• १४ मंसिर २०८१, शुक्रबार

‘एक घर एक बोटबिरुवा’ अभियान

blog

ललितपुर, असार ७ गते । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि भौतिक संरचना निर्माण गर्दा सडकपेटीका बोटबिरुवा नासिए नासिएका संरचना पूर्ववत् नै कायम गर्न लगाएर मात्र निर्माण सम्पन्नताको प्रमाणपत्र दिने भएको छ ।

महानगरपालिकाले हरियाली प्रवर्धन गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयन गर्न त्यस्तो नीति अपनाएको हो । महानगरपालिकाको तेस्रो नगर सभामा बुधबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । 

भवन निर्माणको स्वीकृति दिँदा नै निश्चित मापदण्ड तयार गरी ‘एक घर एक बोटबिरुवा’ को अवधारणा लागु गर्ने,  महानगरपालिकाको वडा नं. २१ को खोकना र वडा नं. २२ को बुङ्मती क्षेत्रलाई सांस्कृतिक एवं पर्यटकीय क्षेत्र घोषणा गरी ती क्षेत्रको ऐतिहासिकता संरक्षण गर्ने, पुरातात्त्विक संरचना देवालय, शिवालय, मठमन्दिर विहारमा प्रयोग हुने काठ ढुङ्गा माटो एवं धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गरिने नीति लिइएको छ । 

त्यस्तै विसं १९९० को महाभूकम्पपछि पुनर्निर्माण नभएका मन्दिर निर्माण गर्न पहल गर्ने, अत्यावश्यकबाहेक कार्य सञ्चालनका लागि भवन भाडामा नलिने, धुलोरहित सडक व्यवस्थापनका लागि नख्खु खोला र अन्य उपयुक्त स्थानमा टिप्पर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाउने, पैदल यात्रुलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि आवश्यकताअनुसार वाटर एटिएमको विस्तार गर्ने महानगरपालिकाको योजना छ । 

विद्युतीय प्रविधि प्रयोग गरी फोहोरमैला तथा अन्य विषयसँग सम्बन्धित नागरिकका गुनासा लिई तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउने, त्यस्ता गुनासा सम्बोधन गर्ने प्रयोजनका लागि क्लिनिङ एम्बुलेन्सको अवधारणा लागू गर्न गृहकार्य गर्ने महर्जनले बताउनुभयो ।

सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, संस्थागत विद्यालयको शैक्षिक पद्धति र गुणस्तरलाई सामुदायिक विद्यालयमा समेत प्रतिविम्बित गर्ने गरी दुवै प्रकृतिका विद्यालयका शिक्षकलाई संयुक्त प्रशिक्षण तथा अनुभव आदान प्रदानका लागि कार्यक्रम सञ्चालन गरिने महनगरपालिकाले नीति लिएको छ । साथै रोजगार रणनीति जारी गरी नमुना रोजगार सेवा केन्द्रका रूपमा सञ्चालन गर्ने नीति पनि महानगरपालिकाले लिएको छ ।