केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, असार ६ गते । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार रहेको बताइएको छ। मङ्गलबार गृह मन्त्रालयको आयोजनामा धुलिखेलमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम उद्घाटन कार्यक्रममा उक्त जानकारी दिइएको हो।
कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले कार्यपत्र प्रस्तुत गर्नुहुँदै हाल नेपालमा एक लाख २१ हजार ६९२ पुरुष र आठ हजार ७३२ महिला गरी लागुऔषध प्रयोगकर्ताको कुल सङ्ख्या एक लाख ३० हजार ४२५ रहेको बताउनुभयो।
सबैभन्दा धेरै बागमतीमा
उहाँले नेपालमा सबैभन्दा बढी बागमती प्रदेशमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या सबैभन्दा धेरै रहेको बताउनुभयो। उहाँका अनुसार बागमती प्रदेशमा ४६ हजार ४८०, कोशी प्रदेशमा २७ हजार ६०५, मधेश प्रदेशमा १५ हजार ८४३ जना, गण्डकी प्रदेशमा आठ हजार ९५६ जना लागुऔषध प्रयोगकर्ता रहेको बताउनुभयो। यस्तै लुम्बिनी प्रदेशमा २५ हजार ९३० जना, कर्णाली प्रदेशमा एक हजार ८११ जना र सुदूरपश्चिम प्रदेशमा तीन हजार ८०८ लागुऔषध प्रयोगकर्ता रहेको बताउनुभयो।
२५–२९ वर्ष उमेर समूहका धेरै नेपालमा रहेका कुल लागुऔषध प्रयोकर्तामध्ये सबैभन्दा बढी ३५ प्रतिशत व्यक्ति २५ देखि २९ वर्ष उमेर समूहभित्रका रहेका छन्। यस्तैगरी २० देखि २४ वर्ष उमेर समूहका ३४ प्रतिशत, ३० देखि ३४ वर्ष उमेर समूहका १३ प्रतिशत, १५ देखि १९ वर्षका सात प्रतिशत, ३५ देखि ३४ वर्ष उमेरका ६ दशमलव ५ प्रतिशत, ४० देखि ४४ वर्षका चार प्रतिशत, ४५ देखि ४९ वर्षका एक प्रतिशत, ५० माथिका एक प्रतिशत रहेका छन्।
गृह मन्त्रालयले २०७६ मा गरेको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण अनुसार साथीहरूको दबाब, लागुऔषध खाँदा के हुने रहेछ भन्ने उत्सुकता, मनोरञ्जन, डिप्रेसन, पारिवारिक समस्या, शैक्षिक समस्या, मानसिक रोग, खुसी हुनका लागि लागुऔषधको प्रयोग गर्ने गरेको देखाएको छ।
कार्यक्रममा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा मुख्य औषधी नियन्त्रण अधिकारी सहसचिव रुद्रादेवी शर्माले सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने तयारी गरेको बताउनुभयो।
उहाँले सरकारले जारी गरेको लागुऔषधसम्बन्धी नीति, रणनीति उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिका, नीति, नियमलगायतका बारेमा जानकारी दिने उद्देश्यले लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनस्र्थापना केन्द्रका सञ्चालकका लागि एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रमका सहभागीले लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालन गर्ने क्रममा आइपरेका समस्या, नीतिगत व्यवस्थाका कारण भएका असहजताका बारेमा आफ्नो धारणा राखेको बताउनुभयो।
कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले लागुऔषध दुव्र्यसनी रोक्नका लागि सबै निकायको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा मन्त्रालयका उपसचिव शम्भु रेग्मीले लागुऔषधसम्बन्धी नीति, रणनीति, उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिकाका बारेका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठ, काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लामा लागुऔषध नियन्त्रण तथा पुनस्र्थापना केन्द्र र सुधार केन्द्रका गतिविधिका बारेमा भनाइ राख्नुभएको थियो।
कार्यक्रममा सहभागी पुनस्र्थापना केन्द्रका सञ्चालकले सरकारले धनीलाई सुधार केन्द्र र गरिबलाई जेल चलाउने काम गर्दै आएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। केन्द्रका सञ्चालक विगतमा आफूहरू दुव्र्यसनीमा परेपछि त्यसबाट मुक्त भई सुधार केन्द्र सञ्चालन गरे पनि अहिले पनि आफूहरूलाई सोही रूपमा हेर्ने गरेको, सरकारले मौखिक प्रतिस्थापन विधि (ओएसटी) लाई औषधीका रूपमा लिनुपर्ने, गाँजा सेवन गरेर प्रहरीले पक्राउ गरेका व्यक्ति अध्ययन तथा रोजगारीका लागि विदेश जान खोजे पनि दुव्र्यसनीमा दर्ज भएका कारण कतिपयले स्वदेशमा काम नपाउँदा आत्महत्या गरेको गुनासो गर्नुभएको थियो।
यसै गरी २०४६ सालपछि मुलुकमा पटक पटक संविधान संशोधन भए पनि २०३३ सालको लागुऔषध नीति संशोधन हुन नसकेको, नेपालमा लाखौँको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ता भए पनि बाहिर आउन नसकेको, सबै पुनस्र्थापना केन्द्रको कामको सरकारले सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो। यस वर्ष नेपालले ‘लागुऔषध दुरुपयोगविरुद्धको ऐक्यबद्धता व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता’ मूल नाराका साथ दिवस मनाउन सुरु गरेको हो।