• २० असोज २०८१, आइतबार

कृषिमा आत्मनिर्भर बनाउन ‘अध्यक्ष कृषि आयोजना’

blog

मिक्वाखोला गाउँपालिका –४ साँवाको तेम्बा क्षेत्रमा रहेको अलैँची बगान । तस्बिर: गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउन ‘अध्यक्ष कृषि आयोजना’ सुरु गर्ने भएको छ । कृषि र पशुपालनलाई प्राथमिकता दिँदै गाउँपालिकाले अध्यक्ष कृषि आयोजना सुरु गर्ने भएको हो । 

गाउँपालिकाको १५औँ गाउँ सभा तथा अधिवेशनसमक्ष पालिका अध्यक्ष भक्तबहादुर कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार विभिन्न योजनालाई पालिकाको गौरवको योजनाका रूपमा अघि बढाइने भएको छ । पालिकाको गौरवकै योजनाअन्तर्गत अध्यक्ष कृषि आयोजनालाई बहुवर्षे तथा बहुआयामिक योजनाका रूपमा कार्यान्वयन गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको छ ।

उक्त योजनाअन्तर्गत मिक्वाखोलामा तोरी, स्युस्यु र सूर्यमुखी खेतीमार्फत तेलमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । तेलहन बालीका लागि यहाँको माटो उपयुक्त रहेको पनि गाउँपालिकाले जनाएको छ । तेलहन बालीका लागि उन्नत जातको बिउ, मल र प्रविधिको उपलब्धतालाई गाउँपालिकाले महत्त्व दिने छ भने यसमा प्रविधि हस्तान्तरण र अनुदान समेतलाई प्राथमिकता दिइने भएको छ । 

अध्यक्ष कृषि आयोजनामार्फत नगदे बाली अलैँची सहितको खेतीमा संलग्न किसानलाई उत्पादन र उत्पादकत्वमा सुधार ल्याउन उपयुक्त प्रविधि र उपकरणमा समेत सहयोग गर्ने गाउँपालिकाको नीति छ । अलैँची बालीमा उत्पादन वृद्धिमा जोड दिएर उपयुक्त सिँचाइको प्रबन्ध गरिने छ भने गुणस्तर वृद्धिका लागि सुधारिएको भट्टीसमेत वितरण गर्ने गाउँपालिकाको नीति रहेको छ । अलैँची खेतीमा नयाँपन ल्याउन गाउँपालिकाका ५ वटै वडामा अलैँची नर्सरी स्थापना गरिने भएको छ । 

लोपोन्मुख तथा मौलिक बालीको संरक्षण गरी ग्रामीण क्षेत्रमा बीउ, बैङ्क स्थापना गर्ने गाउँपालिकाले नीति अघि सारेको छ । ठाउँ तथा हावापानी र माटो सुहाउँदो फलफूल खेतीका लागि किसानलाई सहयोग गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । तरकारी खेतीमा पनि आत्मनिर्भर बनाउने गरी विपन्न परिवारको पहिचान गरी विशेष अनुदानको व्यवस्था गर्ने योजना गाउँपालिकाको रहेको छ ।

व्यावसायिक पशु तथा पन्छी पालनका लागि गाउँपालिकाले उपयुक्त क्षेत्रहरू छनोट गरी पशु पालकलाई अनुदान सहितका प्रोत्साहन गर्ने भएको छ । पशुपन्छी पालनसँगै जैविक मल तथा विषादीको उत्पादन र उपयोगिता वृद्धि गर्ने गाउँपालिकाले जनाएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले जर्सी गाई पालनमा प्रोत्साहन तथा सहयोग गर्ने भएको छ । दुर्गम क्षेत्रहरूमा सामुदायिक पशु प्रजनन केन्द्र स्थापना गरेर पशुहरूमा कृत्रिम गर्भाधान र पशु नस्ल सुधारका कार्यक्रम अघि सारेको छ । 

चरन र खर्क क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले विशेष कार्यक्रम ल्याउने जनाएको छ । उन्नत जातका भेडा, बाख्रा, याक र चौँरीको आधुनिक फर्मका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउने उल्लेख गरेको छ । हिउँद मौसममा पशुहरूलाई चाहिने आहाराको संरक्षण गरी मौसमी र पोसिलो घाँसहरूको उत्पादनका लागि गाउँपालिकाले पशुपालकहरुलाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने योजना बनाएको छ ।