न देह मेरो न त हुन्छ देही
मुहारको दर्पण हैन केही
शरीर हाँक्ने सरकार छैन
मेरै मलाई अधिकार छैन ।
भाषा बटारी कवि हुन्न कोही
झुल्केर मात्रै रवि हुन्न कोही
न वास मेरो न कपास मेरो
चम्काइमा छैन प्रकाश मेरो ।
आफू नचिन्ने दुनियाँ नचिन्ने
दौडेर मात्रै कसरी उछिन्ने
मैले बुझेको न बुझाइ मेरो
म अग्लिएको न उचाइ मेरो ।
पृथ्वी लगाए पनि लाख फेरो
न शेष मेरो न विशेष मेरो
म हेर्छु मेरो प्रतिविम्ब साथी
धुलो खरानी करले समाती ।
खुम्च्यो सिमानासरि देह–आयु
सँगै भई दूर छ पञ्चवायु
मेरै भनूँ खै कसरी कटेरो
म उभ्भिएको न त भूमि मेरो ।
न आज मेरो न भविष्य मेरो
मान्छे म नै हो न मनुष्य मेरो
कहाँ छ खै इन्द्रियको निजìव
बैरी बनेको छ कि पञ्चतìव ।
मोती धुलाको कण झैँ मलाई
के काम एकैछिन झल्मलाई
पदार्थले हीन म एक पात्र
म शून्यताको अवतार मात्र ।
अज्ञान वा ज्ञान फुकेन पोयो
कि रज्जु हो यो कि त सर्प हो यो
कहाँ छ होला सुखको पँधेरो
हाँसूँ भने होइन ओठ मेरो ।
पाक्दै नपाकीकन छ्ड्किए झैँ
हावा भरी बेलुन पड्किए झैँ
सकिन्छु त्यस्तैसँग एकपालि
आकाश जस्तै म हुँ नित्य खाली ।