• ६ जेठ २०८१, आइतबार

इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग

blog

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित सांसद । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ८ गते । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएको छ ।

सांसद खतिवडाले पहाडी जिल्लाहरुमा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा वृहत् रुपमा पहिरो जानेक्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताउनुभएको हो ।

सांसद खतिवडाले भन्नुभयो, ‘‘अहिले डोजर ड्राईभर आफैँ नै इन्जिनियर भएर बाटो खन्दाको परिणाम व्यापी रुपमा यो समस्या आएको छ । त्यो बारे पनि सरकारको ध्यान जाओस् भनेर अनुरोध गर्न चाहन्छु । साथै जति नेपाल सरकारले ठेक्कापट्टाबाट काम लगाउँछ । लगाएका कामहरु समयमा ठेकदारले पूरा नगर्दा आषाढ आएपछि खोर्सिन जाने, खन्ने अनि पुर्ने काम भएकाले पहाडी क्षेत्रमा बाढीको प्रकोप, पहिरोको प्रकोप बढेको हुँदा सरकारको त्यतातिर ध्यान जाओस् भनेर अनुरोध गरेँ सभामुख महोदय । ती विस्थापित ठाउँहरुमा सरकारले चाँडोभन्दा चाँडो राहत पुर्‍याउने र ती विस्थापितहरुलाई स्थापन गर्ने आवश्यक व्यवस्था गरोस भनेर अनुरोध गर्न चाहन्छु ।’’

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले डोजर ड्राईभर आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेर गएकाले त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

‘‘हिजो राति अविरल वर्षाका कारणले ओखलढुङ्गाका चम्पादेवी ८ बिलन्दुमा धामखर्क भन्ने ठाउँबाट पहिरो गएर एकैघरका चार जना रणबहादुर गुरुङ, उहाँकी श्रीमति शिवमाया गुरुङ, छोरी दिनेश गुरुङ र १५ महिनाकी छोरी कृतिमा गुरुङको मृत्यु भएको छ । त्यहाँ धेरैठूलो खेलबारीको नष्ट भएको छ भने धेरै गाईबस्तु त्यहाँबाट हराई रहेका छन् । सयौं विग्गा खेत बगाएर लगेको छ ।,’’ सांसद खतिवडाले भन्नुभयो, ‘‘सरकारले द्रूततर रुपमा विस्थापित हुन लागेको त्यो गाउँलाई बसोबासको व्यवस्था गर्नका लागि म पहल गर्न म माननीय मन्त्रीज्यूहरुलाई अनुरोध गर्न चाहन्छु सभामुख महोदय । यतिमात्रै होइन । समयमा रोडहरुको निर्माण नहुँदा र बाटो बनाउने नाममा जहाँ पायो त्यही इन्जिनियर इष्टिमेटविना बाटो निर्माण गर्ने कामले गर्दा पहिरो जाने समस्या वृहत् रुपमा आएको छ ।’’

सांसद खतिवडाले वर्षातकै कारण पहिरोको जोखिममा परेका ओखलढुङ्गा बिलन्दुका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पहिरोले बगाउँदा सो गाउँका रणबहादुर गुरुङ र उनका परिवारका अन्य तीन जना सदस्यको ज्यान गएको छ । सो घटनाका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सांसद खतिवडाले सो ठाउँमा उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनुभयो । सांसद खतिवडाले वर्षात् सुरु भएपछि सडक खन्ने र पूर्ने काम नगर्न पनि सरकारसँग आग्रह गर्नु भयो ।