बिना कसुर सभा छली भाग्नु हुन्न भाइ
कान नछामी हल्लापछि लाग्नु हुन्न भाइ !
आफूले चाहिँ के दिएँ सोच्नु पर्छ सधैँ
हरेक चिज माटोसँगै माग्नु हुन्न भाइ !
धीरताको बाँधलाई त थुनी राख्नुपर्छ
बेहोसीमै आत्तिएर जाग्नु हुन्न भाइ !
आफन्त पो सधैँभरि आफ्ना रहलान्
मित्र छाडी रिपुतिर लाग्नु हुन्न भाइ !
‘लीला’ गर्न सधैँभरि छुट छँदैछ त
मर्यादाको पर्खाल चाहिँ नाघ्नु हुन्न भाइ !