राधाकृष्ण डुम्रे
वालिङ, असार ६ गते । पछिल्लो समय योग सिक्ने र यसको साधना गर्नेको सङ्ख्या बढेको छ । आचार्य बालकृष्णको गृह जिल्ला भएर पनि यहाँ योगको प्रभाव राम्रो देखिन्छ ।
पतञ्जलि योगपीठ वालिङबाट सुरु भएको योग अभियान अहिले जिल्लाभर फैलिएको छ । वालिङमा पतञ्जलि योगपीठको आफ्नै सुविधा सम्पन्न भवन र योग गर्ने ठाउँ रहेको छ । जहाँ नियमित ठुलो सङ्ख्यामा योग गर्नेहरूको सहभागिता रहन्छ । प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने योग साधनामा वालिङवासीको सक्रिय सहभागिता रहने गर्दछ ।
प्रथम राष्ट्रपति डा. रामवरण यादव र बाबा रामदेवले २०६८ सालमा उद्घाटन गर्नुभएको योग साधनाको कार्यक्रम अहिले पनि उत्तिकै प्रभाव देखिन्छ । पतञ्जलि योग समिति स्याङ्जाको सक्रियतामा वालिङका विभिन्न वडाहरूमा नियमित योग साधना सञ्चालन हुने गरेको बताउनुहुन्छ समितिका अध्यक्ष नारायण प्रसाद तिवारी । उहाँका अनुसार भीरकोट, गल्याङ, चापाकोट, स्याङ्जा लगायतका ठाउँमा पनि नियमित योग साधना सञ्चालन हुने गर्दछ ।
योगबाट राम्रो शारीरिक व्यायाम हुने र शारीरिक तथा मानसिक रूपमा सक्रियता बढ्ने भएकाले यसप्रति आकर्षण बढेको तिवारीको भनाइ छ ।
योग पहिले–पहिले धार्मिक लाभका लागि गरिने भए पनि आज भोलि शारीरिक र मानसिक विकासका लागि गरिने योग गुरु तथा योगपीठका सचिव गिरमान गुरुङको भनाइ छ । उहाँ भन्नुहुन्छ, “स्वतःस्फूर्त रूपमा योग गर्न आउनेहरूको सङ्ख्या ठुलो छ कहिले काहीँ त ठाउँको पनि अभाव हुने गर्दछ ।”
पतञ्जलि योगपीठ महिला समितिका संयोजक कविता भुसालले योगप्रति पछिल्लो समयमा नयाँ पुस्ताहरूको आकर्षण बढेको बताउनुभयो । योगप्रति युवापुस्ताको सक्रियता देखेर हामी उत्साहित भएको उहाँले बताउनुभयो । भुसालका अनुसार महिलाहरूको सहभागिता पनि धेरै हुने गरेको छ । धेरै महिलाहरू योग प्रशिक्षकका रूपमा काम गर्न सुरु गरेको भुसालको भनाइ छ ।
काममा कुशल बन्न, मनमा आउने नराम्रा भावनाहरूलाई हटाई मानसिक सन्तुलन कायम गर्न योगले सहयोग पुग्ने योग प्रशिक्षकहरूको भनाइ छ ।
योग गर्ने समूहका साथीभाइमाझ ध्यान अवधिभर मात्र होइन, गाउँ–समाजका अन्य कामका कुरामा पनि तालमेल बढ्दै गएको लामो समयदेखि योग सिकाउँदै आएका योग प्रशिक्षक समेत रहनुभएको अध्यक्ष तिवारी बताउनुहुन्छ ।
योगमा रुचि बढेसँगै सर्वसाधारणको खानपान र जीवनशैलीमा समेत परिवर्तन आउन थालेको अनुभव सुनाउनु हुन्छ गिरमान गुरुङ ।
पतञ्जलि योगपीठ र यसमा योग सिकाउने बाबा रामदेवको कारण पनि योग प्रतिको आकर्षण बढ्दो रहेको छ । पहिले–पहिले योग साधुसन्तले मात्रै गर्ने भन्ने हुन्थ्यो । अहिले योग जोकोहीले गर्न सक्छन् भन्ने जनचेतना सबै मानिसमा आइसकेको छ ।
प्राकृतिक सुन्दरता र आध्यात्मिक गहिराइको संयोजन नेपाल रहेको र यही भूमिमा शारीरिक र मानसिक स्वास्थ्य सुधार्ने उपायको रूपमा योग आएको योग गुरु डा. पवमान सुवेदीले बताउनुभयो । योग र साधनाको प्रचारले समेत नेपालमा पर्यटन बढाउन सकिने डा. सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “योगलाई शारीरिक रूपमा मात्र नभई मानसिक र अध्यात्मसँग पनि जोडेर बुझ्नु पर्छ ।”
स्वास्थ्य, निरोगी, दीर्घजीवी हुनका लागि सबैभन्दा सरल र प्राकृतिक विधि योग रहेको योगसाधानमा लागेकाहरूको भनाइ छ । स्वस्थ खानपिन र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाए मानिस निरोगी र ऊर्जावान् बन्न सक्ने उनीहरूको तर्क छ ।