• १३ पुस २०८१, शनिबार

लोभलाग्दो फल

blog

गर्मीमा गर्मी हुँदैन, मन भरिने फल मिल्यो भने ! लिची यही गर्मीयाममा फल्ने गुलियो मिठो स्वादको लोकप्रिय फल हो । कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन सी, पोटासियम, फस्फोरस र फलाम जस्ता स्वास्थ्यवर्धक गुणले भरिपूर्ण हुन्छ यो फल ।

पाँच/छ दिनअघिसम्म गर्मी उकालो लाग्दै थियो, युद्धको सिपाही जस्तै आक्रामक बनेर । सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा उच्च तापक्रमले नयाँ रेकर्ड बनायो । त्यस्तै अन्य हिमाली क्षेत्रमा समेत अस्वाभाविक गर्मीले जनजीवन कष्टकर बन्यो ।  

तराईतिरको के कुरा, तातो हावा अर्थात् लु चल्यो मध्य जेठबाटै । जनजीवन उथलपुथल बनाउने लु सुरुमा मध्य तराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म चल्यो । पछि विस्तार भएर पश्चिम नेपालगन्ज र पूर्वमा मोरङसम्म फैलियो । उच्च तापक्रमले अघिल्ला वर्षहरूका रेकर्ड तोड्ने क्रम चल्यो तराईतिर पनि । पछिल्ला दिनमा भने केही झर पानी परेको छ । 

यही समयको १५ दिन तराईका भेगहरूमा लिची पाक्छ (जेठ १५ देखि पाक्न सुरु भएर मसान्तसम्म) । अर्को संयोग के भने, यस पालि लिचीको याममै ह्वात्तै गर्मी बढ्यो । यही उधुम गर्मीका कारण तराईका स्कुल कलेजले विद्यार्थीलाई पठनपाठनमा असर नपरोस् भनेर बर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा (जेठ २१–३० सम्म) दिए । 

अत्यधिक गर्मी बिर्साउने गरी यो बेला विशेष गरी तराई भेगमा रसपूर्ण लिची लटरम्म फलेको देख्न सकिन्छ । हल्काफुल्का हावासँगै शालीन शैलीमा हल्लिन्छन् गुलिया–रसिला–राता लिची हाँगाहाँगामा । यसको स्वादमा तरङ्गित अनुभूतिले गर्मी महसुस गर्ने इन्द्रियलाई शान्त र स्थिर बनाउँछ । जाइलोकेन नामक संवेदना मत्थर गर्ने सुईको प्रयोगले चोटपटकजन्य दुःखाइको प्रभावलाई कम पारे झैँ लिचीले गर्मीयाममा यस्तै काम गर्छ । 

लोभलाग्दो फल लिची आँप जस्तै जति गर्मी ठाउँ, उति नै मिठो हुन्छ । ७० देखि तीन सय मिटरसम्मको उचाइभित्र पर्ने चितवन, बारा, पर्सा, सर्लाही, महोत्तरी, रौतहट, बाँके, बर्दिया, दाङ हुँदै पश्चिम तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तुदेखि सुदूरपश्चिम तराई कैलाली, कञ्चनपुरसम्मका झन्डै २० जिल्लामा लिची फल्छ । नेपालको सर्वाधिक लिची उत्पादनका क्षेत्र भनेका यिनै हुन् । 

त्यस्तै रामेछाप, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, मकवानपुरदेखि पश्चिमी भेगका गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, म्याग्दी, बागलुङ, गुल्मीलगायतका सुन्तला फल्ने मध्यपहाडी क्षेत्रका ३६ जिल्लामा पनि लिची फलाइन्छ । वरिष्ठ बागवानी विकास अधिकृत तथा कीर्तिपुर समशीतोष्ण बागवानी केन्द्रका प्रमुख पदमप्रसाद अधिकारी भन्नुहुन्छ, “एक हजार दुई सय मिटरसम्मका यी क्षेत्रमा लिचीको याम भनेको जेठ २०/२५ देखि असार १०/१५ सम्मको समयावधि हो । जति उचाइको लिची हो, त्यति नै अमिलोको मात्रा बढ्दै जान्छ । पूर्ण रूपले नपाक्दा पनि लिची अमिलो हुन्छ । पाकेको लिचीको प्रमुख पहिचान रातोपन हो ।”

उहाँका अनुसार लिचीका झन्डै दर्जन प्रजाति पाइन्छन् नेपालमा; जसमध्ये सर्वाधिक लिची उत्पादनको क्षेत्र तराईमा साही, मुजफ्फपुर, रोज सेन्टेड, कलकत्तिया, सिड्लेस (अर्ली र लेट), देहरादुनी, बम्बे जस्ता भारतीय मूलका लिचीको वर्चस्व छ । त्यस्तै मध्यपहाडी क्षेत्रमा गोर्खा लोकल, तनहुँ लोकल, पोखरा लोकल, उदयपुर लोकल, चितवन लोकल जस्ता प्रजातिका लिची फलाइन्छ । स्वादका लागि साही र रोज सेन्टेड रोजाइमा पर्छन् । आकारमा ठूलो भने सिड्लेस हुन्छ । 

नेपालमा दुई हजार ८३० हेक्टरभन्दा बढी जमिनमा गरिएको लिचीबाट झन्डै १४ हजार मेट्रिक टन उत्पादन हुन्छ । छिमेकी देश भारत र चीनबाट भित्रिने लिची कति टन खपत हुन्छ, सरकारसँग यसको यकिन तथ्याङ्क छैन । तराईका लिची व्यावसायिक हिसाबले समेत अगाडि छ । आँप, केरा र अम्बापछिको प्रख्यात फल लिचीले व्यावसायिक नाफामा भने यी तीनै फलफूललाई पछि पारेको छ । यसैले पनि हुन सक्छ– नाफामूलक लिची खेती गरिने जमिन र उत्पादनको मात्रा बर्सेनि बढ्दो छ । कलमी लिचीले चार वर्षदेखि नै फल दिन सुरु गर्छ । यो क्रम बोटको आयु अनुसार अर्थात् ४०/५० वर्षसम्म हुन्छ । 

नेपालमा सर्वप्रथम लिची खेतीको सुरुवात राणाकालीन समयमा भएको रहेछ । इतिहास केलाउँदा थाहा हुन्छ, फलफूल खेती र बागवानीमा सोखिन राणाले सर्वप्रथम छिमेकी मुलुक भारत र बर्माबाट लिची ल्याई तराई र मध्यपहाडी क्षेत्रका केही ठाउँमा रोपे । पछि यसले खेतीको रूप लियो । त्यसो त काठमाडौँ उपत्यकामा पनि लिची उत्पादन गर्ने कोसिस नभएको होइन तर तुसारो र चिसोका कारण कोसिस फलदायी भएन । लगाइएका लिची सबै मरे । उष्ण हावापानी उपयुक्त हुने लिची बलौटे र दोमट माटोमा मौलाउँछ ।

याम अनुसार फरक फरक उचाइ, माटो र हावापानीमा फरक फरक स्वाद र विशेषताका फलफूलहरू फल्छन् । अन्तर्निहित अनेक गुण समेटिएको आँप, अम्बा, आरु, अनार, अमला, ओखर, अङ्गुर, स्याउ, सुन्तला, ऐँसेलु, एभोकाडो, इमली, काफल, कटहर, केरा, किम्बु, खरबुजा, मेवा, बिमिरो, नासपाती, हलुवाबेद जस्ता नेपाली फलफूलमा भिटामिन, खनिज पदार्थ र लाभदायक पौष्टिक तत्त्वहरूको प्रचुरता पाइन्छ ।

अन्तर्निहित अनेक गुण समेटिएको नेपाली फलफूल बहुआयामिक महत्त्वका छन् । भिटामिन, खनिज पदार्थ र लाभदायक पौष्टिक तत्त्वको हिसाबले अति उत्तम त हुँदै हो । कागतीलगायत केही फल ओखतीमूलक गुणबाट भरिपूर्ण छन् । त्यस्तै समाजमा परम्परागत सांस्कृतिक स्थान पाउँदै आएको छ– ओखर, भोगटे, बिमिरो, कटुस जस्ता केही फलफूलले । मानव स्वास्थ्यका लागि लाभदायक लिचीलाई मानवकै विशेषतासँग अनेक विम्बमा व्यक्त गर्न सकिन्छ । जस्तै– असल मान्छे लिची जस्ता हुन्छन् । बाहिरबाट हेर्दा बोक्रा जस्तो भए पनि भित्र भने गुनिला गुणहरूले भरिपूर्ण राम्रा र नराम्रा गुणहरूका तहैतहबाट निर्मित ।  

Author

अगनसिंह थापा