अमृतप्रसाद पौडेल
म्याग्दी, असार ६ गते । बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाको घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुहुँदै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला खोप समन्वय समितिका संयोजक थापाले खोप जस्तो महत्त्वपूर्ण कार्यमा खट्ने स्वास्थ्यकर्मी सम्मानको पात्र भएको पनि बताउनुभयो ।
केही स्थानहरूमा धार्मिक कारण देखाउँदै खोप लगाउनै नमान्ने अवस्थासम्म सिर्जना हुने गरेको भए पनि बेनी नगरपालिका भित्र कुनै त्यस्तो समस्या नदेखिनु निकै सकारात्मक पाटो रहेका उहाँको भनाइ थियो ।
नगरपालिका भित्रका १६ महिना पूरा भई ५९ महिना ननाघेका सबै बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चितता पाएपछि जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र प्रदान गरेको हो ।
जन्मेका बालबालिकाले पूर्ण खोप पाउनु उनीहरूको अधिकार भएकाले उक्त अधिकारको पूर्णताको प्रतीक पनि यो प्रमाणपत्र प्रदान गरिएको हो–जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
स्थानीयतहको सिफारिसपछि जिल्ला खोप समन्वय समितिकाले गरेको ‘भेरीफाइ’बाट पनि पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितताको दिगोपनाको प्रमाणपत्र प्रदान गरिएको लम्सालले बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रमाणपत्र प्राप्त गरियो भनेर खुसी मनाउनेभन्दा पनि अर्को वर्ष पनि यसलाई निरन्तरता दिनका लागि थप जिम्मेवारी प्राप्त भएको धारणा राख्नुभयो ।
नेपालको संविधान २०७२, जनस्वास्थ्य सेवा ऐन–२०७५ र खोप ऐन–२०७२ ले निर्देशित गरे बमोजिम पूर्ण खोप प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएकाले पनि यसलाई अक्षरशः पालना गर्नु नै हाम्रो जिम्मेवारी हो–बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले भन्नुभयो । सुवेदीले गएको एक वर्ष भित्रमा १५ महिना भित्रका चार सय छ जना बालबालिकाले पूर्ण खोप पाएको बताउनुभयो । उहाँका अनुसार नगरपालिका भित्र १६ देखि ५९ महिना उमेर समूहका एक हजार ३२७ बालबालिकामध्ये एक हजार ३२३ जनाले पूरा खोप लगाएको र चार जना बालबालिकाले केही डोज लगाएर केही छाडेको भेटिएका छन् ।