• ९ मंसिर २०८१, आइतबार

चोभार ब्लुज

blog

कथाकार विक्रमभक्त जोशी जोशीको पहिलो कथासङ्ग्रह ‘चोभार ब्लुज’ भित्र १९ वटा कथा समेटिएका छन् । कथा नयाँ छैनन् तर नयाँ प्रस्तुतिले कथाकारको आफ्नो निजत्व देखिन्छ । सङ्ग्रहभित्रकै ‘चोभार ब्लुज’  शीर्षकबाटै यस कथा सङ्ग्रहको नामकरण गरिएको रहेछ । ‘चोभार ब्लुज’ शीर्ष कथाको पृष्ठभूमि चोभार नै रहेको छ । एउटा चर्चित लेखकका माध्यमबाट यस कथालाई बुनिएको छ । म पात्रबाट कथाको थालनी गरिएको यस कथामा  बिजेन, चारु र अभय तीन जना पात्र छन् । बिजेन लेखक हो, उसले जन्माएको उसको लेखनका पात्र हुन् अभय र चारु ? पाठक यो कथामा अलिकति अलमलिने छन् । सुरुमा अभय र चारु बिजेनका पात्र हुन् या उसको वरिपरिकै पात्र हो भनेर । कथा पढ्दै जाँदा स्पष्ट हुँदै जान्छ । 

चोभार लेखकको भनौँ कथाभित्रको पात्र लेखक बिजेनलाई असाध्यै मन पर्ने स्थान रहेको हुन्छ । उसले आफ्नो लेखन कार्य नै चोभारको झ्याम्म परेको रुखमुनि बसेर गर्ने गर्छ । यस कथा सङ्ग्रहको पहिलो कथा रहेको छ, ‘उत्सर्ग’ । यो गोमा नामक एउटी महिलाको कथा हो । गोमाले आफ्नो सानो भाइका लागि आफ्नो सम्पूर्ण जीवन उसैमा समर्पित गरेकी छिन् । त्यसैले यस कथाको शीर्षक सार्थक छ ।  

‘पर्खाल’ कथामा वर्तमान समयमा दिनप्रतिदिन बच्चाहरूमा बढिरहेको समस्या ‘अटिजम’ विषयलाई भन्दा पनि अटिजम भएको किशोरको कथालाई विषयवस्तु बनाइएको छ । उसको प्रेमलाई उजागर गरिएको कथा हो पर्खाल । सामान्य मान्छे र असामान्य मान्छेबिचको दूरीलाई पर्खालको नाम दिइएको छ । जुन कथा सुहाउँदो पनि छ । 

‘यात्राका अनुत्तरित प्रश्नहरू’ प्रथम पुरुषबाट लेखिएको यस कथामा यात्राको वर्णन गरिएको छ । कथाकारको यात्रा संस्मरण जस्तै नि लाग्छ । ‘अनि म विरही भएँ’ मा श्याम विश्वकर्मा यस कथाको मुख्य पात्र हुन् । उनी आफ्नो अन्तर्जातीय प्रेम असफल भएपछि जोगी बन्न पुग्छन् । हाम्रो समाजमा हुने जातीय विभेदलाई यस कथामा प्रस्तुत गरिएको छ । कथाकारले कथामै सही विभेदलाई अन्त्य गरेर प्रेमको विजय गराउन सक्थे तर त्यसो नगरी एउटा दलित पात्रलाई संसारिक मोहबाट अलग गराइदिएका छन् । विद्रोह गर्नुको साटो विरही बाटो अँगालिदिएका छन् । म पात्र यो विरोधको नयाँ तरिका हो कि भन्न त भन्छन् तर लाचार बनेर जोगी हुनु कसरी र कुन दृष्टिबाट विरोध हुन सक्छ ? 

‘निलो कमिज, खैरो पाइन्ट’ पहाडी भेगको  पहेँलो गाउँ र त्यही बस्ने हर्केको कथा हो त्यसै गरी ‘सुनको पोको’ मा मान्छेले छलकपट गरेर जम्मा गरेको धन सुनको पोको साउने भेलले बगाएर लगेको छ । पाप धुरीबाट कराउँछ भने जस्तै यस कथामा अपराधीलाई समयले सजाय दिएको कथा प्रस्तुत गरिएको छ । 

‘बिर्सिएको त्यो इमेल’, ‘जगल्टे घर फर्किन्छ’, ‘यो जात्रा अनि त्यो जात्रा’, ‘बोसन हाइट’ साथै अरू कथाहरू छन् र अन्तिम कथा रहेको छ ‘बाली बैजनी’ यस कथाभित्र हवाई यात्रा अनि यात्रामा भेटिएका विभिन्न मुलुकका यात्रीहरूको प्रसङ्ग समेटिएको कथा हो । 

कुनै कुनै प्रस्तुति उस्तै उस्तै लाग्छन् । कथा हाम्रै समाज परिवेशको घटना परिघटनामा आधारित छन् त्यसैले पनि आफ्नै लाग्छन् । सरल भाषामा लेखिएको कथा स्पष्ट छन् । यस कथासङ्ग्रह ‘चोभार ब्लुज’ ले नेपाली कथा सङ्ग्रहहरूको बिचमा एउटा राम्रो सामाजिक कथाको उपस्थिति जनाएको छ । अँ साँच्चै ! यस पुस्तकलाई निकथासङ्ग्रह भनिएको छ यो साहित्यमा नयाँ प्रयोग गरिएको होला । 

लेखक :विक्रमभक्त जोशी

विधा : आख्यान 

प्रकाशक : साहित्य पोस्ट    

पृष्ठ : २२८

मूल्य : ४५० ।