• ११ पुस २०८१, बिहिबार

‘ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन्’

blog

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १७ गते । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसले मात्रै बैङ्कबाट ऋण पाउने अवस्थाको अन्त्य हुनेगरी कानुन निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ । आम जनता बैङ्कहरूबाट ऋण नपाएपछि मिटरब्याजी मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उहाँले चर्चा गर्नुभयो ।

सरकारले आम जनतालाई बैङ्कबाट ऋण लिने व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले भन्नुभयो, ‘मान्छे बैङ्कबाट ऋण लिन नपाएर ठगिन विवश भएका छन्, गरिबले पनि बैङ्कहरूबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाइनुपर्छ ।’

गरिब जनताबाट निक्षेप सङ्कलन हुने तर केही मुठीभर मानिसले मात्रै ऋण पाउने अवस्थाको अन्त्य नभएसम्म मुलुकमा समृद्धि सम्भव नरहेको पनि उहाँले बताउनुभयो । अध्यक्ष साहले भन्नुभयो, ‘देशको पुँजी सही ढङ्गले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन । मान्छे जानीजानी ठगिन बाध्य छन् ।’ बैङ्कले ऋण नदिने भएकाले मानिस जानी–जानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य भइरहेको उहाँले चर्चा गर्नुभयो । अध्यक्ष साहले निक्षेप सङ्कलन भएकाले बैङ्कहरू खुसी भए पनि ऋण नपाउँदा गरिब जनता मारमा परिरहेको पनि स्मरण उहाँले गराउनुभयो ।