• १२ असोज २०८१, शनिबार

एनरिक पीएसजीको मुख्य प्रशिक्षक

blog

पीएसजीसँगको सम्झौता पछि लुइस एनरिक ।

काठमाडौं, असार २१ गते । फ्रान्सको चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षकमा लुइस एनरिक नियुक्त हुनुभएको छ । पीएसजीले बुधबार राति एनरिकलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

स्पेनका ५३ वर्षीय एनरिक स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक हुनुहुन्छ । यसअघि पीएसजीको प्रशिक्षक क्रिस्टोफ गाल्तिएर हुनुहुन्थ्यो । पीएसजीले क्रिस्टोफलाई बर्खास्त गर्दै एनरिकलाई प्रशिक्षक बनाएको हो । पीएसजी र एनरिकबीच सन् २०२५ सम्म दुई वर्षको सम्झौता भएको छ । 

सन् २०१५ मा बार्सिलोनाको प्रशिक्षक रहनुभएका एनरिकले एकैसिजन बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र च्याम्पियनसिप लिगसहित ‘ट्रेबल’ उपाधि दिलाउनुभएको थियो । त्यतिबेला उहाँले पारिवारिक कारण देखाउँदै केही समय प्रशिक्षकबाट विश्राम लिनुभएको थियो ।

यस्तै स्पेन सन् २०२२ को विश्वकपमा अन्तिम १६ को खेलमा मोरोक्कोसँग टाइब्रेकरमा पराजित भएपछि उहाँले स्पेनको प्रशिक्षकबाट राजीनामा दिनुभएको थियो । क्लब फुटबलमा उहाँले एस रोमा र सेल्टामा पनि काम गर्नुभएको थियो ।

एनरिकले पीएसजीको प्रशिक्षक बन्न पाउँदा निकै खुसी लागेको बताउनुभएको छ । ‘‘म निकै खुसी छु । नयाँ सहर, नयाक् क्लब र नयाँ मानिससँग काम गर्न उत्साहित छु । मलाई विश्वास छ, हामी राम्रो टिम निर्माण गर्नेछौँ,’’ एनरिकले भन्नुभयो । 

एनरिकलाई भित्र्याएको पीएसजीले पछिल्ला पाँच वर्षमा तीन प्रशिक्षक फेरेको छ । पीएसजीले गत सिजन कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग उपाधि जितेको थियो ।

तर च्याम्पियनसिप लिगको अन्तिम १६ को खेलमा पीएसजी बायर्न म्युनिखसँग पराजित भयो । च्याम्पियनसिप लिग जित्ने लक्ष्यसहित स्टार खेलाडी अनुबन्ध गर्दै आएको पीएसजीले त्यो सफलता चुम्न भने सकेको छैन । एजेन्सी