• १६ चैत २०८०, शुक्रबार

सिद्धबाबा सुरुङ मार्ग निर्माणमा ढिलाइ

blog

रेखीराम राना

पाल्पा, असार २२ गते  । सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ मार्ग निर्माणको काममा ढिलाइ भएको छ। गत २०७९ साल असोज महिनादेखि नै प्रारम्भिक चरणको काम सुरु भए पनि सुरुङ मार्गको डिजाइन स्वीकृति नहुँदा निर्माणले गति लिन नसकेको हो। 

सुरुङ मार्गको मुख्य डिजाइन स्वीकृतिमा भएको ढिलाइले कामले गति लिन नसकेको आयोजना पक्षले जनाएको छ। निर्माण पक्षले सुरुङ मार्गको डिजाइन तयार गरेर स्वीकृतिका लागि नेपाल सरकारलाई पठाइसकेको छ। यद्यपि अहिलेसम्म डिजाइन स्वीकृति हुन नसकेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले बताउनुभयो। 

सुरुङ मार्गको डिजाइन स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको र त्यहाँबाट स्वीकृत भएर आउन बाँकी रहेको जैसवालले बताउनुभयो। 

सुरुङ मार्गको डिजाइन आगामी साउनभित्र स्वीकृति भएर आउन सक्ने उहाँले जानकारी दिनुभयो। हाल जति डिजाइनको स्वीकृति भएको छ, सोही अनुसार काम भइरहेको निर्माण पक्षले जनाएको छ। सिद्धार्थ सुरुङ मार्गको हालसम्म गेट निर्माण भइरहेको छ। त्यसअघि त्यस स्थानमा आवश्यक अन्य पूर्वाधार डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायतका काम भइसकेको छ। 

पछिल्लो समय निर्माण पक्षले सुरुङ मार्गको माथिल्लो भाग र तल्लो भागमा भित्र जाने गेट निर्माण गरिरहेको जनाएको छ। अहिले पानी परेपछि केही समयका लागि काम स्थगित हुने भए पनि अन्य काम भइरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका प्रतिनिधिले बताएका छन्। निर्माण व्यवसायीका प्रतिनिधिले भने काममा ढिलाइ भएको भन्न नमिल्ने बताएको छ।

सरकारले गत २०७९ असोज देखि नै सुरुङ मार्गको निर्माण सुरु गर्ने जनाएको थियो तर प्रारम्भिक चरणको काम सुरु गर्न ढिलाइ हुँदा सुरुङ मार्गको कामसमेत ढिलाई भएको हो। डिजाइन स्वीकृति हुन र प्रारम्भिक चरणको काम ढिला सुरु हुनु जस्ता कारणले सुरुङ मार्गको थालनीमा समेत प्रभाव परेको बताइएको छ। 

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो। सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने ढुङ्गा तथा पहिरोका कारण हरेक वर्ष आठ/दस जना नागरिकले ज्यान गुमाउनु परेको भन्दै सरकारले सुरुङ मार्ग बनाउने योजना अघि सारेको थियो। 

सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने तानसेनका स्थानीय बासिन्दाको भनाइ छ। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग छिट्टै बन्न सके यात्रा सुरुक्षित हुने विश्वास तानसेन–३ का स्थानीय बासिन्दा भुगोल बैँजुले बताउनुभयो। 

उहाँले भन्नुभयो, “सुरुङ मार्ग बन्न सुरु भएको छ भन्ने सुन्दा खुसी लागेको छ तर काममा ढिलाइ भएको छ।” सुरुङ मार्ग छिटो बनेर यस सडकमा यात्रा गर्ने यहाँका बासिन्दाको जीवन बचाउन आवश्यक रहेको उहाँको भनाइ छ।