• १६ चैत २०८०, शुक्रबार

वन संरक्षणमा स्थानीय सक्रिय

blog

वनको अतिक्रमित जग्गा खाली गराउँदै वन उपभोक्ता समितिका पदाधिकारी तथा वन कर्मचारी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार २२ गते । धनुषाको मिथिला नगरपालिका–११, तुसलीका स्थानीयवासी वन संरक्षणमा सक्रिय भएका छन् । चुरेको फेदमा रहेको तुसलीका स्थानीयवासी १८ वर्षपछि सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरेर वन संरक्षणमा जुटेका हुन् । 

२०५८ सालमा सुन्दरी सामुदायिक वन उपभोक्ता समिति गठन गरेर एक हजार छ सय हेक्टर वन क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिइएको थियो । तर, २०६२ सालमा आएर उपभोक्ता समिति निष्क्रिय भएपछि वन अतिक्रमणसँगै काठ तस्करी ह्वात्तै बढेको थियो । त्यस क्षेत्रमा घर टहरा बनाएर तथा खेतीयोग्य जग्गामा परिणत गरेर वन अतिक्रमण बढेको थियो ।

दुई साताअघि मोहन सापकोटाको अध्यक्षतामा सुन्दरी सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको छ । पुनर्गठन भएपछि समितिका अध्यक्ष सापकोटा लगायत सम्पूर्ण  पदाधिकारी वन कर्मचारीसँग मिलेर वन अतिक्रमण खाली गराउने, काठ चोरी तस्करी रोक्न गस्ती गर्ने र खाली जग्गामा वृक्षरोपण गरेर पुनः वन क्षेत्रलाई हराभरा बनाउने अभियान अभियान जुटेका छन् । 

समितिका अध्यक्ष सापकोटाले दुई साताको अवधिमा दुई हेक्टरभन्दा बढी वनको अतिक्रमित जग्गा खाली गराएको बताउनुभयो । उहाँले भन्नुभयो, "कुनै बेला हरियो देखिने डाँडाकाँडा उजाड बनेको छ । ठूल्ठूला रुख तस्करले सिध्याउन खोजेपछि संरक्षण गर्न हामी जमर्को कसेका छौं ।"

वन विनासका असरहरु देखिन थालेको बताउँदै उहाँले अहिले हामीले वन जोगाएनौं भने कलान्तरमा धेरै दुःख हुने बताउनुभयो । तापक्रममा वृद्धि, जमिनमुनि पानीको सतह घट्दै जानु र पर्यावरण असन्तुलन हुनु वन विनासको कारण भएको अध्यक्ष सापकोटाको बुझाइ छ । 

लालगढ सब डिभिजन वन कार्यालयका अधिकृत मदन चौधरीले तुसलीमा वर्षौंदेखि निष्क्रिय रहेका दुई वटा सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको बताउनुभयो । सुन्दरी र मोती खोला सामुदायिक वन उपभोक्ता समिति वर्षौंपछि पुनर्गठन भएको उहाँले जानकारी दिनुभयो । 

दुबै वन उपभोक्ता समिति आन्तरिक विवादका कारण निष्क्रिय बनेको थियो । सरकारले चाहेर मात्र काठ चोरी तस्करी र वन अतिक्रमण रोक्ने सम्भावना न्यून रहेकाले स्थानीयवासीको सहभागिता आवश्यक भएको महसुस गरिएको थियो । वन उपभोक्ता समिति पुनर्गठनपश्चात् थुप्रै ठाउँको अतिक्रमित जग्गा खाली गराएर वृक्षरोपण गरी तारजाली लगाइएकोे उहाँले बताउनुभयो । 

यसरी तारजाली लगाउँदा वनभित्र भएका बोट बिरुवाको संरक्षण हुने र स्थानीयको अन्नबालीको पनि संरक्षण हुन्छ । वन्यजन्तु मानव बस्तीमा पसेर अन्नबालीको नोक्सानी गर्न नसक्ने र घर पालुवा जनावर पनि वन क्षेत्रमा प्रवेश गर्न नसक्ने हुँदा वन क्षेत्रका रुख बिरुवा फस्टाउने उहाँको भनाइ छ । 

डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले वन संरक्षणमा तुसलीका जनता जागरुक बनेपछि खुशी व्यक्त गरेका छन् । त्यस क्षेत्रमा काठ चोरी तस्करीका गुनासो निकै सुनिन्थ्यो । वन उपभोक्ता समिति सक्रिय भएपछि काठ चोरी निकासीमा नियन्त्रण र वन अतिक्रमण रोकिएको दाबी उहाँले गर्नुभयो । 

सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको नाउँमा जथाभावी वन अतिक्रमण बढेको थियो । यसका साथै अन्यत्र घर भएकाले पनि सो स्थानमा अस्थायी घर टहरा बनाएर अतिक्रमको प्रयास गरेको थियो । अब वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाउँदै सामुदायिक वनको स्तर सुधार्नमा जोड दिने डिभिजनल प्रमुख चौधरीले बताउनुभयो ।