• १३ मंसिर २०८१, बिहिबार

भानु जयन्तीमा सार्वजनिक बिदा

blog

अमरराज नहर्की

तनहुँ, असार २२ गते । तनहुँको भानु नगरपालिकाले २१० औं भानु जन्मजयन्तीका अवसरमा असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । पालिकामा धुमधामसँग भानुजयन्ती मनाउन नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिएको उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो । 

नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरेक वर्ष भानुजयन्तीको दिन सार्वजनिक विदा दिने गरिएको र यसवर्ष पनि निरन्तरता दिइएको उपप्रमुख गोतामेले बताउनुभयो । 

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिनु भएको थियो । उहाँले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो । 

भानुभक्तका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौं साहित्यिक कृति  प्रकाशित छन् । भानुभक्तको विसं १९२५ असोज ६ गते चुँदीरम्घमा नै निधन भएको थियो ।