• ९ मंसिर २०८१, आइतबार

सम्मानमा भानु

blog

तिम्रो नाम लिँदा

यौवनले फक्रिएको फूल झैँ

फुल्छ गर्वले छाती

चुलिन्छ नेपाली साहित्यको उचाइ

सगरभन्दा माथि ।


जसरी अनन्त छ अन्तरिक्ष

त्योभन्दा पनि अनन्त छ

तिम्रो कृत्यको महिमा गान

सूर्याेदयको दर्शनमा

प्रभातकालीन चराको चिरबिरसँगै

गुुन्जिने गायत्री मन्त्र झैँ

जनमनको ओठमा छन्

अजर अमर तिम्रा रचनाका श्लोकहरू ।


सुगन्धझैँ सुवासित छ

पुष्पझैँ पल्लवित छ

तिम्रा पसिनाले सिञ्चित

साहित्य बगैँचा


तिम्रा लागि

वेदमन्त्र झैँ पवित्र बन्यो

घाँसीको प्रेरणा

ओहोरो दोहोर गरिरहेका छन्

तिमीले बनाएको भाषाको सेतुमा

युगाँैदेखि युगसम्मका

हृदयदेखि हृदयसम्म

जनमनका भावना


भाषा शिष्ट र विशिष्ट भयो

तिम्रो कलमबाट जन्मिएपछि

साहित्य कालजयी बन्यो

तिमीले मौलिकता भरेपछि

हर रचनाले रूप पाए

हर कलाले अनुहार सजाए

हर शब्द सजीव भए

हर भाव नजिक भए

तिम्रो दृष्टिबाट सृष्टि भएपछि


माउले बचेराको आहार भनेर

बोकी ल्याएको चारो बने

तिम्रा रचना हाम्रा लागि


तिमी ऋग्वेद झँै आदि हौ

हाम्रा माझमा

ऋतुमध्येको वसन्त हौ

साहित्यको बागमा


भानु

तिमी सधैँभरिलाई यसरी नै पुज्य हुनेछौ

हामी सधैँभरि स्नेह चढाइरहने छौँ

हावाको स्पर्श पुग्न नसकेको

हृदयको बारीमा 

फुलेको शब्दरूपी श्रद्धाका फूल

केवल तिम्रा लागि

हामी निहुराउने छौँ

कहीँकतै कहिले पनि नझुकेको शिर

तिम्रो सम्मानका लागि । 

                   

                            हाल भक्तपुर