• १४ मंसिर २०८१, शुक्रबार

नीति तथा कार्यक्रममा स्थानीय तह

गोठदेखि ओठसम्मका कार्यक्रम सार्वजनिक

blog

लुम्बिनी प्रदेश ब्युरो 

रुपन्देही, असार ८  गते । विभिन्न लोकप्रिय कार्यक्रमहरू समेटेर लुम्बिनी प्रदेशका स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। हालसम्म लुम्बिनीका दुई उपमहानगरपालिका, एक नगरपालिका र  केही गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

बुटवल उपमहानगरपालिका रुपन्देही, घोराही उपमहानगरपालिका दाङ, रेसुङ्गा नगरपालिका गुल्मी तथा गुल्मीका केही गाउँपालिकाले हालसम्म नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नीति तथा कार्यक्रममा स्थानीय तहले केही नयाँ र लोकप्रिय कार्यक्रमहरू समावेश गरेका छन्। रात्रिकालीन बजार सञ्चालन गर्ने, अविवाहित ४० वर्ष नाघेका महिला र ४५ वर्ष उमेर नाघेका  पुरुषलाई भत्ता उपलब्ध गराउने, किसानलाई मोबाइलबाटै सूचना उपलब्ध गराउनेदेखि बाँदर धपाउनेलगायतका कार्यक्रमहरू समावेश गरिएका छन्।  

बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुटवल उपमहानगरपालिकाको १३ औँ नगर सभा अधिवेशनमा बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेस गर्नुभयो। ३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलालाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलको प्रवर्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलका रूपमा विकसित गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने उल्लेख छ। ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने दीर्घकालीन सोचलाई अगाडि सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने विषय समेटिएका छन्। 

शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अवलम्बन गरिने प्रमुख पाण्डेयले उल्लेख गर्नुभएको छ। 

शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरू र अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङको अध्ययन सुरु गर्ने नीति बुटवलले ल्याएको छ। नगर प्रमुख पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। 

यस्तै बुटवल १३ र १७ मा १५/१५ श्ययाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो। बुटवलवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, ज्येष्ट नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगर प्रमुख कार्यक्रम ल्याएको प्रमुख पाण्डेयले बताउनुभयो। बुटवलमा इरिक्सा र टेम्पुधनी तथा चालक रहेका एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र महिला सवारीधनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने नीति बुटवलले ल्याएको छ। लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नान घर, निःशुल्क वाइफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधा सम्पन्न बसपार्कका रूपमा विकास गर्ने कार्यक्रमलाई बुटवलले प्राथमिकतामा राखेको छ। 

किसानलाई मोबाइलबाटै जानकारी

घोराही उपमहानगरपालिकाले पनि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा मोबाइल एपदेखि स्थानीय उत्पादनको ब्रान्डिङ गर्नेसम्मका योजना लिइएको छ। सूचना प्रविधिको माध्यमबाट कृषकलाई कृषिसम्बन्धी सूचना उपलब्ध गराउन तथा कृषकका समस्या समाधान गर्नका लागि कृषि मोबाइल एपदेखि स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने नीति कार्यक्रम अघि सारिएको छ। घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि नीति कार्यक्रममार्फत कृषि मोबाइल एपदेखि स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने कार्यलाई अघि सारेको छ। नगर प्रमुख नरुलाल चौधरीले नगरको १३ औँ अधिवेशनमा नीति कार्यक्रम प्रस्तुत गर्दै यसबारेमा जानकारी गराउनुभएको हो। 

घोराही उपमहानगरपालिकाले नीति कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ।  जस अन्तर्गत कृषि क्षेत्र समृद्धिका लागि मुख्य आधार रहेकाले खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन तथा तरकारीमा आत्मनिर्भर हुने गरी मूल बिउ तथा उन्नत बिउ (धान, गहुँ, मकै, तोरी, मसुरो, प्याज र आलु) मा कृषकलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिइने, माटोको गुणस्तर ह्रास हुन नदिन माटो परीक्षण गरी गुणस्तर सुधारलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको छ। 

त्यसै गरी प्राङ्गारिक मल तथा अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिने, मौसमी तरकारी उत्पादन बढी भई किसानले उचित मूल्य नपाई खेतबारीमा नै तरकारी फाल्नुपर्ने समस्यालाई समाधान गर्न कोल्ड स्टोरमा भण्डारण गर्न प्रोत्साहन गरिने कुरा उल्लेख गरिएको छ। दाङको पहिचानका रूपमा रहेको स्थानीय तोरी र महको उत्पादन बढाउन तोरी खेतीमा सिँचाइका लागि अनुदान तथा तोरीको तेल, बेसार र महको ब्रान्डिङ तथा लेबलिङमा अनुदानको व्यवस्था गरिने नगर प्रमुख नरुलाल चौधरीले प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी उहाँले तीन वर्षभित्र घोराहीलाई दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराइने, स्वस्थ पशु स्वच्छ उत्पादन अन्तर्गत पशु उपचार, आवधिक तथा आकस्मिक पशु स्वास्थ्य शिविर र डोर टु डोर जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने, गोठदेखि ओठसम्म स्वच्छ उत्पादन उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई ध्यान दिँदै पशुमा लाग्ने रोगको निदान पालिकामा नै गर्नका लागि डिस्पेन्सरीसहितको प्रयोगशाला सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

यसैबिच दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट बनाउने चटारो रहेको छ। सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाले पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिएर असार ५ गते नीति तथा कार्यक्रम ल्याएको छ। सोही नीति तथा कार्यक्रमको आधारमा जनताको मन छुने गरी असार १० गते बजेट ल्याउने तयारीमा रहेको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो। मुसीकोट नगरपालिकाले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरेको छ। नगरले रोजगारी, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको नगर प्रमुख जीवन खरेलले जानकारी दिनुभयो।

मालिका गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, रोजगार र पूर्वाधारलाई प्राथमिकता दिएर असार ६ गते नीति तथा कार्यक्रम ल्याएको छ। मदाने गाउँपालिकाले असार ९ मा नीति तथा कार्यक्रम ल्याउने र १० गते बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो। पालिकाले कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरेको उहाँले बताउनुभयो। इश्मा गाउँपालिकाले असार ५ गते नीति तथा कार्यक्रम ल्याएको छ। पालिकाले खानेपानी, शिक्षा र पर्यटनलाई जोड दिएको छ। धुर्कोट गाउँपालिकाले असार ६ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिई जसको माध्यमबाट रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिएको छ।

निर्वाह भत्ताको व्यवस्था

गुल्मीदरबार गाउँपालिकाले असार ७ गते  प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाभित्र ४० वर्ष नाघेका अविवाहित महिला, ४५ वर्ष कटेका पुरुषलाई निर्वाह भत्ता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। उनीहरूलाई एकल भएको महसुस नगराउन र स्थानीय सरकार साथमा रहेको अनुभूति दिनका लागि यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो। यसका साथै कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको उहाँको भनाइ छ।

छत्रकोट गाउँपालिकाले असार ५ गते ल्याएको नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिएको छ। गाउँमै मझौला आकारका उद्योगहरू खोल्ने र उत्पादनलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ। यसका साथै पर्यटनलाई प्राथमिकताका साथ राखेको बताउँदै घुम्न जाउँ छत्रकोट कार्यक्रमलाई अभियानका रूपमै सञ्चालन गर्ने नीति लिएको पालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो। बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गरेर हैरान बनाएको भन्दै बाँदरलाई जङ्गलमै भुलाउन स्कुस जस्ता फलफूल रोप्ने नीति लिएको पाण्डेको भनाइ छ।

कोखदेखि शोकसम्मको कार्यक्रम

कालीगण्डकी गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोखदेखि शोकसम्मको कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको पालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो। उहाँले बच्चाहरू गर्भमा रहँदादेखिबाटै बच्चाको वृद्धि विकासमा सहयोग पुग्ने गरी उपाध्यक्ष कोशेली कार्यक्रममार्फत कोखबाटै तेजिला र फुर्तिला बनून् भन्ने उद्देश्यका साथ यस्तो नीति लिएको बताउनुभयो। मानवको शोकमा समेत पालिका साथमै रहने नीतिलाई अवलम्बन गर्नका लागि मृतकको अन्त्येष्टिसम्म पनि सहयोग गर्ने नीति लिएको उहाँको भनाइ छ। यस्तै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको थापाले बताउनुभयो।

(छविलाल पाण्डे, तिलाचन पाण्डे र लीलाधर वलीको सहयोगमा)