• २० असोज २०८१, आइतबार

स्थानीय तहको बजेट : निःशुल्क एम्बुलेन्स सेवा

blog

विष्णुप्रसाद पोखरेल 

दमक, असार १२ गते । दमक नगरपालिकाले सुत्केरी आमालाई पोसिलो खाना उपलब्ध गराउने, गर्भवती महिला तथा नगरवासीका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा दिने नीति तथा कार्यक्रममा ल्याएको छ।

एक अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपियाँ बराबरको बजेटसहितको नीति तथा कार्यक्रम दमक नगरपालिकाले ल्याएको हो। सुत्केरी तथा पाँच वर्ष मुनिका बालबालिकालाई र नियमित रगत चढाउनु पर्ने बिरामीका लागि ल्याब परीक्षण गरेबापत लाग्ने रकम नपाले तिरिदिने नीति ल्याएको छ। रेडक्रसले ल्याब परीक्षणबापत भन्दै रगतको पैसा लिँदै आएको छ। यस्तै सरकारी दमक अस्पतालमा पोस्टमार्टम सेवा निःशुल्क गर्ने उल्लेख गरिएको छ। दमक नगरभित्र बसोबास गर्नेहरूले मात्र यो सुविधा पाउने छन्। यसै गरी दमक अस्पतालमा ‘जलन उपचार कक्ष’ बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले विपन्न तथा स्थानीय सरकारबाट अपेक्षा गर्ने समूह तथा नागरिकलाई नगरले दिने सेवालाई सहज बनाउने गरी नीति तथा कार्यक्रममा प्राथमिकता रहेको बताउनुभयो। “अति विपन्न तथा विपन्न वर्गका व्यक्तिले स्थानीय सरकार भएको अनुभूति गर्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” उहाँले भन्नुभयो।

पन्ध्र पालिकाले ल्यायो बजेट

बिर्तामोड समाचारदाता लीलाराज खड्काका अनुसार झापाका १५ वटै पालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएका छन्। आगामी आर्थिक वर्षमा झापामा कुल १३ अर्ब ६६ करोड २४ लाख रुपियाँ बराबरको बजेट ल्याउँदा सबैभन्दा बढी बजेट दमक नगरपालिकाले एक अर्ब ८४ करोड १२ लाख रुपियाँको बजेट ल्याएको छ। सबैभन्दा कम बजेट हल्दिबारी गाउँपालिकाले ४७ करोड ७४ लाख ३० हजार रुपियाँ बराबरको बजेट ल्याएको छ। 

झापाको कनकाई नगरपालिकाले ६७ करोड ८७ लाख २४ हजार १७५ रुपियाँको वार्षिक बजेट प्रस्तुत गरेको छ। नगरको १३ औँ नगर सभाबाट उपप्रमुख आशा शर्मा शिवाकोटीले बजेट प्रस्तुत गर्नुभएको थियो। अघिल्लो आर्थिक वर्ष २०७९/८० भन्दा छ करोडले कम बजेट सार्वजनिक गरिएको हो। अघिल्लो वर्ष कनकाई नगरपालिकाले ७३ करोड ८५ लाख रुपियाँको बजेट ल्याएको थियो। यस बजेटमा सामाजिक सुरक्षाबापतको रकम २८ करोड भने समावेश छैन। 

शिवसताक्षी नगरपालिकाले एक अर्ब २१ करोड ४० लाख ६६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक स्रोत, प्रदेश सरकार, सङ्घीय सरकारबाट प्राप्त अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो। झापा गाउँपालिकाले ४९ करोड ९० लाख १७ हजार दुई सय रुपियाँको बजेट प्रस्तुत गरेको छ भने बिर्तामोड नगरपालिकाले एक अर्ब ४० करोड ९५ लाख ५० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

यता अर्जुनधारा नगरपालिकाले आर्थिक वर्षका लागि ७६ करोड ११ लाख ८० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ भने झापा बाह्रदशी गाउँपालिकाले ४९ करोड ८८ लाख ४० हजार छ सय रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मेचीनगर नगरपालिकाको एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३६७ रुपियाँ  बराबरको बजेट सार्वजनिक गरिएको छ। 

गौरीगन्ज गाउँपालिकाले ५२ करोड ९२ लाख ४९ हजार एक सय रुपियाँको बजेट प्रस्तुत भएको छ भने कमल गाउँपालिकाले ७२ करोड २१ लख ८८ हजार रुपियाँको बजेट ल्याएको छ। भद्रपुर नगरपालिकाको ८५ करोड ६७ लाख तीन हजार रुपियाँको बजेट सार्वजनिक गरिएको छ भने कचनकवल गाउँपालिकाले ६३ करोड एक लाख १० हजार रुपियाँको बजेट प्रस्तुत भएको सो गाउँपालिकाले जनाएको छ।  

प्रमुख प्राथमिकतामा खानेपानी 

धरान समाचारदाता निशा राईका अनुसार धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ७१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ। 

धरान उपमहानगरपालिकको सभा हलमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेटको प्रमुख प्राथमिकतामा खानेपानीलाई राख्दै क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपत् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताउनुभयो। 

आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख छ हजार, सङ्घीय सरकार अनुदानबाट ९० करोड दुई लाख, प्रदेश सरकार अनुदान चार करोड एक लाख ९२ हजार, सङ्घीय राजस्व बाँडफाँटबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ।  

बजेटमा सबैभन्दा बढी सामाजिक विकासमा ५४ करोड ८० लाख, पूर्वाधार विकासमा ४३ करोड ५१ लाख ५० हजार, क्रमागत आयोजनाका लागि ३२ करोड ४२ लाख ५० हजार, शिक्षासम्बन्धी ससर्त कार्यक्रमका लागि ४५ करोड ७३ लाख रुपियाँ विनियोजन गरिएको छ।

कृषिमा आत्मनिर्भर बनाइने 

भोजपुर समाचारदाता गोकुल भुजेलका अनुसार भोजपुर जिल्लाको नौ वटै पालिकाले पेस गरेको नीति तथा कार्यक्रमसहितको बजेटमा कृषि, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिइएको छ। पालिकाहरूले आगामी वर्ष कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारीको सिर्जना गर्ने विषय समावेश गरी बजेट ल्याएका छन्। 

भोजपुर नगरपालिकाले ६३ करोड १० लाख १६ हजार छ सय रुपियाँको अनुमानित बजेट पेस गरेको छ। नगरले ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार–नगर विकासको मूल आधार’ भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन, औद्योगीकरण, खेलकुद, सुशासन एवं न्याय सम्पादनलगायत विषयलाई प्राथमिकतामा राखेको छ। 

षडानन्द नगरपालिकाले ८५ करोड १७ लाख ९९ हजार बराबरको अनुमानित बजेट ल्याएको छ। ‘जडिबुटी आय आर्जन पर्यटन क्षेत्र विकासको पूर्वाधार, सशक्त नागरिक षडानन्द नगरपालिकाको मूल आधार’ नारा नगरपालिकाले दिएको छ। पौवादुङमा गाउँपालिकाले ३९ करोड नौ लाख नौ हजार नौ सय रुपियाँको अनुमानित बजेट पेस गरेको छ। पालिकाले ‘हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउछौँ खुसीयाली’ भन्ने नाराका साथ स्थानीय खानेपानीको स्रोत व्यवस्थापन, घरघरमा जस्तापाता, स्वास्थ्य, शिक्षा र कृषिमा आत्मनिर्भरलगायत क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। 

टेम्केमैयुङ गाउँपालिकाले करिब ५२ करोड रुपियाँको बजेट पेस गरेको छ। पालिकाको मुख्य प्राथमिकतामा कृषिमा दुग्ध विकास, स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, पर्यटनलगायत क्षेत्रहरू रहेका छन्। रामप्रसाद राई गाउँपालिकाले ४८ करोड ६२ लाख ८६ हजार छ सय रुपियाँको बजेट ल्याएको छ। बजेटको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडकलगायत क्षेत्रहरू परेका छन्।

साल्पासिलिछो गाउँपालिकाले ३८ करोड १३ लाख ९४ हजार आठ सय रुपियाँको अनुमानित बजेट पेस गरेको छ। बजेटमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन मुख्य प्राथमिकता दिइएको छ। अरुण गाउँपालिकाले ४६ करोड ८३ लाख ९६ हजार चार सय रुपियाँको बजेट ल्याएको र शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ। आमचोक गाउँपालिकाले ४५ करोड बराबरको अनुमानित बजेट पेस गरेको छ भने हतुवागढी गाउँपालिकाले ३० करोड ९६ लाखको बजेट पेस गरेको छ।