लीलाधर वली
घोराही, जेठ ३१ गते । बर्खे खेती गर्ने समय नजिकिँदै गर्दा घोराही उपमहानगरपालिका–१६, बयरबटुवा निवासी किसान हरिराम चौधरीलाई खेत र नालामा अड्किएको फोहोर सङ्कलन गर्नुपर्ने बाध्यता छ। घोराही बजारबाट कुलोमा फालिएको फोहोर बग्दै खेतबारी प्लास्टिक तथा सिसाजन्य फोहोरले भरिने भएकाले खेती गर्नुभन्दा पहिले बर्सेनि किसानलाई खेतमा भएको फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौती थपिने गरेको हो।
धान रोप्नुभन्दा पहिले प्रत्येक वर्ष खेतमा आएको प्लास्टिकलगायतका फोहोर फाल्नुपर्ने बाध्यता भएको किसान चौधरी बताउनुहुन्छ। किसान चौधरीले भन्नुभयो, “गाउँमा सिँचाइका लागि कुलो बनाएका हौँ तर सहरका मानिसले कुलोमा फोहोर फालिदिँदा खेतभरि प्लास्टिक तथा सिसाजन्य फोहोरले भरिने गरेको छ।” फोहोरले गर्दा किसानलाई खेती गर्नुभन्दा पहिले प्रत्येक वर्ष खेतबारी सफा गर्नुपर्ने चुनौती थपिने गरेको छ । खोला र कुलाको दूषित पानीले सिँचाइ गर्दा अन्नबालीमा नयाँ रोग देखा पर्ने र बर्सेनि उत्पादनसमेत घट्ने समस्या रहेको अनुभवसमेत चौधरीले सुनाउनुभयो।
खेतमा पुगेको फोहोरले खेती गर्नसँगै उत्पादनमा समेत असर गर्ने गरेको घोराही उपमहानगरपालिका–६ निवासी किसान लक्ष्मी खत्री बताउनुहुन्छ। सहरमा फोहोर जथाभाबी फाल्दा किसानको खेतबारीसँगै सिँचाइका लागि प्रयोग हुने खोला र कुलोसमेत प्रदूषित हुने गरेको उहाँ बताउनुहुन्छ। स्थानीय खड्काले भन्नुभयो, “पहिले पहिले खोला तथा नालामा पानी गाईबस्तुलाई खुवाउन र सिँचाइ गर्न हुन्थ्यो तर अहिले फोहोरले गर्दा खोलानालामा गाईबस्तुलाई पानी खुवाउनै डर लाग्ने भएका छन्।”
बजारमा जथाभाबी रूपमा फोहोर फाल्दा सिँचाइका लागि प्रयोग हुने खोला तथा नाला प्रदूषित भएको उहाँको भनाइ छ। खोलाका दूषित पानी पिउँदा गाईबस्तु बिरामी पर्ने र अन्नबालीमा समेत बर्सेनि रोग देखिने गरेको उहाँ बताउनुहुन्छ। यो समस्या किसान हरिराम चौधरी र लक्ष्मी खत्रीको मात्रै होइन, जिल्लाका धेरै किसानले भोग्दै आएको समस्या हो। सहरी क्षेत्रबाट निस्कने फोहोर व्यवस्थित रूपमा व्यवस्थापन नहुँदा गाउँमा प्रदूषण मात्रै बनाउने गरेको छैन। कृषि व्यवसायमा समेत असर पर्ने गरेको छ।
जिल्लामा घोराही मात्रै होइन, यो समस्या तुलसीपुर, लमही, भालुवाङलगायतका क्षेत्रमा समेत देखिने गरेको छ। सहरबाट निस्कने फोहोर खोला र कुला हुँदै खेतबारी तथा गाउँसम्म पुग्ने र त्यसले कृषि कार्यमा असर पु-याउने गरेको स्थानीयवासी बताउनुहुन्छ। गाउँका सिँचाइ गर्ने कुलोदेखि खेतबारीसम्म फोहोरै फोहोरले भरिएपछि कतिपय ठाउँमा किसानले सफा गर्नुपर्ने बाध्यता भएको छ।
घोराही उपमहानगरले सहरी क्षेत्रमा हरेक दिन फोहोर सङ्कलन गर्ने गरे पनि कतिपयले फोहोर कटुवा तथा सेवार खोलामा फाल्ने गर्दा त्यसको असर गाउँमा किसानलाई पर्ने गरेको छ। सहरवासीले खोलामा फाल्ने फोहोरका कारण गाउँसम्म प्रदूषण फैलिनुका साथै किसानले समेत समस्या भोग्नुपर्ने समस्या भएको घोराही उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारी बताउनुहुन्छ।
सहरको फोहोर गाउँमा गएर खेती गर्नै समस्या हुने अवस्था आएपछि घोराही उपमहानगरपालिकाले फोहोर नफाल्न पटक पटक सार्वजनिक सूचनासँगै फालेको थाहा पाए कारबाही गर्नेसम्म चेतावनी दिए पनि कम गर्न नसकिएको बताउनुहुन्छ। शाखा प्रमुख अधिकारीले भन्नुभयो, “फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले गाडीको प्रयोग गर्दै आएको छ। घरबाट निस्कने फोहोरलाई गाडीमा फाल्न र जथाभाबी रूपमा खोला तथा कुलोमा फोहोर नफाल्न आग्रह गर्दै आएको छौँ तर न्यूनीकरण हुन सकेको छैन।”
सहरवासीलाई सजग गराउनुका साथै खोला तथा कुलोमा फोहोर फाल्नेलाई जरिबानासमेत गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका माधव पौडेल बताउनुहुन्छ। जथाभाबी फोहोर नफाल्न जानकारीसँगै फाले कारबाही गर्नेसम्मको चेतावनी दिँदा पनि कुलामा फोहोर फाल्ने गरेको किसानले गुनासो गर्दै आएको उहाँ बताउनुहुन्छ। शाखा प्रमुख पौडलले भन्नुभयो, “जथाभाबी फोहोर फाल्दा फोहोर गाउँसम्म पुगिरहेको छ। जसले सहरलाई मात्रै होइन गाउँबस्तीमा पनि प्रदूषण गर्ने काम गरिरहेको छ।” उहाँका अनुसार पालिकाले जथाभाबी फोहोर फाल्नेलाई दुई सयदेखि ५० हजारसम्म जरिबानाको व्यवस्था गरेको छ।
जिल्लाका प्रमुख घोराही, तुलसीपुर र लमही क्षेत्रमा हरेक दिन फोहोर उठ्ने गरेको छ। घोराही उपमहानगरपालिकामा २०, तुलसीपुर उपमहानगरपालिकामा २५ र लमही नगरपालिकामा छ टन गरी जिल्लामा दैनिक करिब ५० देखि ५५ टनसम्म फोहोर सङ्कलन हुने गरेको छ। सहरी क्षेत्रमा फोहोर सङ्कलनका लागि घोराही उपमहानगरपालिकामा १० वटा, तुलसीपुर उपमहानगरपालिकामा छ वटा र लमही नगरपालिकामा चार वटा गाडी प्रयोग हुने गरेका छन्। त्यसका साथै भालुवाङ, गढवा, नारायणपुर, हापुरेलगायतका सहरी क्षेत्रमा पनि पालिकाले फोहोर सङ्कलनका लागि गाडीको प्रयोग गर्ने गरेका छन्। सहरबाट उठेको फोहोर पालिकाले ल्यान्डफिल्ड साइडमा व्यवस्थापन गर्दै आएका छन्।
तर ग्रामीण क्षेत्रको फोहोर व्यवस्थापनमा भने पालिकाले चासो देखाएका छैनन्। सहरी क्षेत्रमा हरेक दिन फोहोर उठाइरहँदा पालिकाले ग्रामीण क्षेत्रको फोहोर भने नउठ्ने गरेको स्थानीयवासी बताउनुहुन्छ। अधिकांश फोहोर सहरी क्षेत्रमै उठ्ने भएकाले मुख्य रूपमा फोहोर सङ्कलनका लागि सहरमै केन्द्रित हुने गरेको लमही नगरपालिका वन, वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख गायत्री थापा बताउनुहुन्छ।