कपिल ज्ञवाली
सिद्धार्थनगर, असार २२ गते । रूपन्देहीको दुग्ध व्यवसायीको संयुक्त पहलमा आधुनिक डेरी उद्योग स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिका –१४ बेलभरियामा जिल्लाका विभिन्न स्थानमा डेरीजन्य व्यवसाय गर्दैआएका व्यवसायी, किसानलगायतको सहकार्यमा करिब डेढ करोड लागतमा उद्योग स्थापना गरिएको हो ।
१ करोड ४३ लाख १० हजार २ सय २४ रूपियाँको कुल लागतमा रहेको प्लान्ट यस क्षेत्रकै नमुना दाबी गरिएको छ । दुग्ध क्षेत्रको विविधीकरण गरी उत्पादन बजारीकरण गर्न उद्योग स्थापना गरिएको ब्यवसायीको भनाइ छ ।
दूध, र दुग्धजन्य वस्तुको विविधिकरण साथै बजारीकरण गरिने योजनाअनुुसार ‘विशेष डेरी उद्योग’ शुरु गरिएको उद्योगका अध्यक्ष गणेशसिंह भण्डारीले बताउनुभयो ।
विगत लामो समयदेखि डेरी व्यवसायमा संलग्न भण्डारीको पहलमा अन्य व्यवसायीको लागत साझेदारी र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग आयोजना एकाइ बुटवलको अनुदानमा सो डेरी उद्योग सञ्चालनको अन्तिम तयारी भएको छ ।
अध्यक्ष भण्डारीले भन्नुभयो, ‘हामीले अहिले भवन निर्माण सकिएर उपकरण जडान गरिरहेका छौँ, प्रालिकै नाममा जग्गा खरिद गरेका छौं ।’ व्यवसायीको सक्रियतामा अत्याधुनिक डेरी प्लान्ट स्थापना गरी गुणस्तरीय दूध सङ्कलन गरी गुणस्तरीय दुग्ध पदार्थ उत्पादन, बिक्री वितरण गरिने उहाँको भनाइ छ ।
भण्डारीले उद्योगमा स्थानीयलाई रोजगारी प्राथमिकता दिने, कृत्रिम गर्भाधानका लागि वडा १४ का पशुपालक किसान जसले डेरीमा दूध उपलब्ध गराउँदै आउनुभएको छ । उहाँहरूका लागि ५० प्रतिशत अनुदान, पशु बीमामा ५० प्रतिशत अनुदान र घाँसको बीउ निःशुल्क उपलब्ध गराउने तयारी भएको जानकारी दिनुभयो ।
जसका लागि ६९ लाख ४८ हजार १ सय १८ रूपियाँ अनुदान आयोजनाले प्रदान गर्ने सम्झौता भएको छ । यद्यपि कामको प्रकृतिअनुसार कार्य सम्पन्न भएपछि अनुदान पाउने भएका कारण घट्न सक्ने बताइएको छ । जसमा एनएमबी बैंकले कुल ४४ लाख ७१ हजार १ सय २ रूपियाँ कर्जा लगानी गरेको छ भने व्यवसायीको कुल २८ लाख ९० हजार ९ सय ९४ रूपियाँ लगानी छ ।
उपआयोजनाका लगि २०७८ फागुन महिनामा सम्झौता भई काम सुरुवात गरिएको थियो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले दुूको शुद्धताका लागि आधुनिक, अत्याधुनिक डेरी उद्योग स्थापना हुनुपर्ने बताउनुभयो ।