• १४ मंसिर २०८१, शुक्रबार

निकुञ्जको राजस्वमा उल्लेख्य सुधार

blog

वसन्त पराजुली 

भरतपुर, असार १६ गते । आर्थिक मन्दीका कारण देशैभर राजस्व सङ्कलनमा ह्रास आइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जले भने चालु आर्थिक वर्षको ११ महिनामै अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ। 

वन र वन्यजन्तुको अवलोकनमा विश्वमै ख्यातिप्राप्त चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धिसँगै राजस्व सङ्कलनमा पनि उल्लेखित वृद्धि भएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आव २०७९/८० को ११ महिनामा २८ करोड ९९ लाख ७० हजार ६७० रुपियाँ राजस्व सङ्कलन भएको छ। 

यसरी सङ्कलित राजस्वमध्ये सबैभन्दा ठुलो हिस्सा पर्यापर्यटन नै हो। पर्यापर्यटनमा यो वर्ष निकुञ्जले २२ करोड सात लाख ४५ हजार एक सय रुपियाँ सङ्कलन गरेको छ। राजस्व सङ्कलनको दोस्रोमा गैरकाष्ठ वन पैदावर बिक्री वितरणबाट छ। यसबाट निकुञ्जले छ करोड ५९ लाख १८ हजार ३१८ रुपियाँ राजस्व सङ्कलन गरेको तथ्याङ्क छ। 

निकुञ्जले दिएको तथ्याङ्क अनुसार चालु आव २०७९/८० को जेठ मसान्तसम्म दुई लाख ८८ हजार ३५९ जनाले निकुञ्ज अवलोकन गरेका छन्।

निकुञ्जको तथ्याङ्क अनुसार अघिल्लो आव २०७८/७९ मा निकुञ्जले ११ करोड ४९ लाख ९७ हजार ३१३ रुपियाँ राजस्व सङ्कलन गरेको थियो। 

निकुञ्जका सूचना अधिकारी तिवारी अझै असार महिना नै बाँकी रहेको र असार १५ सम्म निकुञ्ज पर्यटकका लागि खुला नै रहेकाले पर्यटक आवागमन र राजस्व यो वर्ष अझै बढ्ने बताउनुहुन्छ। “हाम्रो राजस्व सन्तोषजनक रूपमै उठेको छ,” उहाँले भन्नुभयो ।