• १३ पुस २०८१, शनिबार

सामुदायिक विद्यालयका अधिकांश बालबालिका कुपोषित

blog

आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाको तौल लिनुहुँदै विद्यालय नर्स कोइराला । तस्विर : यादवराज पुरी ।

यादवराज पुरी

रौतहट, असार ७ गते । रौतहटको एक सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययन गर्ने अधिकांश बालबालिकामा कुपोषण देखिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा छ सम्म अध्ययन गर्ने बालबालिकामा कुपोषण देखिएको हो । 

विद्यालय स्टाफ नर्स निशा कोइरालाले ‘एन्थ्रोपोमेट्री’ विधिमार्फत बालबालिकाको उमेर अनुसारको तौल र उचाइ अनुसारको तौलको आधारमा कुपोषण मापन गर्नुभएको हो । उहाँले उक्त विधिअनुसार ‘अधिक तौल’ र ‘न्यून तौल’ भएकालाई कुपोषितको सूचिमा राख्नुभएको छ । 

विद्यालय नर्स कोइरालाले दिनुभएको जानकारी अनुसार बालविकास र कक्षा एकमा अध्ययनरत १७ जना र कक्षा दुईमा अध्ययनरत १३ जना बालबालिका सबै कुपोषित छन् । उमेर र उचाइ अनुसार सबै बालबालिका न्यून तौलका छन् । यस्तै कक्षा तीनमा अध्ययनरत ३४ जना बालबालिकामध्ये २० जना न्यून तौलका र चार जना अधिक तौलका कुपोषित छन् । चार कक्षाको २१ जना बालबालिकामा मापन गर्दा चार जना न्यून तौल र एक जना अधिक तौलका कुपोषित छन् । 

यसैगरी कक्षा पाँचमा ३० जनामा गरिएको परीक्षणअनुसार दश जना न्यून तौल र दुई जना अधिक तौलका कुपोषित भेटिएका हुन् । कक्षा छ मा ५३ जनामध्ये पाँच जना न्यून तौलका र दुई जना अधिक तौलका बालबालिका छन् । 

विद्यालय नर्स कोइराला भन्नुहुन्छ, “बालविकासदेखि कक्षा तीन सम्मका बालबालिकामा देखिएको कुपोषण कहाली लाग्दो छ । कक्षा चारदेखि छ सम्म सामान्य देखिएतापनि समग्र रु एक सय ६८ बालबालिकामा कुपोषण मापन गर्दा न्यून तौल भएका बालबालिका ४१ प्रतिशत भन्दा माथि र अधिक तौलका बालबालिका ५ प्रतिशतभन्दा माथि रहेको पाइयो ।”

जन्मदेखि पाँच वर्षसम्मका बालबालिकालाई नगरपालिकाले मासिक पाँच सय २६ रुपियाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । विद्यालयमा दिवा खाजाको व्यवस्था समेत गरिएको छ । “तर पनि बालबालिकामा कुपोषण देखिनु भनेको अभिभावकले आफ्ना नानीबाबुको खानेकुरामा ध्यान नदिनु नै प्रमुख कारण मानिन्छ”, विद्यालयका सह–प्रधानाध्यापक वसन्त सापकोटा भन्नुहुन्छ, “दिवा खाजाको रकम अपुग भएको कारण पनि उपयुक्त पोषणयुक्त खाजा बालबालिकाले पेटभरि खान पाउँदैनन् ।” 

विद्यालयको आधारभूत तहमा अध्ययन गर्ने अधिकांश बालबालिका मुस्लिम समुदायका छन् । मासुलाई मात्र पोषण मान्ने ती समुदायमा सागसब्जी, समय अनुसारको फलफूल, पोषणयुक्त सन्तुलित खानाको बारेमा कमैलाई मात्र जानकारी छ । बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा वृद्धि र विकासको लागि उपयुक्त पोषण एक दरिलो जग हो । उपयुक्त पोषण पाएका बालबालिका राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी भई योगदान दिन, तथा रोग विपत्ति र अन्य विश्वव्यापी स्वास्थ्य सङ्कटसँग जुध्न समर्थ हुन्छन् भन्ने कुरा अधिकांश अभिभावकले बुझेका छैनन् । 

विद्यालय सम्पर्कमा आउनुभएका एक अभिभावकले भन्नुभयो, “गरिबीको कारण पोषिलो खानेकुरा सम्भव छैन । पेट भर्ने खानेकुरा त प्रशस्त खान पाइँदैन । दुई जना नानी स्कुल जान्छन् । कहिलेकाहीँ विद्यालयको खाजाकै भरमा दिन काट्छन् अनि कसरी हृष्टपुष्ट हुनु उनीहरू ?” 

जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका ‘पोषण फोकल पर्सन’ हरेन्द्रप्रसाद गुप्ताले भन्नुभयो, “यो समस्या केवल एउटा विद्यालयको मात्र हैन । यस्तो समस्या जिल्ला भरीको विद्यालय, विद्यालय उमेर नपुगेका र विद्यालय जानबाट वञ्चित बालबालिकामा पनि पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लमा पाँच वर्ष मुनीका २३ प्रतिशत भन्दा बढी बालबालिका कुपोषित रहेको तथ्याङ्क छ ।”