काठमाडौं, असार १५ गते। नेपालका अशोक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ।
वल्र्ड तेक्वान्दोको आयोजना र अष्ट्रेलिया तेक्वान्दोको संयोजनमा वल्र्ड र्याङकिङ जि टु इभेन्टका तीन प्रतियोगिता डब्ल्युटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री अशोकले पुम्से विधातर्फ रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्नुहुनेछ।
ती प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसमम हुनेछ। अशोकका अनुसार ती प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र मनोज श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्नुहुनेछ। अशोक आइतबार अष्ट्रेलिया प्रस्थान गर्नुहुनेछ। अशोक क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ।
अशोक इन्टरनेसनल पुम÷डान एक्जामिनर कोर्समा सहभागी हुन अष्ट्रेलियाबाटै दक्षिण कोरिया प्रस्थान गर्नुहुनेछ। विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवोन, कोरियाको आयोजनामा सो कोर्स जुलाई १२ देखि १४ तारिखसम्म हुँदैछ। सो कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि अशोकले रेफ्रीको भूमिका निर्वाह गर्नुहुनेछ।
खेलाडी र प्रशिक्षकको रुपमा पनि उत्तिकै सक्रिय अशोक विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनिसक्नुभएको छ।