• १३ मंसिर २०८१, बिहिबार

एनआरएस स्पोर्ट्स फाउन्डेसनले दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने

blog

काठमाडौं, असार २१ गते । एनआरएस स्पोर्ट्स फाउन्डेसनले नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दुरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

इनड्राइभसँगको सहकार्यमा फाउन्डेसनले आगामी बुधबारदेखि सुरु हुने गरी १२ वर्ष मुनिका खेलाडीलाई प्रशिक्षण दिने कार्यक्रम ल्याउन लागेको हो । फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन सकेको खण्डमा नेपालले माथिल्ला दर्जाका धावक उत्पादन गर्न सक्ने र विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । 

ऐतिहासिक रूपमा नेपालको दौडमा प्रदर्शन र नतिजा राम्रो रहेकाले व्यवस्थित प्रशिक्षण र सहयोगले नेपाली खेलाडी विश्व विजेता बन्ने सम्भावना रहेको श्रेष्ठको भनाइ छ । इनड्राइभरसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको प्रशिक्षणले राम्रा खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय नतिजा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

फाउन्डेसनले प्रशिक्षण कार्यक्रमलाई काठमाडौं उपत्यका सहित नजिकका सहरमा सञ्चालन गर्ने र आगामी दिनमा यसलाई अझ विस्तार गरिने फाउन्डेसनले जनाएको छ ।

अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गरिने यस कार्यक्रममा दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बच्ने उपायबारे पर्याप्त ज्ञान प्रदान गरिनुका साथै धावकको शीप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रदर्शनलाई उच्च बनाउन प्रशिक्षणले सहयोग पुग्ने पनि फाउन्डेसनले जनाएको छ ।