अमरराज नहर्की
तनहुँ, असार ११ गते । तनहुँकाे व्यास नगरपालिकाले लम्पी स्किन रोगविरुद्धकाे खाेप दुई हजार एक सय गाई भैँसीमा लगाएको छ । किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काम भईरहेको र सो सङ्ख्यामा लगाउने काम पुरा भईसकेको नगरपालिकाले जनाएको छ ।
तीन हजार खोप खरिद गरेकोमा सो सङ्ख्यामा लगाईसकेको र लगाउने कार्य जारी रहेको नगरपालिकाको पशुपंक्षी विकास उपशाखाका पशु विकास अधिकृत डा.मनोज विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माले भन्नुभयो, “सङ्क्रमण देखिएको ठाँउ र आसपासमा कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौं, हाल सङ्क्रमण फैलन धेरै कम भईसकेको छ ।” पशुमा पूर्ण खोप कार्यक्रम अन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उहाँले बताउनुभयो ।
हालसम्म व्यास नगरपालिकामा ९० वटा गाईभैँसीमा सङ्क्रमण देखिएको थियो भने ६ वटा गाईभैँसीको मुत्यु भएको छ । उक्त रोगबाट धेरै जसो वडा नम्बर १ को चारकुने, वडा नम्बर १३ को बेलबास, पोखरीभञ्याङ, वडा नम्बर ११ फराकचौर र वडा नम्बर ७ मा विभिन्न गाईभैसी सङ्क्रमित भएका छन् । लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए तापनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने विश्वकर्माले बताउनुभयो ।
गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने पशु चिकित्सक बताउँछन् । यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन् समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।
सङ्क्रमण भएका पशुवस्तुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, जैविक सुरक्षा गर्ने, सकेसम्म आइसोलेशन गर्ने, गाईबस्तुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खोप लगाएर बचाउन सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लम्पी स्किन रोग नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारसमक्ष ‘आकस्मिक उपचारका लागि कोष स्थापना गर्न माग गरिएको छ । डा. श्रेष्ठले भन्नुभयो, “कोष स्थापना गरेको अवस्थामा आकस्मिक रुपमा लाग्ने रोग तथा बाढी पहिरोबाट पशुपालक किसानलाई क्षतिपूर्ति प्रदान गर्न सहज हुनेछ ।”
समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाईभैँसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीको रुपमा फैलिएको डा. श्रेष्ठले बताउनुभयो । महामारीले गर्दा छोटो अवधिमै जिल्लाभर एक सयभन्दा बढी गाईभैँसी मरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सङ्क्रात्मक विषाणुजन्य रोग लम्पी स्किनबाट भैँसीको तुलनामा गाईगोरुहरूमा बढी देखिएको छ ।
यस रोगको सङ्क्रमण हुँदा गाई भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप बढीरहेको उहाँले जानकारी दिनुभयो । गाई भैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कतिपयको मृत्यु समेत हुने केन्द्रले जनाएको छ । त्यस्तै सङ्क्रमित गाईभैंसीको मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ । सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ भएमा यो रोग छिटो फैलिने हुँदा सर्तकता अपनाउनु पर्छ ।
रोग नियन्त्रण र रोकथामको जनचेतना फैलाउन प्रचारप्रसार सामग्री तथा सूचना प्रकाशन गर्ने, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप अभियान सञ्चालन गरिएको छ । जस अनुसार केन्द्रबाट आकस्मित उपचार अन्तर्गत एक लाख रुपियाँको खोप खरीद गरिएको छ।
रोगको सङ्क्रमणग्रस्त क्षेत्रमा तत्काल निःसंक्रमण, उपचार लगायतका नियन्त्रणका कार्यहरू सञ्चालन गर्न विज्ञ केन्द्रमा तत्काल सङ्क्रमण नियन्त्रण टिम गठन गरी पालिकासँग समन्वय गरी परिचालन गरिएको छ । रोग सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानुन बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गरिएको केन्द्रले जनाएको छ ।
रोग लागेको पशुलाई अलगै राख्ने, उपचार तथा उपचारमा खट्नेले नुहाएर र कपडा परिवर्तन गर्न पर्ने, ओसारपसार नगर्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधिहरू अवलम्बन गर्न आग्रह गरिएको डा.श्रेष्ठले जानकारी दिनुभयो ।