गोरखापत्र अनलाइन
काठमाडौं, असार १४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि गुरु कुट्ने संस्कृति बढिरहेकाले त्यसबाट बच्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उहाँले यस्तो बताउनुभएको हो ।
“आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदैगएको छ, गुरुलाई देवता समान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा हो” अध्यक्ष ओलीले थप्नुभयो, “सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरूको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक छ ।”
“हाम्रो देशजस्तो एउटा सभ्यताको जग, सभ्यता सुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भव: भन्ने देशमा आज गुरुको ढाड खुस्काउँदै छन् । टाउको फुटाउदैछन्” अध्यक्ष ओलीले त्यस्ता विद्यार्थीको मुद्दा फिर्ता लिने काम सरकारले गरेर संरक्षण गरिरहेको उहाँले आरोप लगाउनुभयो ।