• १४ मंसिर २०८१, शुक्रबार

बिक्दैनन् वीरबहादुरका बिरुवा

blog

तिलाचन पाण्डे

तम्घास, असार १० गते  । राजनीतिसँगै कृषि पेसामा पनि क्रियाशील वीरबहादुर कार्की आफ्नै नर्सरीमा उत्पादन भएका बिरुवाले बजार नपाउँदा चिन्तित हुनुहुन्छ । 

जिल्लाको सदरमुकाम तम्घासअन्तर्गत रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किवी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवाले बजार पाउन सकेका छैनन् । ५६ वर्षीय कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीलगायत कृषिसँग सम्बन्धित कार्यालय, जिल्लास्थित स्थानीय तहले सुन्तला र कागतीलगायतका बिरुवा खरिद गरेर किसानलाई वितरण गरे पनि यी कार्यालयले बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएका छन् । जसका कारण गुल्मीमा भएका नर्सरीका बिरुवा वितरण हुन सकेका छैनन् ।

यता कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले गत वर्ष पनि किसानलाई उक्त नर्सरीबाट बिरुवा लानका लागि सिफारिस गरेको दाबी गर्नुभएको छ । 

उहाँले कृषकलाई कार्यालयबाट प्रदान गरिने सेवामा कुनै कमजोरी नहुने बताउनुभयो । किसानलाई गुणस्तरीय बिरुवा उत्पादन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्कीसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य एक हजारभन्दा बढी बिरुवा रहेका छन् । कार्कीले सुन्तला प्रतिबिरुवा २३, कागती प्रतिबिरुवा २५, टिमुर प्रतिबिरुवा ६०, किवी प्रतिबिरुवा १५० र अम्बा प्रतिबिरुवा ५० रुपियाँमा बिक्री गर्दै आउनुभएको छ । 

कार्कीले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गर्नुभएको छ । जसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा लिजमा लिएर नर्सरी गर्दै आउनुभएको छ ।