनाको शान्ति हो, त्यसैले राजनीति रक्तपातविहीन एउटा युद्ध हो। राजनीतिमा क्रोधको बिउ रोपेर इख पलाएमा महाभयानक विध्वंसकारी हुन सक्छ। बाह्य शक्तिको हस्तक्षेपभन्दा गृहयुद्ध विध्वंसकारी हुन्छ। घरकलह भनेको विनाशको बिउ हो। जब नीतिविहीन शक्तिको दुरुपयोग गरी आफ्नो अधिकार कायम गर्न खोजेकालाई सरकारले लट्ठी नभाँचिकन सर्पलाई हिर्काएको आमजनताले अनुमान गरेका छन्। 

यो आधुनिक जीवनमा विविध क्षेत्रमा सफल व्यक्तिले भ्रष्टाचारीको जरा उखेल्न सक्छ। सरकारले आज खेतबारीमा अन्नको बोट जोगाउन घाँस उखेले जस्तै गरी भ्रष्टचारीलाई उखेलिरहेको जनताले महसुस गरिराखेको अवस्था छ। यो परिस्थितिलाई शान्तिपूर्वक दृढविश्वास लिई सरकारले कार्य गर्नु यो ठुलो साहस हो। यस्तै उत्साहले नै महानतालाई प्राप्त गर्न सक्छ। विपत्मा नहटी डटिरहनु नै उत्साह हो। उत्साहले जिम्मेवारी लिन्छ, जोखिम लिन्छ, नियन्त्रण गर्छ। यस्तै उत्साहले महाभारतमा श्रीकृष्णले अजुर्नको रथ होइन, महाभारतको युद्ध हाँकेका थिए। 

देश हाँकेर नेतृत्व गर्न चाहनेहरू देश र जनताका लागि आफ्नो जीवन लगानी गर्न सक्ने हुनु पर्छ। दशरथ चद्र, शुक्रराज शास्त्री, धर्मभक्त, गङ्गालालले देश र जनताका लागि आफ्नो जीवन समर्पण गरेका हुनाले उनीहरूको नाम इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन्। उनीहरू सारा नेपालीको मनमस्तिकमा पूजनीय बनेका छन्। शैल शिखरका हरिया रुख, भरिपूर्ण प्राकृतिक सौन्दर्य, जति बाँच्यो बाँचौँ बाँचौँ लाग्ने स्वर्ग जस्तो देशमा आज सौन्दर्यको शेषै छैन। विनाशको विकास भन्नु परेको छ। आफ्नो चैनका लागि दुनियाँलाई बेचैन पारी पापको घडा भर्ने विकृति गर्ने खराब मान्छेको स्वभाव हुन्छ। 

प्रायः खराब स्वभावले राजनीति गर्नेहरू पनि पद र पैसाका लागि लागिपरेका छन्। जस कारण योग्य व्यक्तिले स्थान पाएका छैनन्। नातावाद र कृपावादले स्थान ओगटेकाले देश कर्महीन बनेको छ। राजनीति झुटको खेती हुनाले छलकपट उब्जनीमा अरूलाई पीडा दिने फल भइरहे छ। यसले गर्दा देश जर्जर अवस्थामा पुगेको छ। यो दुःखदायी कुरा हो। आज देश यथास्थितिमा मात्र अडिएको छैन। भ्रष्टाचारले चरम सीमा नाघ्नाले आर्थिक मामिलाले देश खस्किँदै छ। यही नीतिले राजनीति बन्यो अवनति।

राष्ट्र निर्माणका विधि र पद्धति पछ्याउँछु, राज्य संरचना गर्छु भनेर लम्केका हस्तीहरू नै भ्रष्टाचार गरी देशको किटाणु भइदिएपछि देश लथालिङ अवस्थामा पुगेको हो। राजनीतिलाई ठुलो ओहदामा पुग्ने भ¥याङ बनाएकाले एकपछि अर्को समस्या सिर्जना भएका छन्। समाजमा स्वच्छ मनस्थिति र पवित्र विचारको कमीले गर्दा सबैतिर चिरा परेको हो। सदाचारको अभावले स्वार्थ र छलकपट वृद्धि भएर सकारात्मक चिन्तनका व्यक्तिलाई पनि निराश बनाएको छ। राजनीतिक अस्थिरताले राष्ट्रविरोधी तत्वहरू मौलाइरहेका छन्। असल व्यक्तिलाई राष्ट्रले पहिचान गर्न नसकेर समस्या थपिएका छन्। क्षमतावान् र योग्य व्यक्तिलाई राष्ट्रले ठाउँ दिन नसकेर भ्रष्टको बोलवाला बढेका हुन्। प्रशासनमा अनुशासन नभएकाले सेवाग्राही निराशाको भुमरीमा छन्। नीतिनियम व्यवहारमा लागु नभएर लथालिङ छ। राजनीतिमा कार्यकर्तालाई भागबन्डा पु¥याउन अनावश्यक पद र स्थान तय गर्नाले राजस्वमा बोझ बढेको छ।

राजनीतिमा एउटा यस्तो शक्ति हुन्छ; जसमा समयले वातावरण बदले जस्तै राज्यको रूपरङ बदल्न सक्छ। राजनीतिमा कार्यव्यवस्थाको शक्ति हुने भएकाले विशिष्ट रूपको वृद्धि भएर समनताको धारणा हुनु पर्छ। राजनीतिका शक्तिले आज्ञा पालन गराउने शक्ति हुन्छ। त्यही शक्तिका लागि मानिस मरिमेटी गर्छ। दैत्यहरू देवताको प्रार्थना गरी तपस्या गर्छन्, शक्तिको वरदान पाएपछि देवतालाई नै अन्याय गरी लखेटिदिन्छन्। अन्यायको शक्ति जति शक्तिशाली भए पनि न्यायको शक्तिले त्यसको शक्तिलाई निचोरेर क्षय गरी अन्यायको नाश गरिदिन्छ। यो समय र प्रकृतिको देनले गर्दा राजनीति फेरबदल भइरहन्छ। 

प्रकृति आफ्नै अनुशासनमा चलिरहने हुनाले यसमाथि विजय पाउन सकिँदैन। प्रकृतिमाथि आपूmलाई शक्तिमान राजनीतिज्ञ ठान्नेले यसलाई मनन गरी कार्यान्वयन गर्नुपर्दछ। लिबियाका राष्ट्रपति मोहमद कर्नेल गद्दाफीलाई जनताले फोहर खन्याई लात्ती र लट्ठीले हानी मारेका थिए। जन्मपछि हुने मृत्यु सत्य हो। मृत्यु कसको कसरी हुन्छ ? यो कसैलाई थाहा छैन। कारणबाट परिणाम हुने भएकाले यसलाई ख्याल गर्नु पर्छ, यसले जीवनको सही परिणाम दिन्छ। गलत कार्य गर्नबाट आफूलाई अलग गर्नु पर्छ। स्वस्थ मनस्थितिद्वारा गलत कार्य मस्तिकबाट निष्व्रिmय हुन्छ । महत्वपूर्ण रूपले जीवनयापन गरेपछि सफलताको शिखर चुम्न सकिन्छ। 

लेखक दर्शनशास्त्रका जानकार हुनुहुन्छ। 


  

Author

अशोक शोकी