• २३ पुस २०८१, मङ्गलबार

महिला आश्रय सम्बन्धी राष्ट्रिय सम्मेलन

blog

काठमाडौँ, असार ११ गते । लैङ्गिक हिंसा पीडित र प्रभावितहरूका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन  काठमाडौँमा सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सम्मेलन सुरु भएको हो । 

लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी आश्रय गृह सेवामार्फत महिला तथा बालबालिकाको सशक्तीकरणलाई प्रवर्द्धन गर्ने सम्मेलनको लक्ष्य रहेको आयोजकले जनाएको छ । सम्मेलन मङ्गलबारसम्म चल्नेछ । सम्मेलनमा दुई सय सहभागी छन् । सम्मेलनले आश्रय गृह सञ्चालन सम्बन्धी मापदण्ड, नवीनतम मुद्दाहरू,प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणा माथि छलफल हुने छन् । 

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले हिंसा पीडित महिला तथा बालबालिकालाई न्याय र सशक्तीकरण सुनिश्चित गर्न आश्रय स्थलले दिने सेवाको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय महिला आयोगकी माननीय अध्यक्ष कमला पराजुलीले घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालिकाको जीवन पुनर्निर्माणमा आश्रय सेवाले खेलेको महत्त्वपूर्ण भूमिका थप प्रभावकारी बनाउने तर्फ जोड दिनुभयो  । आश्रय गृहले पीडित महिला तथा बालबालिकालाई हिंसा विरुद्ध आवाज उठाउन सहयोग गर्दै आएको छ । 


कार्यक्रममा  सांसद डा. आरजु राणा देउवाले नेपालमा आश्रय आन्दोलनको इतिहास झल्काउँदै उपलब्धि, चुनौती र अबको बाटोमा प्रकाश पार्नु भयो । उहाँले आश्रय स्थलहरूले पीडित ∕ प्रभावितलाई सहयोग प्रदान गर्नुका साथै लैङ्गिक हिंसाको रोकथाममा जोड दिनु पर्ने बताउनुभयो । उहाँले, “महिला आश्रय स्थलबाट व्यवस्थापन गरिएका केस, तथ्याङ्क र अन्य प्रमाणलाई लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी नीति तथा नियमहरूमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कानुन निर्माता र महिला अधिकारकर्मीको हैसियतमा आश्रय केन्द्रहरूसँग सम्बन्धित नीतिका साथै आश्रय सेवाहरूको अनुगमन र नियमनलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युएन सिड समितिकी सदस्य तथा सम्मेलनको प्रवर्तक तथा ग्लोबल नेटवर्क अफ वुमन शेल्टर्सकी सह-संस्थापक तथा पूर्व सह संस्थापक वन्दना राणाले आश्रय  गृह आन्दोलनलाई राष्ट्रिय र विश्वव्यापी रूपमा अगाडि बढाउने आफ्नो अनुभव जोड्नु भयो । उहाँले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा आश्रय गृह  सञ्चालन गर्ने विभिन्न सङ्घ संस्थाहरूको संयुक्त प्रयास र आश्रय गृह सेवाहरूमा आएको नयाँ प्रवृत्ति र दृष्टिकोणको उदयलाई जोड दिँदै यस सम्मेलनले सबै सरोकारवालाहरूलाई उपलब्धि र चुनौतीहरू प्रतिबिम्बित गर्ने र एक अर्काबाट सिक्ने अवसर प्रदान गर्ने बताउनु भयो ।

आश्रय गृह सञ्चालकहरूको संयुक्त प्रयासले समाज र घरबाट अपहेलित भएका लैङ्गिक हिंसा पीडित ∕ प्रभावितका विविध आवश्यकताहरू र गुणस्तरीय सेवाहरूलाई सम्बोधन गर्न मद्दत गर्छ,उहाँले  थप्नुभयो।