• १३ मंसिर २०८१, बिहिबार

मुस्ताङमा स्याउको दाना कम लाग्दा उत्पादन घट्ने

blog

शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउको बोटमा लागेका दाना । तस्बिर: अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, असार १८ गते । मुस्ताङको मुख्य बालीमध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ । स्याउको बोटमा कम फल लागेपछि उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन् ।

मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा रहेको स्याउ बगानमा पनि निकै न्यून मात्रामा स्याउको दाना लागेको छ । हिउँदमा हिउँ नपर्दा स्याउलाई चाहिने न्यूनतम तापक्रम पुग्न सकेन जसका कारण यहाँ लगाइएका धेरै चिस्यान चाहिने स्याउका जातहरू राम्रोसँग फुल्न सकेनन्  । यसका साथै फूल खेल्ने समयमा लगातार पानी पर्दा राम्रोसँग पराग सेचन हुन नपाउँदा फल लागेका छैनन् । 

स्याउमा राम्रोसँग फूल खेलेको थियो तर त्यही समयमा झन्डै हप्तादेखि दश दिनसम्म झरी पर्दा पराग सेचन हुन पाएन त्यसैले दाना कम लाग्यो–शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । फूल खेलेको समयमा माहुरी, भमरा एवम् अन्य किराहरूले फूलको रस लिन आउने समयमा पराग सेचन हुन्थ्यो तर बोटमा फूल रहने बेलासम्म पानी परि रहेकाले गर्दा पराग सेचन हुन पाएन र स्याउको दाना नै राम्रोसँग लाग्नै पाएन उहाँले सुनाउनुभयो ।

मुख्य रूपमा स्याउमा कम फल लाग्नुको कारण भनेको समयमा हिउँ नपर्नु हो । शीतोष्ण हावापानीमा हुने फलफूल जस्तै स्याउका लागि झन्डै एक हजारदेखि सोह्र सय घण्टासम्मको चिलिङ आवर चाहिन्छ । त्यसका लागि हिउँ पर्यो भने निकै राम्रो हो तर यस वर्ष जुन समयमा हिउँ पर्नुपर्ने हो त्यो समयमा हिउँ नपर्दा उत्पादनमै नकारात्मक असर देखिएको छ घरपझोङ गाउँपालिका–५, ढुम्बाका स्याउ खेती गर्ने अगुवा कर्म गुरुङले सुनाउनुभयो । 

चाहिने बेलामा न त पानी पर्यो न त हिउँ पर्यो नचाहिएको बेलामा पानी पर्दा स्याउ फलेन उहाँले भन्नुभयो । फूल खेल्ने बेलामा माहुरी आउनै पाएन त कसरी स्याउ फल्छ ? गतवर्ष दुई करोडभन्दा माथि मूल्यको स्याउ बिक्री गर्नुभएका कर्माले यस वर्ष गतवर्षको तुलनामा आधा मात्रै फल लागेको बताउनुहुन्छ ।

पछिल्लो समय हिमालपारिका जिल्ला मुस्ताङमा माहुरी पालन पनि कम हुन थालेकोले पनि पराग सेसनको समयमा माहुरी कम हुने गरेको स्थानीयको भनाइ छ । फूल खेल्ने बेलामा लामो समय सम्म पानी पर्दा स्याउको उत्पादन यो वर्ष गतवर्षको तुलनामा आधा भन्दा पनि बढी कम देखिएको टुकुचेका कृषक निरोज तुलाचनले बताउनुभयो । उहाँ भन्नुहुन्छ गतवर्ष ३१ टन स्याउ विक्री गरेको थिएँ मैले तर यो वर्ष त्यसको आधा पनि पुग्छ पुग्दैन भन्न सक्ने अवस्था छैन ।