मेरी आमा जस्तो हुनुहुन्छ
त्यस्तै छ मेरो देश
काटीकुटी केही फरक छैन
नाकको टुप्पोमा रिसको हिमाल
आँखाभरि
रारा र फेवा
रित्तो गोरेटो जस्तो आमाको सिउँदो
चाउरिएका सिमाना झैँ गाला
वर्षैपिच्छे आली कान्ला ताछ्ने छिमेकी
परेलीको किलो दाम्लो बोकिहिँड्ने कोरेली
घस्री घस्री हिँड्ने बुढो पहाड
केही फरक छैन
(दुवै आफ्नो भएर हो कि)
हालत पनि उस्तै छ
रगत बेचेर किन्नुपर्ने आइरन चक्की
अर्काको देशमा
भाँडा माझ्न पठाउने पर्ने
कलेजीका टुव्रmा
आफ्नो भएर पनि
आफैँलाई खाने मनको बाघ
बेलाकुबेला
बाख्राको खोरमा पस्ने
चितुवा–राजमार्ग
गहुँ बारीमा मडारिने
हाइब्रिड साँढे
बाहिर पानी पर्दा
भित्र घुम ओढ्नुपर्ने मझेरी
सबै सबै उस्तै छ
फरक छ भने
यति मात्र फरक छ
मेरी आमालाई
अझै पनि
कोदालोले छोडेन
र मेरो देशलाई
कचौराले
सूर्यविनायक–२
बालकोट, भक्तपुर