• २० असोज २०८१, आइतबार

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस

blog

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्नुहुँदै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा ।

गोकुल पराजुली 

विराटनगर, असार २१ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुख समक्ष दाबी गर्नुभएको छ । 

प्रदेश प्रमुख  पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा सो भन्दा बढी दलको समर्थनसहित आज ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी गर्न आह्वान गर्नुभएको थियो । 

प्रदेश प्रमुखले तोक्नुभएको समयसीमा भित्रै गठबन्धन दलहरूको तर्फबाट थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न दलका नेताहरूले हस्ताक्षर गरेको पत्रसहित आग्रह गरिएको हो । 

थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्न नेपाली कांग्रेस संसदीय दलका नेता थापा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला तावा लिम्बूले संयुक्त पत्रमार्फत आग्रह गर्नुभएको छ । 

कुल ९३ सदस्य रहेको कोशी प्रदेशमा सरकार गठन गर्न ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धन दलहरूले नेपाली कांग्रेसको  २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक (१) गरी ४७ जनाको समर्थन रहेको भन्दै थापालाई मुख्यमन्त्री पदमा नियुक्ति गर्न आग्रह गरेका हुन् । 

मुख्यमन्त्रीका लागि दाबी गर्नुभएका थापा विक्रम संवत् २०१४ मङ्सिर १५ गते जन्मनुभएको  हो । झापाको अर्जुनधारा नगरपालिका -४ का स्थायी बासिन्दा उहाँ नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघमा २०३२ सालमा  सङ्गठित भएर राजनीति आरम्भ गर्नुभएको थियो । 

थापा २०४७ सालमा पार्टीको गाउँ समिति सचिव बन्नुभयो । २०४८ सालको आठौँ जिल्ला अधिवेशनबाट पार्टीको झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति निर्वाचित हुनुभएका उहाँ १० औँ जिल्ला अधिवेशनबाट झापा जिल्ला सचिव, ११ औँ अधिवेशनबाट उपसभापति र १२ औँ अधिवेशनबाट झापा जिल्ला सभापतिको भूमिकामा पुग्नु भएको थियो । 

व्यवस्थापन सङ्कायमा स्नातकसम्मको अध्ययन गर्नुभएका थापाले तत्कालीन जिल्ला विकास समिति झापाको राजनीतिक संयन्त्रको सदस्यको रूपमा तीन वर्ष काम गर्नुभएको छ । पहिलो पटक संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नुभएका उहाँ नेकपा एमालेका उम्मेदवार प्रेम गिरीसँग पराजित बन्नु भएको थियो । 

यो पनि पढ्नुहोस

प्रदेश प्रमुखलाई नेकपा एमालेले बुझायो ध्यानाकर्षण पत्र