• २५ पुस २०८१, बिहिबार

गत वर्षभन्दा धान रोपाइँमा कमी

blog

काठमाडौँ, असार १८ गते । ढिलो मनसुन सुरु भएका कारण गत वर्षको तुलनामा रोपाइँ कम भएको छ । कृषि विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ११.१४ प्रतिशत मात्र रोपाइँ भएको छ । जब कि गत वर्ष असार १० सम्ममा १७ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो । 

सबभन्दा बढी कर्णाली र सुदूरपश्चिममा २३–२३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । कोशी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा ११.९, गण्डकी प्रदेशमा ६.८९ प्रतिशत, बागमतीमा पाँच प्रतिशत रोपाइँ भएको छ भने सबभन्दा कम मधेशमा हालसम्म तीन प्रतिशत रोपाइँ मात्र भएको छ । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीका अनुसार यसपालि पानी ढिला परेका कारण अपेक्षाभन्दा कम रोपाइँ भएको हो । अहिले पनि पूर्ण रूपमा मनसुन सक्रिय नभएका कारण कतिपय ठाउँमा रोपाइँमा ढिलाइ भएको उहाँले बताउनुभयो । 

असारको अन्तिम अन्तिमसम्म ७० देखि ७५ प्रतिशत रोपाइँ हुने अपेक्षा विभागले गरेको उहाँले बताउनुभयो । गएको बिहीबारसम्म ११ प्रतिशत रोपाइँ भएको थियो, आइतबारसम्ममा १५ प्रतिशत रोपाइँ भएका होला भनी अनुमान रहेको बताउँदै उहाँले समयमा सिँचाइ, मल प्राप्त भयो भने धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको बताउनुभयो ।

अगामी आर्थिक वर्षका २०८०/८१ मा १४ लाख ९६ हजार ३०६ हेक्टरमा रोपाइँ हुने अनुमान विभागले गरेको छ । गत वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको विभागको तथ्याङ्कमा उल्लेख छ । बाँझो जमिन उपयोगमा ल्याउने नीति सरकारले लिएपछि खेतीयोग्य धान खेतीमा वृद्धि भएको छ । यस हिसाबले धान उत्पादनमा वृद्धि हुने अनुमान गरेको उहाँले बताउनुभयो । विभागका अनुसार २०७९/८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ । यो परिमाण २०७८/७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी हो । 

बेमौसमी वर्षाले धान बालीमा क्षति हुँदा २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । आगामी आवमा ५५ देखि ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लिएको छ ।