छविलाल पाण्डे
बुटवल, असार ७ गते । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुटवल उपमहानगरपालिकाको १३ औँ नगर सभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेस गर्नुभएको हो ।
तीन सय दुई वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरूलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रूपमा विकसित गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने उल्लेख छ।
‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने दीर्घकालीन सोचलाई अगाडि सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने र सेवा प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अवलम्बन गरिनेछ प्रमुख पाण्डेयले बताउनुभयो ।
शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरू र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन सुरु गर्ने नीति बुटवलले ल्याएको छ ।
नगर प्रमुख पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
यस्तै, बुटवल १३ र १७ मा १५/१५ शय्याका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
बुटवलवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगरप्रमुख कार्यक्रम ल्याएको प्रमुख पाण्डेयले बताउनुभयो ।
लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क बाइफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकास गर्ने कार्यक्रमलाई बुटवलले प्राथमिकतामा राखेको छ ।
उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइटको जडान गर्ने भनिएको छ । बुटवलको मुख्य सडक क्षेत्रमा पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरिने नगर प्रमुखले बताउनुभयो । बुटवलभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरूलाई सहुलियत प्रदान गर्ने, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम बुटवलले अगाडि सारेको छ ।
विद्यालय स्तरमा खेलाडी उत्पादन गर्न मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गर्दै खेलमैदानहरूको स्तरोन्नति गर्न प्राथमिकता दिइने उल्लेख गरिएको छ।
‘मेरो टोल म सफा गर्छु’ भन्ने नाराका साथ ग्रिन एण्ड क्लिन सिटी बनाउन टोलविकास संस्थालाई परिचालन गरी नगरलाई सफा र सुन्दर बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।
एक सामुदायिक वन–एक पोखरी, एक पार्क निर्माण, नगरलाई हरित सहरका रूपमा स्थापित गर्न एक घर तीन रुख, कृषिमा उत्पादकको माग: नगरको साथ, कृषि विकास, “के पाइन्छ होइन, के चाहिन्छ” भन्ने आकर्षक कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
विद्यार्थीहरू लक्षित कमाउँदै पढ्दै गर्ने कार्यक्रम, युवाहरूका लागि रोजगारी सिर्जना गर्न मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको सीप पहिचान गरी स्वरोजगारमूलक बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।
बुटवलमा पहिरोको मुख्य जोखिम रहेका ज्योतिनगर, मिलनपथ, पाखापानी, लक्ष्मीनगर र बाढीको जोखिममा रहेका तिनाउ दानव नदी किनारमा तटबन्ध गर्ने कार्यक्रम समेटिएका छन् ।