• २० असोज २०८१, आइतबार

किन आयो हेवाखोलामा अकल्पनीय बाढी

blog

यहि असार ३ गते ठूलो बाढी गएपछिको हेवाखोलाको वर्तमान अवस्था। तस्बिर सौजन्य :जिल्ला प्रहरी कार्यालय।

नारायण तुम्बापो

फिदिम, असार १८ गते। असार ३ गते पाँचथरको हेवाखोलामा वर्षासँगै आएको अकल्पनीय बाढीले स्थानीयवासीलाई उदेकमा पारेको छ। हेवाखोलाको अन्तिम बिन्दु माझीटारका ४० वर्षीय मङ्गलबहादुर माझी यस्तो बाढी आउला भनेर दश मनमा एक मन पनि नसोचेको बताउनुहुन्छ। हिउँदमा जँघार तरिने हेवाखोला तीन गते तमोर नदी बनेर आएको भान भएको उहाँले सुनाउनुभयो। 

लामो समयदेखि मेचीमार्गको हेवाखोला पुल बजार नजिक बस्नुहुने भानुभक्त पोख्रेलले यसपालिको बाढी उग्र आतङ्कारी नै बनेर आएको सुनाउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘दुई बजे राति ठूलो गडगडाहटका साथ बाढी आउँदा मस्त निदाएका बजारवासी हामी आतङ्कित हुदै ब्युँझेका थियौं। अत्तालिँदै बाहिर निस्केर भागदौड गर्दै गर्दा एकैछिनमा मोटरएबल पुलमाथिसम्म पानी भरिएर आयो। केही समयपछि पुल भत्कियो। त्यसपछि झन् ठूलो आवाजमा गडगडाउँदै पश्चिमतर्फको आफ्नो बाटो पछ्याएर हेवा ओरालियो।’’

यहाँको पुल भत्किएपछि अहिले १५ दिनदेखि मेचीमार्ग अवरुद्ध जस्तै छ। बेला–बेला डाइभर्सनमार्फत यातायात सुचारु भए पनि ठूलो बाढी आएको बखत बाटो छेकिने गरेको छ। यातायातमार्फतको आवागमन र ढुवानी रोकिँदा पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङ्वासी हजारौंको जनजीवन कष्टकर बनेको छ। 

हेवाखोला पुल क्षेत्रका बासिन्दा भने ठूलो बाढी आएको बेला पुल भत्किएर ठिकै भएको बताउँछन्। स्थानीयको भनाइ अनुसार नभत्किएको भए यहाँको बस्ती डुबानमा पर्दा दर्जन घरमा क्षति हुनेथियो। अझै ठूलो क्षतिको रुपमा १५ जनासम्मको ज्यान जान सक्थ्यो।  



३ गतेको बाढीले हेवाखोला अन्तर्गतका एउटा बेलिब्रिजसहित पाँच वटा पक्की पुल बगाएको छ। धेरै झोलुङ्गे पुल पनि बगेका छन्। यो अवस्थाले पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङ जाने सबैतिरको बाटो छेकिएपछि यातायातमा नाकाबन्दी नै लागेको छ। अर्बौं खर्चेर बनाइएका हेवाखोलाकै स्रोतले चल्ने १४ र २१ मेगावाट क्षमताका दुई वटा हाइड्रोपावरमा पूर्ण रुपमा क्षति पुगेको छ। हेवाखोला बाढीमा परेर दुई जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता छन्। 

यतिधेरै जन धनको क्षति हुने गरेर हेवाखोलामा किन र कसरी त्यत्रो बाढी आयो भन्नेमा स्थानीयवासी अचम्मित छन्। फेरि पनि यसरी जुनै पनि बेला झुक्याएर हेवा हेलिएर आउन सक्ने चिन्ताले उत्तिकै पिरोलिएका छन्। 

विगतमा यसपालि ठूलो बाढी आएको समयभन्दा पनि ठुलो वर्षा हुँदा हेवामा असार ३ गतेको जस्तो बाढी नआएको हेवाको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय सुनाउँछन्। हुन पनि हेवाखोलाको तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको समयमा कम वर्षा भएको देखिन्छ। जुन समयमा ४६.२ मिली मिटर मात्रै पानी परेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय धनकुटाले जनाएको छ। हेवाको उद्गमस्थल सेरोफेरो फालेलुङ गाउँपालिका क्षेत्रमा भने अत्यधिक वर्षा भएको थियो। सो क्षेत्रमा २३० मिलिमिटर वर्षा भएको फिल्ड कार्यालयका मौसम विज्ञान विज्ञ रामबाबु मिश्रले बताउनुभयो। खासमा ठूलो बाढीको मुहान नै यो बनेको थियो। मिश्रले भन्नुभयो, ‘‘ठूलो बाढी आएको समय असार २ गते रातिबाट ३ गते बिहानसम्म फालेलुङ क्षेत्र सेरोफेरोमा खण्डवृष्टि भएको देखिन्छ। २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भए बाढी पहिरोको उच्च जोखिम सिर्जना हुन्छ। त्यही भयो।’’ 


फालेलुङ क्षेत्रमा जेठ २७ गतेदेखि ३१ गतेबाहेक असार १ गतेसम्म लगातार १८ देखि ४१ मिलिमिटरसम्म वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालयको तथ्याङ्क छ।  जसका कारण सो क्षेत्रको जमिनले पानी सोसेर राख्ने क्षमता पनि सकिएको थियो। अन्ततः २ गते फालेलुङ क्षेत्रमा आएको भारी वर्षाको पानी त्यहाँको जमिनमा खपत नभई विभिन्न जलाधार हुँदै सिधै हेवाखोलामा पुग्ने अवस्था बन्दा त्यो भीषण बाढी बन्न गएको जलविज्ञकाे भनाइ छ। ठोसरहित तरलका रुपमा मात्रै निर्बाध  बग्न पाए बाढी जोखिमका हिसाबले त्यति शक्तिशाली नहुने वरिष्ठ जलविज्ञान विज्ञ रुद्धबहादुर परियारले बताउनुभयो। 

हेवाखोलामा ३ गते आएको बाढी भारी ठोसका साथ थुनिँदै खोलिदै बग्ने क्रममा त्यसैले भीमकाय रुप लिएको अध्ययनबाट देखिएको उहाँको भनाइ छ। हेवाखोला बाढीले एउटा बेलीब्रिजसहित पाँच वटा पक्की पुल बगाएको छ। बाढीले पुल बगाएका कारण बाढीको शक्ति सञ्चय हुनमा सघाउ पुग्ने समय थुनिँदै खोलिने अवस्था सिर्जना भएको अध्ययनले देखाउँछ। ठूलो बाढीको उद्गमस्थल फालेलुङ क्षेत्रमा दर्जनौ पहिरो गएका छन्। झोलुङ्गे पुल बगेका छन्। जसका कारण बगेर आएका ढुङ्गा, माटो, रुख, बुट्टा, तारजाली लगायतले पक्की पुल टालिँदै भत्किदै बग्ने अवस्था सिर्जना भएको देखिन्छ। 



हेवाखोला क्षेत्र मिचेर ठाउँ ठाउँमा बनाइएका विभिन्न संरचनाका कारण जलप्रवाह मार्ग साँघुरिएको क्षेत्रमा स्वतन्त्र बग्न नपाएको बाढीले थप जोखिम बढाएको बताइन्छ। पछिल्लो समयमा जलवायु परिवर्तनसँगै लामो समय वर्षा नहुनु, हुँदा पनि अतिवृष्टि, खण्डवृष्टि भएर विनाशकारी बाढी पहिरोको जोखिम बढ्नुमा मानवीय कर्म बढी जिम्मेवार देखिने जल तथा मौसमविद्को भनाइ छ।