• २८ वैशाख २०८२, आइतबार

मापदण्डविपरीत पशु ओसारपसार

blog

शालिग्राम नेपाल  

चितवन, जेठ ३१ गते । पशु अधिकारको बहस उठ्दै आए पनि राँगाभैँसी सवारीसाधनबाट मापदण्डविपरीत ओसारपसार हुन छाडेको छैन। 

तराईका विभिन्न स्थानबाट काठमाडौँ लैजाने राँगाभैँसी ओसार्दा सामान्य मापदण्ड पनि पूरा नगर्ने गरेको पाइएको हो। ट्रकमा लैजाँदा नाकमा डोरीले बाँधेर राख्ने, पुच्छरमा डोरीले बाँधेर लैजाँदा काटिने, रगत चुहिने र साँघुरो ठाउँमा राखेर धेरै सङ्ख्यामा लैजाँदा त्यहीँ निसास्सिएर मर्ने जस्ता घटना हुने गरेको छ। 

पशु ढुवानी मापदण्ड २०६४ मा ढुवानी गर्दा पशुलाई हलचल गर्न सकिने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाइ, एकआपसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्ने उल्लेख छ।  पशुलाई बाँधेर यात्रा गराउन नहुने, घाँस, पराल र पानीको व्यवस्था गर्नुपर्ने, आराम गर्ने व्यवस्था गरिनुपर्ने जस्ता व्यवस्था कानुनले गरेको छ। 

तर काठमाडौँ लैजाने राँगाभैँसीमा ती नियम लागू नभएको पशु क्वारेन्टाइन चेकपोस्ट रामनगरका प्रमुख शिरीष गौतमले बताउनुभयो। ट्रकमा नियमविपरीत ल्याएको देखेमा डोरी खोल्न लगाइन्छ र जरिवाना तिराएर पठाउने गरिएको छ। उहाँले भन्नुभयो, “जहाँबाट लोड हुन्छ त्यहीँ पशु अधिकारको पालना गर्नु पर्दछ। चेक पोस्टमा हामीले जरिवाना लगाउन सक्छौँ  हेर्दा देखिने पीडालाई कम गर्न सचेत गराउँछौँ।” 

जरिबानाबाहेक अन्य व्यवस्था गर्न क्वारेन्टाइन कार्यालयले नसकेको गौतमले बताउनुभयो। ढुवानीका क्रममा पशुलाई लामो यात्रा गराउन नहुने, बिचमा आराम गराउने र खान दिने गर्नु पर्दछ। ढुवानीमा पीडा दिएको पाइएमा होल्डिङ केन्द्र बनाउने तयारी भए पनि काम हुन नसकेको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो।  सहज रूपमा यात्रा गराउने, कुनै पीडा नदिने गरी ओसारपसार गर्नु पर्दछ तर ढुवानी गर्नेले नियम पालना गरेको पाइँदैन। धनुषा, परासी, नवलपरासी, बारा, नेपालगन्ज, कैलाली, रौतहटलगायतको स्थानबाट दैनिक १० ट्रक राँगाभैँसी राजधानी लैजाने गरिएको छ। प्रमुख गौतमले भन्नुभयो, “पशु ढुवानीमा प्रयोग हुने ट्रकमध्ये थोरैले मात्र सामान्य नियम पालना गर्दछन् अधिकांशले पशु अधिकार हनन गरेका छन्।”  

पशुलाई लोड गर्ने स्थानमा नै जाँच गरेर पठाउने व्यवस्था भए बिच बाटोमा समस्या नआउने उहाँको भनाइ छ। पशु ढुवानी गर्दा रातको समयमा ढुवानी सहज हुने भएकाले राति नै काठमाडौँ पु-याउने गरिएको छ। 

क्वारेन्टाइन कार्यालयमा १५ वर्षदेखि काम गर्दै आउनुभएका जीवनाथ ढकालले भन्नुभयो, “जहाँ बजार छ त्यहीँ वधशाला बनाएर ओसार्ने व्यवस्था भएमा बिजोग देख्नु पर्ने थिएन। ढुवानी गरेका पशुलाई केही समय रोकेर खाना दिने र फेरि लोड गरेर लैजाने व्यवस्था गरिनु पर्दछ। उहाँले भन्नुभयो, “धेरै पीडा दिएर ओसार्छन्कहिलेकाहीँ हेर्नसमेत नसकिने गरी बाँधेको हुन्छ, कुनै मायादया हुँदैन।”

पशु अधिकारको क्षेत्रमा काम गर्दै आएको एनिमल नेपाल चितवन कार्यालयका संयोजक सुमेधा गौतमले पशु अधिकारको विषयमा व्यापारी र सरकारी निकाय संवेदनशील नभएको बताउनुहुन्छ। बाँच्ने समयसम्म पशुलाई उसको अधिकार हनन गर्न हुँदैन, यातना दिएर मार्ने, ओसार्दा पीडा दिने, वधशालामा एउटालाई काटेको अर्कोले देख्ने, यात्रा गराउँदा सहज नगर्ने जस्ता समस्या हटाउनु पर्दछ। 

मासुका लागि प्रयोग गर्ने भएपछि पशु बजारमा नै वधशाला निर्माण गरी त्यहीँ काटेर ओसार्न उहाँले माग गर्नुभयो। राँगाभैँसी मात्र नभई कुखुरा, बङ्गुरपालन गर्ने स्थान, ओसार्दा अपनाउनुपर्ने मापदण्ड पालना नभएको उहाँले बताउनुभयो। कुखुरालाई हिँडडुल गर्न नमिल्ने गरी खोरमा राख्ने, त्यही दाना खाने त्यही बिस्टाउने गर्दा रोगको सङ्क्रमण बढेर मानव स्वास्थ्यमा समेत प्रभाव पार्ने अधिकारकर्मी गौतमको भनाइ छ। 

एनिमल नेपालका निःशुल्क सेवाकर्ता रामचन्द्र आचार्यले पशुको ढुवानीमा मात्र होइन, स्वास्थ्य जाँच र व्यवस्थित वधशाला निर्माण गरेर त्यहीँ व्यवस्थापन गर्ने नियम कडाइका साथ पालना गर्न लगाउनुपर्ने बताउनुभयो। पशु अधिकारकर्मीले आवाज उठाएको समयमा सरकारी निकायबाट अनुगमन हुने त्यसपछि ओसारपसारको विषयमा चासो नदिँदा पीडा दिएर ढुवानी गर्ने क्रम रोकिएको छैन।