• ११ मंसिर २०८१, मङ्गलबार

चार सय बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

blog

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै प्रदेससभा सदस्य लगायत । तस्विर : सिराज खान । नेपालगञ्च

सिराज खान 

नेपालगञ्च, असार २२ गते । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । 

शिक्षाको क्षेत्रमा सबैभन्दा पिछिडिएको बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ मा रहेको एक विद्यालय र तीन मदरसामा अध्ययनरत विद्यार्थीहरूलाई पोसाकसहित शैक्षिक सामाग्री वितरण गरिएको हो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एक विद्यालय र तीन मदरसामा अध्ययनरत चार सय ५० बढी विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सो शैक्षिक सामाग्री वितरणको बजेट व्यवस्था गराउनु भएकोमा आभार व्यक्त गर्नुभयो । 

अध्यक्ष शाहले विद्यालय पोसाक, झोला र शैक्षिक सामाग्री नहुँदा धेरै विद्यार्थी विद्यालयमा अनियमित हुने गरेकोमा अब सो समस्या समाधान भएकोले विद्यालयमा उपस्थिति बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “प्रदेश सभा सदस्य नमुनाले यहाँको शैक्षिक अवस्थामाथि उकास्नको लागि पहिलेदेखि नै लागिरहनुभएको छ, अहिले पनि प्रदेश सरकारबाट बजेट पार्नको लागि भूमिका खेल्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।”

लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले लुम्बिनी प्रदेशको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार सय ५० जना विद्यार्थीहरूलाई पोसाक, झोला र विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरिएको जनाउँदै यसबाट विद्यार्थीलाई नियमित विद्यालय आउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पोसाक लगायतका शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू नियमित विद्यालय आउनुका साथै शैक्षिक गुणस्तरमा समेत विकास हुने अपेक्षा राखेको छु, यसमा सबैको सहयोग आवश्यक छ ।” 

बाँकेकै विकट मानिने नरैनापुरमा अभिभावकको आर्थिकस्थिति राम्रो नहुँदा छोराछोरीलाई विद्यालय पठाउँदैनन् । केहीले पठाएपनि उनीहरू नियमित स्कुल पुग्दैैनन् । 

प्रदेश सभा सदस्य नमुनाले लुम्बिनी प्रदेश सरकारले निःशुल्क रूपमा दिएका पोसाकसहितका शैक्षिक सामग्रीहरूको दुरूपयोग हुन नदिन विद्यालयका शिक्षकहरू चनाखो हुनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर १ का वडा अध्यक्ष इसाक जोलाहले विद्यार्थीहरूलाई पोसाक, झोला र शैक्षिक सामग्रीहरू वितरण गरिएपछि पठनपाठनमा सुधार हुने आशा गरिएको बताउनुभयो ।