सधैँको शनिबार आउने पत्रिका आज आएन । उसले हरेक शनिबार प्रमुख तीन वटा दैनिक पत्रिकाहरू लिने गरेको छ । अरू दिन अफिसमै पढ्छ । शनिबार दिनभर घरमै बसेर पढ्नलाई लिने गरेको हो पत्रिका । फेरि शनिबार शनिबारीय परिशिष्टाङ्क पनि आउँछ । खासमा शनिबारीय परिशिष्टाङ्ककै लागि लिने गरेको हो उसले शनिबारको पत्रिका ।
अरू दिन ऊ समाचार खासै पढ्दैन । उसलाई समाचारमा होइन साहित्यमा बढी रुचि छ । अचेल पढ्नलायकका समाचार पनि हुँदैनन् पत्रिकाहरूमा । उही हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार र विसङ्गत राजनीतिका बिरसिला कुरा मात्रै हुन्छन् । जुन समाचार पढेर आनन्द होइन विरक्त मात्रै लाग्छ । विरक्त हुन होइन उत्साहका लागि ऊ पत्रिका पढ्न चाहन्छ । तर उत्साहका कुरा थोरै हुन्छन् पत्रिकाहरूमा । दुःख र निराशाका कुरा धेरै हुन्छन् । त्यसैले ऊ अरू दिनको पत्रिका पढ्ने होइन हेर्ने मात्रै गर्छ । तर शनिबारको शनिबारीय परिशिष्टाङ्क चाहिँ ऊ आद्योपान्त नै पढ्छ । जुन पढेपछि उसलाई पठनको आनन्द महसुस हुन्छ र मनमा उत्साह जाग्छ ।
आजको शनिबार उसले अस्तिदेखि अधीर भएर पर्खेको थियो । एउटा सम्पादकले आजैको अङ्कमा उसको कथा छाप्छु भनेको थियो । आफ्नो छापिएको कथा हेर्न ऊ आतुर थियो । पत्रिका नै नआउँदा खिस्रिक्क त प-यो, उसको पत्रिका पढ्ने अर्थात् हेर्ने आतुरी भने झन् बढ्यो ।
शनिबारको दिन सधैँ चिया खाँदै पत्रिका पढ्ने बानी थियो उसको । आज पत्रिका नआउँदा उसलाई चिया खाने मन पनि भएन ।
‘यो मुला चौलागाईंले पनि के गर्छ के ! आजै आफ्नो कथा छापिन्छ भनेको थियो सम्पादकले । झन् आजै पत्रिका ल्याएन ।’ उसले अलिकति रिसाउँदै स्वगत भन्यो ।
पत्रिका ल्याउनेको नाम चौलागाईं रहेछ । उसले किन ल्याएन पत्रिका उही जानोस् । यता उसको हाल बेहाल भयो । आफ्नो कथा छापिएको पत्रिका हेर्न ऊ हतारियो ।
अब ऊ चिया नखाई पत्रिका लिन चौलागाईंको स्टेसनरीतिर लम्कियो । त्यो स्टेसनरी उसको घरबाट पाँच सात मिनेटको बाटोमा छ । त्यसलाई चोक भन्छन् सबैले । चोकमा धेरैथरीका मान्छे भेला हुन्छन् । साथीभाइ भेट्नेहरू । गफगाफ गर्नेहरू । स्टेसनरीमा बसेर घण्टौँ पत्रिका पढ्नेहरू । पत्रिकामा छापिएको समाचारलाई लिएर तर्क–बितर्क गर्नेहरू । राजनीतिक पक्ष र विपक्षमा वादविवाद गर्नेहरू । देशमा बढ्दै गएको हत्या, हिंसा, भ्रष्टाचार र महँगीप्रति चिन्ता व्यक्त गर्नेहरू । ठेका–पट्टाका कुरा गर्नेहरू । व्यापार–व्यवसायका कुरा गर्नेहरू । मायाप्रीतिका कुरा गर्नेहरू । पढाइका कुरा गर्नेहरू । जागिरका कुरा गर्नेहरू । वैदेशिक रोजगारीका कुरा गर्नेहरू । सहरमा बाँच्नै गाह्रो भयो भनेर दुःखेसो पोख्नेहरू । कसलाई कसरी ठग्ने भनेर सोच्नेहरू । कोही कोही वडा र टोलको विकास कसरी गर्ने भनेर सल्लाह गर्नेहरू । अनि कोही कोही चाहिँ घुस कसरी खाने र सम्पत्ति कसरी जोड्ने भनेर जुक्ति खोज्नेहरू । यस्तो गर्ने चाहिँ सरकारी कर्मचारी हुन् ।
बाटोमा भेटियो मालपोतको नासु । भन्यो, ‘ओहो लेखक मित्र ! सन्चै ?’
‘अँ, सन्चै । अनि आफूलाई ।’ उसले हतारिँदै भन्यो ।
‘मलाई पनि सन्चै । अनि अचेल कतातिर हो नि ?’ नासुले भन्यो ।
‘कहाँ हुनु, त्यहीँ नै त हो नि ।’ उसले भन्यो ।
नासुले के बुझ्यो कुन्नि । फिसिक्क हाँस्यो मात्रै ।
ऊ हिँड्यो । नासु पनि हिँड्यो । नासुले सोधेको थियो– तपाईं कुन पार्टीतिर । तर उसले नबुझेर अथवा बुझेर पनि बुझ पचाएर त्यसो भनेको हुनुपर्छ ।
चुनाव आउँदैछ । साँझ बिहान बाटोमा, टोलमा, चोकमा मान्छेको झुन्ड देखिन्छन् चुनावकै कुरा गरिरहेका । टिकट र उम्मेदवारका कुरा गरिरहेका । जित र हारको कुरा गरिरहेका । विकास र समृद्धिको कुरा गरिरहेका । आशा, भरोसा र सपनाका कुरा गरिरहेका ।
चोकैपिच्छे निर्वाचनलक्षित पार्टी अफिसहरू पनि खुलेका छन् । तर बिहानै भएकाले त्यहाँ पार्टीका धेरै मान्छे चाहिँ भेला भइसकेका छैनन् । दुई तीन जना कार्यकर्ता बेन्चीमा बसेर गफ गर्दैछन् । उनीहरू एउटै पार्टीका मान्छे हुनुपर्छ । त्यसैले उनीहरूको स्वर सानो छ । फरक पार्टीका मान्छे भए स्वर अलि चर्को हुन्छ । कहिलेकाहीँ त वादविवादै पनि हुन्छ ।
मान्छेका झुन्ड र पार्टी अफिसमा हल्लिरहेको झन्डालाई पनि वास्ता नगरी ऊ हिँड्दै थियो । अलि पर पुग्नासाथ सिमेन्ट पसले भेटियो । भन्यो, ‘ओहो लेखकज्यू । अचेल त भेटघाटै छैन त ?’
उसले अलि घोसेमुन्टो लाएर भन्यो, ‘यस्तै हो । तपाईं आफ्नो कामतिर म आफ्नो कामतिर । अनि कसरी हुन्छ भेट ।’
‘एक चोटि भेट्नुपर्ने थियो तपाईंसँग ।’ पसलेले भन्यो ।
ऊ झस्क्यो । घर बनाउँदा उसैकहाँबाट सिमेन्ट लिएको थियो । अलि अलि उधारो तिर्न बाँकी थियो । त्यही कुरा भन्न लागेको ठानेर ऊ ‘भेटौँला नि’ भन्दै त्यहाँबाट उम्किन खोज्यो ।
पसलेले आफ्नो कुरा भन्न छोडेर हातको इसारामा भन्यो, ‘कतातिर हो ?’
उसले दायाँबायाँ केही नसोची भन्यो, ‘चोकसम्म ।’
पसले पनि उसैगरी फिसिक्क हाँस्यो, जसरी अघि मालपोतको नासु हाँसेको थियो । पसलेले अर्कै कुरा सोधेको थियो, जस्तो कि तपाईं कुन पार्टीतिर ?
ऊ त्यो हाँसोको मतलब नगरी सरासर हिँड्यो । खासमा उसलाई उम्किनु थियो । त्यसैले ऊ उम्कियो । नत्र पसलेले पुरानो हिसाबकिताबका कुरा कोट्याउन थाल्थ्यो । बिहानै उसलाई बेइज्जत महसुस गराउँथ्यो । अनि पत्रिकामा छापिएको आफ्नै कथा पढेर अथवा हेरेर आफैँ खुसी हुने उसको उत्साह नै सेलाउँथ्यो अथवा हराउँथ्यो ।
बाटोमा झुन्ड–झुन्ड मान्छेहरू चुनावका कुरा गर्दै थिए । काम भएका मान्छेहरू । काम नभएका मान्छेहरू । अनि काम भएर पनि काम छोडेर गफ सुन्न त्यहाँ भेला भएका थिए धेरै मान्छेहरू । गफ सुन्न मजा नै हुन्छ । तर गफले मात्रै पेट भरिन्न । यो कुरा बिर्सेका छन् त्यहाँ भेला भएका मान्छेले । गफैँले मात्रै हुने भए नेताहरूले समृद्धिका धेरै ठुल्ठुला गफ हाँकिसकेका छन् । यतिखेरसम्म देश सम्पन्न र समृद्धशाली बनिसक्नुपर्ने थियो । देशमा कोही पनि गरिब र भोका– नाङ्गा बाँकी नरहनुपर्ने थियो । तर स्थिति त्यस्तो बनेको छैन । बरु गरिबलाई सधैँ गरिब बनाएर विदेशीसँग मागी खाने भाँडो बनाएका छन् देशका नेताहरूले । भ्रष्ट नेता र घुस्याहा कर्मचारी मात्रै अकुत सम्पत्तिका मालिक बनेका छन् हाम्रो देशमा । गरिबलाई त बाँच्ने आधार नै थोरै छ । बाँच्ने आशा नै थोरै छ र बाँच्ने फुर्सद पनि थोरै छ । जोतिनुपर्छ खालि काममा अनि काममा ।
हिँड्दै गर्दा ठाउँ ठाउँमा उसले सुन्यो– कोही पुरानैतिर । कोही नयाँतिर । कोही पार्टीतिर । कोही स्वतन्त्रतिर । कोही बागीतिर । कोही तटस्थ । यस्तै यस्तै कुरा भइरहेको सुन्यो उसले । के कतातिर र को कतातिर भनेको हो उसले मेसो पाएन । बुझ्ने चासो पनि राखेन उसले । ऊ कतै नहेरी स्टेसनरीतिरै लमकलमक लम्कियो । सायद उसले चुनाव नजिकै आइरहेको बिर्सेको थियो अथवा त्यसलाई बेवास्ता गरेको थियो । यसो त राजनीतिमा कम चासो भएको मान्छे हो ऊ ।
भिडको माझमा एउटा पाको पाको मान्छे आव्रmोशित भएर कराउँदै थियो– किन हाल्ने भोट यी लुच्चा, फटाहाहरूलाई ? काम केही गर्ने होइनन् । सब देशलाई लुट्ने लुटेरा हुन् । आज भोट दियो, भोलि आफैँलाई दुःख दिन्छन् । किन दिने यस्ता कृतघ्नहरूलाई भोट ?
अर्को मान्छे भन्दै थियो– मोल तोक्ने र तोकिनेहरू अहिले जस्तै पहिल्यै मिलेको भए नेपाली छोराछोरीहरू अहिले कि रोइरहेका हुन्थे कि हाँसिरहेका हुन्थे । तर कमसेकम बाँचिरहेका हुन्थे ।
भिडको आवाज सुनेर पनि ऊ बेवास्तापूर्वक हिँड्यो । जाँदाजाँदै उसको जम्काभेट हातमा पत्रिका बोकेर आइरहेको एउटा मान्छेसित भयो । ऊ थियो टोलको सानोतिनो नेता । राजनीतिको गफ दिन र नेताहरूसँगको उठबसको धाक लाउन ऊ खप्पिस थियो ।
‘ल बधाई छ लेखकज्यू । आज तपाईंको कथा छापिएको रै’छ,’ उसले हातको पत्रिका देखाउँदै भन्यो ।
‘धन्यवाद ।’ पत्रिका हेर्ने आतुरीले ऊ हतारियो ।
‘कहाँ जान यस्तो हतारिएको लेखकज्यू ? यसो एकछिन बसेर चिया खाँदै गफ गरौँन ।’ सानोतिनो नेताले भन्यो ।
ऊ बोल्न सकेन । यसै लकपकायो मात्रै ।
‘अनि अचेल कतातिकर हो तपाईं ? हामीले त आफ्नै ठानेका छौँ है तपाईंलाई ।’ सानोतिनो नेताले मुस्कुराउँदै भन्यो ।
‘कता हुनु नि । पहिले जहाँ हो अहिले पनि त्यहीँ हो ।’ उसले केही नसोचेर हिँड्न खोज्दै भन्यो ।
सानोतिनो नेताले के बुझ्यो कुन्नि । वाल्ल परेर उसलाई हेरिरह्यो । त्यसले आफूले सोधेको प्रश्नको उत्तर पाएको थिएन ।
पत्रिका देखाएर उसको आतुरी झनै बढाइदिएको थियो त्यो सानोतिनो नेताले । ऊ हतारिँदै दायाँ बायाँ पनि नहेरी हिँड्यो ।
बाटैमा एउटा चिया प्लस भट्टीपसल छ । जहाँ बिहान नास्तासँगै तातो चिया र बेलुकी सित्तनसँगै चिसो चिया (रक्सी) खान पाइन्छ । त्यो चिया प्लस भट्टीपसल स्थानीय नेता, कार्यकर्ता, कर्मचारी, शिक्षक, व्यापारी, ठेकेदार आदि इत्यादिको गफ लडाउने अखडा बनेको छ । यसो त त्यहाँ साउनीको एक मृदु मुस्कानका लागि एक कप चिया खाएर घण्टौँ बस्नेहरू पनि छन् । अनि एक पटक साउनीको आनन्ददायक स्पर्शसुखका लागि धेरै गिलास रक्सी खाएर राति अबेरसम्म बस्नेहरू पनि छन् ।
त्यो चियापसलमा राजनीतिको कुरा हुन्छ । व्यापारको कुरा हुन्छ । जागिरको कुरा हुन्छ । कसले कति घुस खायो भन्ने कुरा हुन्छ । कसले घुस खान सकेन भन्ने कुरा पनि हुन्छ । अलि अलि देशको गरिबी र बेरोजगारीको पनि कुरा हुन्छ । देश श्रीलङ्कापथमा उन्मुख भएको कुरा हुन्छ र सोमालिया बन्ने कुरा पनि हुन्छ । अनि कसकी स्वास्नी राम्री भन्ने कुरा पनि हुन्छ । कसकी छोरी तरुनी भई भन्ने कुरा पनि हुन्छ । कसले कसकी स्वास्नीमाथि आँखा लायो भन्ने कुरा हुन्छ । कसले कसकी छोरीमाथि आँखा लायो भन्ने कुरा पनि हुन्छ । कसले कसलाई पट्यायो, कसले कसलाई उडायो र कसले कसलाई लुटपुट्यायो भन्ने कुरा पनि हुन्छ । सबभन्दा बढी चाहिँ समसामयिक राजनीतिको चर्को बहस हुन्छ । कहिलेकाहीँ दुई राजनीतिक पक्षका बिच झगडा नै पनि हुन खोज्छ । जेहोस् तमासा हेर्न पाइन्छ, त्यो चिया प्लस भट्टीपसलमा ।
आज पनि टन्नै थिए मान्छेहरू । कसैका हातमा चियाको गिलास थिए । कसैका हातमा चाहिँ चुरोट । चियाको चुस्की तान्दै र चुरोटको कालो धुवाँ उडाउँदै मच्चीमच्ची गफिरहेका थिए मान्छेहरू । त्यसमा पनि स्थानीय नेताको स्वर चर्को थियो । ऊ आसन्न निर्वाचनका बारेमा बोल्दै थियो र आफ्नो राजनीतिक विद्वत्ता छाँट्दै थियो ।
‘ऊ.. लेखकज्यू आउनुभयो ।’ कसैले ऊतिर औँल्याएर भन्यो ।
‘आउनुस् लेखकज्यू, चिया खाऔँ ।’ अर्को एक जनाले उसलाई डाक्यो । उसलाई चिया अफर गर्दै डाक्ने चाहिँ एक जना मास्टर थियो ।
‘हो हो आउनुस् । आज एकछिन यसो बसेर चिया खाँदै गफ गरौँ । कति कोठामा बसेर साहित्यको मात्रै चिन्तन गर्नुहुन्छ । कहिलेकाहीँ राजनीतिको पनि चिन्तन गर्नुपर्छ । कति घरमै मात्र बस्नुहुन्छ ? टोल छिमेकीलाई चिन्नै बिर्सिनु होला भन्ने डर पनि भइसक्यो ।’ अर्को एकजनाले ठट्टा गर्दै भन्यो ।
ठट्टालाई पनि उसले गम्भीर रूपमा लियो । उसको स्वभाव नै गम्भीर प्रकृतिको थियो अर्थात् छ ।
अब उसले त्यहाँ एकछिन नरोकी सुखै पाएन । ऊ मान्छेहरूको नजिक गयो । एक जनाले हतपत्त एउटा मुढा ऊसामु तेस्र्याइदियो सम्मानपूर्वक । ऊ त्यो सम्मानप्रति कृतकृत्य भयो । मुढा तेस्र्याउनेप्रति आभार प्रकट गर्दै त्यसैमा टुसुक्क बस्यो । तर उसको मन भने घरी घरी चौलागाईंको स्टेसनरीमा पुगिरह्यो ।
कसैले उसका लागि चिया अर्डर ग¥यो । उसले भो पर्दैन पनि भन्न सकेन । किनभने उसले चिया खाएकै थिएन ।
चिया आयो । उसले चिया लियो । एक घुट्को तातो चिया सुरुप्प पा¥यो । कात्तिक महिनाको मन्दमन्द चिसोमा तात्तातो चियाले शरीरभित्र आनन्दको सञ्चार भयो ।
अब ऊ मनको आतुरी बिर्सेर चियागफ सुन्न थाल्यो । सुन्नुपर्ने र नपर्ने सबै कुरा सुन्न थाल्यो अर्थात् सुन्नुप¥यो उसले । उसले अब कमसेकम चिया खाइ नसकुन्जेल भए पनि त्यो चियागफ सुन्नुपर्नेछ । चियागफ सुन्न ऊ मानसिक रूपमा तयार पनि भइसकेको छ । यसरी नै चियागफ गरेर कति मान्छेले समय खेर फाल्छन् होला ? ऊ मनमनै सोचमग्न भयो । सोच्दासोच्दै उसलाई फेरि पत्रिकाको सम्झना भयो । उसको मनको आतुरी फेरि बढ्न थाल्यो ।
उसलाई चिया अफर गर्ने मास्टरले नै फेरि कुराको सिलसिला जोड्यो । मास्टरले रुचिपूर्वक भन्यो, ‘साँच्चि, यहाँका किताबहरू कति वटा पुगे ?’ धन्न उसले राजनीतिक विषयबाट कुरा सुरु गरेन । नत्र उसलाई सुन्ने धैर्य नै हुँदैनथ्यो सायद ।
उसले अरूचिपूर्वक भन्यो, ‘राजनीतिको माहोल बनिरा’को बेलामा किताबका कुरा के गर्नु ! बरु यहाँहरू के कुरा गर्दै हुुनुहुन्थ्यो ? मैले गर्दा कुराको सिलसिला नै टुटेजस्तो भयो ।’
‘मौसम राजनीतिको छ । चुनाव नजिकिँदैछ । त्यसैले हामी राजनीतिकै कुरा गर्दै थियौँ अर्थात् चुनावको ।’ स्थानीय नेताले सन्दर्भ जोड्दै भन्यो, ‘साँच्चि यहाँ अचेल कतातिर हो ?’
‘कता हुनु र । हिजो जहाँ थिएँ आज पनि त्यहीँ छु ।’ उसले चियाको घुट्को निल्दै भन्यो ।
उसको कुरा सुनेर चियापसलको भिड गललल हाँस्यो । गल्ती बोलेँ कि भनेर ऊ सजग भयो ।
‘लेखकज्यू पनि साह्रै सिधासाधा बन्न खोज्नुहुन्छ भन्या । ठट्टा पो गर्नुभा’को हो कि ? नेताज्यूले तपाईं अचेल कुन पार्टीतिर हो भन्नुभा’को ?’ मास्टरले कुरा बुझाउन खोज्दै भन्यो । मास्टरको कुरा सुनेर ऊ एकछिन चुप लाग्यो । अनि अघि आफ्नो कुरा सुनेर त्यो नासु, सिमेन्ट पसले र सानोतिनो नेता हाँसेको सम्झ्यो । कुरो बुझेपछि एक पटक ऊ आफैँ फिस्स हाँस्यो ।
‘यता न उता । कता न कता । म त तटस्थ पो छु त ।’ उसले पुलुक्क त्यो नेताको मुख हेरेर भन्यो ।
‘यसरी त कहाँ हुन्छ लेखकज्यू । हजुरजस्तो मान्छेले यस्तो भन्न सुहाउँदैन है । लेखक भनेका स्रष्टा र द्रष्टा दुवै हुन् । सही र गलत छुट्याउनसक्ने विवेकशील हुन्छन् लेखकहरू । कुनै एकतिर त हुनैपर्छ तपाईं जस्ता मान्छे । पार्टीलाई तपाईं जस्तो मान्छेको खाँचो पनि त छ ।’ पार्टीको एउटा खाँट्टी कार्यकर्ताले बुज्रुक पल्टिएर बुरुक्क उफ्रुँला झैँ गरी फुरुक्क परेर भन्यो ।
‘हाम्रासामु दुईथरी मान्छे छन् अर्थात् पार्टी छन् । एक, हामीलाई दुःख दिने र अर्को, भोलि हामीलाई सुख दिन्छु भन्ने । हिजो हामीलाई दिनुसम्म दुःख दिने र भोलि सुख दिन्छु भनेर वाचा गर्नेहरू आज एकै ठाउँमा मिलेका छन् । मूल्य तोक्ने र तोकिनेहरू पनि एकै ठाउँमा मिलेका छन् । यो अकल्पनीय र अविश्वसनीय परिस्थितिमा आफू चाहिँ कतातिरको भन्ने ? झुटो सपना र आश्वासन बाँड्नेतिर ? म त दोधारमा पो छु ।’
‘निर्वाचन नजिकिँदै गर्दा पार्टीका मान्छेहरू अझ बढी सव्रिmय बनेका होलान् । बुझ्नैपर्ने एउटा महìवपूर्ण कुरा के हो भने निर्वाचन भनेको केवल आफ्ना प्रतिनिधि चुन्ने औपचारिक प्रणाली मात्र होइन, जनताको औकात र विवेकको मापन गर्ने सूचक पनि हो । देश र जनताको भाग्य र भविष्य निर्धारण गर्ने अवसर पनि हो । देशमा भ्रष्टाचार मौलाएको छ । विकासको गति मन्द छ । जनताको दैनिकी कष्टकर छ । यो स्थितिलाई हेर्दा देश बिचौलियाहरूको निगाहा र इसारामा चलिरहेको आभास हुन्छ । यस्तो उकुसमुकुसबाट मुक्ति दिलाउने र यसको निकास दिने अस्त्र हो निर्वाचन । यस्तो बेलामा पार्टी भनेर मात्र बस्नु हुँदैन ।’ उसले आफ्नो विचारसँगसँगै विद्वत्ता पनि छाँट्यो । सुन्नेहरूले सुनि मात्रै रहे । कसैले केही बोल्न सकेनन् । खाँट्टी कार्यकर्ताले वाल्ल परेर उसलाई हेरि मात्रै रह्यो । यस्तो बेलामा के बोल्नुपर्छ भन्ने उसको मनमा केही आएन ।
उसले थप भन्दै गयो, ‘भिन्न उद्देश्य र भिन्न सिद्धान्तका राजनीतिक पार्टीहरूका बिच ‘गठबन्धन भा’को छ । गठबन्धनलाई देशको आवश्यकता हो भन्दैछन् ठूला भनिएका वा ठानिएका नेताहरू । अनि लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि हो पनि भन्दैछन् । कसको आवश्यकता हो गठबन्धन र केको रक्षाका लागि हो गठबन्धन, त्यो तपाईं–हामीले नबुझेको कहाँ हो र ! देशको सीमा मिचिएको र नागरिक थिचिएको अनि मानिसको बाँच्ने अधिकार नै किचिएको मुद्दाभन्दा गठबन्धन किन यति धेरै महìवको भएको छ भन्ने कुरा सारालाई थाहा छ । हो, हिजो लोकतन्त्रका लागि लड्न सबै पार्टी मिलेका थिए । त्यो ठीक थियो । अहिले चाहिँ केका लागि मिलेका छन् । यो ठीक होइन । यस्तो स्वार्थप्रेरित एवं घातक गठबन्धनको बेलामा सही र गलत छुट्याउनेहरू मात्रै होइन, सही र गलत आफैँ अन्योलमा परेका छन्, भ्रममा परेका छन् । यस्तो बेला कतातिर लाग्नु खोइ ?’
‘त्यस्तो भनेर हुन्न नि । फेरि तपाईं त लेखक–साहित्यकार मान्छे । तपाईंलाई प्राज्ञस्राज्ञ बन्ने रहर पनि त होला नि । प्राज्ञ बन्नु सानो कुरा होइन । यसका लागि पनि त कुनै एउटा पार्टीको मद्दत चाहिएला नि । आफ्नो पार्टी सरकारमा पुग्यो भने त प्राज्ञ हुने पक्का हुन्छ नि तपाईंको ।’ नेताले अलिकति हरियो घाँस फ्याँक्यो ऊतिर ।
तर ऊ लोभिइहालेन । गम्भीर भएर स्वगत भन्यो, ‘हरियो घाँसको लोभमा पर्दा गर्दन छिन्ने डर हुन्छ ।’
चियासभा एकछिन मौन भयो । ती मौन अनुहारहरूमा उसले धूर्त ब्वाँसाहरूलाई देख्यो । अनि मनमनै भयभीत पनि भयो । अब उसलाई त्यहाँ बसिरहनु उचित लागेन । ऊ उठ्यो र हिँड्यो चौलागाईंको स्टेसनरीतिर, जहाँ जानका लागि भनेर ऊ घरबाट हिँडेको थियो ।
पत्रिका ल्याएर आफ्नै कथा छापिएको रङ्गीन पेज धीत मरुन्जेल पढ्यो अर्थात् हे¥यो ।
पत्रिका पढ्ने अर्थात् हेर्ने धीत मरिसकेपछि पत्रिका टेबुलमा राखेर उसले बिहानको चिया प्लस भट्टीपसलको चियागफ सम्झ्यो र स्वगत भन्यो, ‘साँच्चै म कतातिर ?’
त्यही बेलामा ऊ झल्याँस्स भयो र सम्झ्यो भर्खरै प्राज्ञ परिषद् रिक्त भएको कुरा ।अब चाहिँ ऊ कतातिर लाग्ने भनेर सोच्दै बस्यो ।