• १३ पुस २०८१, शनिबार

ईशनाथ नगरपालिकाको वार्षिक कार्यप्रगति सार्वजनिक

blog

रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले सर्वसाधारणको जिज्ञासाको जवाफ दिनुहुँदै । तस्विर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र 

गौर, असार २ गते । ईशनाथ नगरपालिकाका नगरप्रमुख कौशल्या देवी सिन्हाले वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । ईशनाथ नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी नगरपालिकाको वार्षिक कार्य प्रगति सार्वजनिक गरेको हो ।

नगरप्रमुखको कार्यभार सम्भालेपछि प्रशासकीय भवन निर्माण गराएको, ईशनाथ मन्दिर अगाडिका अतिक्रमण हटाई सडक फराकिलो तथा व्यवस्थित गराएको,  एक सय १७ जना बेरोजगार युवायुवतीलाई लोकसेवाको तयारी कक्षामा सहभागी गराएको नगरप्रमुख कौशल्या देवीले बताउनुभयो ।

विभिन्न वडाका रहेका विद्यालयमा नयाँ भवन निर्माण तथा नगरको २३ वटै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गराउनुको साथै सडक ढलान, नाला निर्माणका कार्यलाई स्तरीय ढङ्गले सञ्चालन गराएको नगर प्रमुख सिन्हाले बताउँदै स्वास्थ्य संस्थाले विगतमा दिँदै आएको सेवाभन्दा सुधारको स्थितिमा ल्याई जनताले खोजे जस्तो सेवा प्रवाह गर्ने स्तरमा पुर्‍याउन स्वास्थ्य संस्थामा ल्याब व्यवस्थापन, भिडियो एक्स-रे लगायतका सेवा सुचारु भएको नगर प्रमुख सिन्हाले बताउनुभयो । 

जनताले नगरपालिकासँग गरेको अपेक्षा अनुरूप न्यायिक समितिले निष्पक्ष बिना भेदभाव रहित तरिकाले काम गरिरहेको नगर उपप्रमुख प्रवेज आलमले बताउनुभयो । २३ वटा मुद्दा दर्ता , करिब एक सयको सङ्ख्यामा विचाराधीन अवस्थामा रहेको, सोही सङ्ख्यामा घरदैलो मै गई मिलापत्र गराएको उहाँले बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत नगरका सबै वडाका सूचीकृत मजदुरलाई रोजगारी दिई, कुलो–नाला सफाइ कार्यमा खटाइएको बताउँदै उहाँले सबै कार्य नगरपालिकाले नै गरी दिन्छ भर नपर्न नगरवासीलाई अनुरोध गर्दै आआफ्ना घर अगाडी फोहर हुन दिई सफा राख्न आग्रह गर्नुभयो । आगामी आर्थिक वर्षदेखि हरेक चौमासिकमा एक पटक अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ आयोजना गर्ने प्रमुख प्रशासकीय अधिकृत झाले प्रतिबद्धता गर्दै जनतालाई हुने सेवा प्रवाहमा ढिलासुस्ती वा कुनै कमीकमजोरी भए जानकारी गराउन समेत नगरवासीसँग आग्रह गरेका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा नगरप्रमुख सिन्हा, प्रमुख प्रशासकीय अधिकृत झा, योजना शाखा प्रमुख महमद ईसराजुल, प्राविधिक शाखा प्रमुक नविराज मिश्र, लेखा प्रमुख मनोज कुमार ठाकुरले आफ्ना सरोकारसँग जनताले उठाएका सवालका जवाफ दिएका छन् । जनताले विद्यालयमा वाईफाईले विद्यार्थीका पढाइमा परेका नकारात्मक असर, मिटर ब्याजीलाई मुद्दा लगाउँदा रिन पाउन गाह्रो भयो सहितका गम्भीर कुरा उठेका छन् । स्थानीय सुरक्षा निकायका प्रमुख, शिक्षक, शिक्षाप्रेमी, समाजसेवी, महिला नेतृ विभिन्न राजनीति दलका प्रतिनिधिका रोहवरमा सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।