• ४ जेठ २०८१, शुक्रबार

कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ : नेता काइराला

blog

नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार १ गते । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रमा सीमित बन्नसक्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

अहिले काँग्रेस व्यवहारवादी बन्दा चुक्दै गएको बताउनुभयो । सिद्धान्तलाई छोड्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । कसैले पनि लोकरिजाँइको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने उहाँको भनाइ छ । 

नेता कोईरालाले काँग्रेस विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महशुस आफूले गरेको बताउनुभयो । अहिले कुनै पनि संवैधानिक संस्थामा सवल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उहाँले बताउनुभयो । संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोलेलगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरित भएको उहाँको बुझाइ छ ।  

नेता कोईरालाले देशको राजनीति अहिले राम्रो अवस्थामा नरहेको उहाँले दावी गर्नुभयो ।  सरकारले संवैधानिक निकायहरु निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका निकायको अधिकार कटौती गर्दासमेत सांसदहरु मौन बसेकोमा उहाँले गुनासो गर्नुभयो । 

सरकारले मुलुकमा सुशासन दिन नसकेको चर्चा गर्नुहुँदै नेता कोइरालाले अदालतका निर्णयहरु सरकारले नमान्नेजस्ता दण्डहीनता भइरहेको उहाँको बुझाइ छ । नेता कोईरालाले देश भूराजनीतिक भुमरिमा फस्दै गएको बताउनुभयो ।