• ४ जेठ २०८१, शुक्रबार

गृह मन्त्रालयले सुगम र दुर्गम मिलाएर गर्‍यो प्रजिअको सरुवा

blog

गृह मन्त्रालय ।

काठमाडौं, असार १ गते । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेकालाई  सुगम र दुर्गममा मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो । गृहले आज (शुक्रबार) उक्त सरुवा तथा पदस्थापन गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो । त्यस्तै, एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।

त्यस्तै, कञ्चनपुरका सीडीओ गोपाल प्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उहाँको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो ।उता मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खतिवडा लाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो ।

त्यस्तै, डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । त्यस्तै, खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । उनीहरूलाई पनि सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो । त्यस्तै, रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै, कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ । त्यस्तै, जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ । त्यस्तै, काभ्रेको सहायक सीडीओ महेश कुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै, काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौं बाहिर सरुवा गरेको छ । उहाँहरूको अवधि पुगेको र सुगममा बसेकाहरूलाई काठमाडौं बाहिर पठाइएको हो ।