• ३० वैशाख २०८१, आइतबार

अत्यधिक गर्मीले जनजीवन प्रभावित

blog

कपिलबस्तुको गोरुसिङ्गे चोकमा उखुको रस बेच्दै महिला । तस्विरः नारद कोहार । तौलिहवा

नारद कोहार

तौलिहवा, जेठ ३२ गते । केही दिनदेखि बढेको अत्यधिक गर्मीले कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्।  

सहर चोक चौराहमा दिउँसो चहल पहल घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको सङ्ख्या कम छ । स–साना बालबालिका तथा वृद्ध वृद्धाहरूलाई गर्मीले बढी असर गरेको छ । गर्मीले ज्याला मजदुरी गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् । अत्यधिक गर्मीका कारण शैक्षिक संस्थाहरू पनि बन्द गरिएको छ । 

शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार यस क्षेत्रमा अत्यधिक गर्मी भएको कारणले विद्यालयहरूमा पठन पाठन गर्न कठिनाइ भएकोले गर्मी बिदा दिइएको बताउनुभयो। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूलाई विद्यालय आउन जना र सिकाई क्रियाकलापमा समस्या भएकोले नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गर्मी बिदा दिइएको उहाँले बताउनुभयो । कपिलवस्तु नगरभित्रका विद्यालयहरूमा आइतबारदेखि पुनः सञ्चालन हुने उहाँको भनाइ छ ।

गर्मीका कारण कपिलवस्तु अस्पतालमा दिनहुँ दुई सयदेखि दुई सय पचासको हराहरीमा बिरामी आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विपिन जयसवालले बताउनुभयो । अस्पतालमा गर्मीका कारण झाडापखाला, आऊ, पानीको कमी, ज्वरो आउने, मांसपेशी दुख्ने लगायतका बिरामीहरू आउने गरेको उहाँको भनाइ छ । 

कपिलवस्तु सहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेकोले जिल्लास्थित पालिकाहरूलाई विभिन्न किसिमका सचेतना मलुका कार्यक्रमहरू सञ्चालन गर्ने निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताउनुभयो । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः लस्सी, आइसक्रिम, कुल्फी  र उखुको रस अधिक सेवन गर्ने गर्दछन् । 

लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही, दाङ, बाँके लगायतका मध्य तराईका जिल्लाहरूमा विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियस सम्म तापक्रम बढ्ने गरेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।