• २० असोज २०८१, आइतबार

पर्माकल्चरले ल्याएको परिवर्तन

blog

कविराज घिमिरे 

हिले, असार ११ गते । धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुले बन्दुके डाँडाका दीर्घमान तामाङ बसाइँ सरेर तराई जाने तयारीमा हुनुहुन्थ्यो। बसाइँ सर्न खोज्नुको कारण थियो, छिमेकी सबै बसाइँ सरेर जानु। एक समय जिल्लाकै बाक्लो बस्ती रहेको सो क्षेत्र पछिल्लो समय रित्तिँदै थियो।

सबै बसाइँ सरेर जानुको कारण अवसर र सुविधाको खोजी थियो। दीर्घमान पनि अब कुरुलेमा केही गर्न नसकिने रहेछ भन्ने सोचेर बसाइँ सर्ने निचोडमा पुग्नुभएको थियो। बसाइँ सर्ने तयारी गरिरहँदा केही छिमेकी लोकेन्द्रकुमार याक्खा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारीलगायत छिमेकीसहित एक विदेशी व्यक्तिले दीर्घमानलाई एक योजना सुनाउनुभयो। जसमा कुरुलेमै कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने थियो। बसाइँसराइले उजाड बन्दै गरेको कुरुलेमै केही गर्न सकिन्छ भन्दा सुरुमा उहाँलाई विश्वास नै लागेन तर केही दिनपछि मोरङको याङसिलामा छिमेकीसहित उहाँलाई एउटा तालिममा सहभागी हुने अवसर आयो। जहाँ पर्माकल्चर विधिका बारेमा जानकारी दिइएको थियो। जब यो तालिम उहाँले लिनुभयो, तब उहाँलाई लाग्यो कि बसाइँसराइले उजाडिँदै गरेको कुरुलेमै केही गर्न सकिन्छ। 

यो ठाउँबाट बसाइँ सर्नु हुँदैन भनेर तालिमको व्यवस्था मिलाइदिने तथा कुरुलेमै केही गर्न सकिन्छ भनेर सबैलाई उत्प्रेरण दिने विदेशी व्यक्ति हुनुहुन्थ्यो भारतीय मूलका अमेरिकाका नागरिक राजीव गोयल। “गोयलको उत्प्रेरणा र तालिम पाएपछि कुरुलेमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो, त्यसपछि अहिलेसम्म कुरुलेबाट बसाइँ सर्नु पर्छ जस्तो लाग्नै छाड्यो,” दीर्घमानले भन्नुभयो। 

तालिम लिएपछि २०७३ सालमा गोयलकै सल्लाह अनुसार सबैले तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नुभयो। त्यही कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि अहिले कुरुलेका धेरै व्यक्तिले बसाइँ सर्ने कुरा सोच्न छाडेका छन्। “अमेरिकाका नागरिक गोयलले सिकाएको बाटोमा हिँडेपछि अहिले यहाँका कसैले पनि बसाइँसराइ गरेर जाने कुरा सोच्नै छाडे, सबै आत्मनिर्भर भएका छन्,” तमोर पर्माकल्चरका अध्यक्ष लोकेन्द्रकुमार याक्खाले भन्नुभयो।

अहिले तमोर पर्माकल्चरले कुरुलेको करिब १०३ रोपनी क्षेत्रफलमा विभिन्न जातका स्याउ, आरुबखडा, ओखरलगायत ३५ प्रजातिभन्दा बढी फलफूल लगाइएको छ। नर्सरी पनि गरिएको छ। पहिले केही नहुने कुरुलेको बन्दुके डाँडा अहिले हराभरा भएको छ। विभिन्न फलफूल लटरम्म फलेका छन्। फलफूल र नर्सरीबाट यो वर्ष १५ लाखभन्दा बढी रकम आम्दानी हुने कम्पनीका सञ्चालक गोपीकृष्ण भण्डारी बताउनुहुन्छ। फलफूल र बिरुवा बिक्री गर्न कुनै समस्या नरहेको उहाँहरूको भनाइ छ। कुरुलेमै आएर किनेर लाने गरेका छन्। 

अहिले यही विधि अनुसार कुरुलेमा स्थानीय बासिन्दाले स्याउ फलाएर बिक्री गर्ने गरेका छन्। पहिले पानीको समस्याका कारण तरकारीसमेत हाटबजारबाट खरिद गरेर खाने स्थानीय बासिन्दाले अहिले भने आफैँ उत्पादन गरेर खाने मात्र हैन, बिक्रीसमेत गर्न सुरु गरेका छन्। पहिले बसाइँसराइले उजाड भएको कुरुलेमा अहिले पुनः हराभरा हुन थालेको छ।

त्यसो त गोयलले धनकुटाका लागि गरेको यो नै पहिलो काम भने होइन। सन् २००१ देखि २००३ सम्म शान्ति सेना स्वम्ंसेवकका रूपमा रहँदा पर्यटकीय स्थल नाम्जेमा खानेपानी ल्याउन मद्दत गर्नुभएको थियो। त्यस्तै नाम्जे होमस्टे सञ्चालनका लागि पनि उहाँले सहयोग गर्नुभएको थियो। कुरुलेमा पानीको समस्या र पहाड उजाडिएको देखेर दुःख लाग्ने गरेको थियो। त्यही क्रममा कुरुलेवासीलाई सल्लाह र सुझाव दिएको उहाँ बताउनुहुन्छ। “जलवायु परिवर्तन बाँझो जग्गालगायत धेरै समस्या थिए, स्थानीय बासिन्दा त्यो स्थानमा खेती अभ्यास गर्न सक्षम भएकोमा म धेरै खुसी छु,” गोयलले भन्नुभयो। 

के हो तमोर पर्माकल्चर ?

तमोर पर्माकल्चर एक कम्पनी हो तर यो अन्य कम्पनीभन्दा भिन्न छ। यहाँ भएको नाफा वितरण गरिँदैन। पहिले कम्पनीका लागि खर्च गरिन्छ, बाँकी रहेको रकम यस्तै क्षेत्रका लागि खर्च गरिने कम्पनीका व्यवस्थापक भोजकुमार काफ्लेले बताउनुभयो। “हामी यहाँको नाफा वितरण गर्दैनौँ, केही रकम कम्पनीका लागि खर्च गर्छौं, बाँकी रहेको रकम कुरुले क्षेत्रका लागि खर्च गर्छाैं,” उहाँले भन्नुभयो। यहाँ आएर सिक्न चाहनेका लागि सिकाउनेसमेत व्यवस्था गरिएको छ। कम्पनीका लागि प्राविधिक र आर्थिक सहयोग अहिले पनि गोयल र उहाँको संस्था केटिके बेल्टले उपलब्ध गराउँदै आएको छ।