• ४ जेठ २०८१, शुक्रबार

बजेट संशोधन गर्छु भन्नु मान्यता विपरीत : पूर्व सभामुख नेम्वाङ

blog

नेकपा (एमाले) का संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौंं, असार १ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नुभएको छ । 

नेपालले प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यताभित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न नमिल्ने भएकाले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति प्रणालीअनुसार बेठिक भएको उहाँको भनाइ छ । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उपनेता नेम्वाङले बजेट संशोधन गर्ने मान्यता संसदीय व्यवस्थामा नरहेको बताउनुभयो । संसदमा सांसदहरुले खर्च कटौतिको प्रस्ताव राख्ने प्रावधान राखिएको र सो प्रस्ताव पारित भए सरकार ढल्ने मान्यता रहेको उहाँको भनाइ छ । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट संसदमा संशोधन हुन नसक्ने उपनेता नेम्वाङले बताउनुभयो । उहाँले भन्नुभयो, “संशोधन हुँदैन भन्ने संसदस्य व्यवस्था छ । अव त्यसबारेमा फरक कुराहरु आइरहेको अवस्था छ । सत्ता गठबन्धन बैठकमा बजेट जस्ताकोतस्तै पास हुँदैन भनेर भन्नुभएको छ, यो बेठिक छ ।” 

“हामीले संसदीय प्रणाली वेष्ट मिनिष्टर प्रणालीलाई पछयाएका छौं । त्योसँग नजिक रहेका सबैजसो देशहरुमा बजेट, नीति तथा कार्यक्रमहरु संंशोधन गर्ने प्रचलन छैन । यो छिमेकी मुलुक भारतमा पनि हुन्छ” पूर्व सभामुख नेम्वाङले भन्नुभयो, “अर्थ विधेयकमा संशोधन हाल्नु परेमा राष्ट्रपतिको पूर्व स्विकृति चाहिन्छ । प्रस्तुत बजेट संशोधन गर्ने प्रक्रिया छैन ।” 

हामी कुन मान्यतामा छौंं भन्दा खर्च कटौतिको प्रस्ताव पास भयो भने सरकारको बजेट फेल भयो र, सरकार ढल्छ भन्ने मान्यतामा हामी चल्दैआएका छौं उहाँले भन्नुभयो । उपनेता नेम्वाङले बजेट परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी रहे पनि त्यसलाई संशोधन गर्न भने मिल्ने व्यवस्था नरहेको उहाँले बताउनुभयो । बजेट सन्तुलित नआएको कुरा पार्टीको तर्फबाट धारणा आए पनि व्यवस्थाले त्यो संशोधन गर्ने परिकल्पना गर्दैन उहाँले भन्नुभयो ।