• १४ मंसिर २०८१, शुक्रबार

भित्रियो ‘लिफ्टिङ सिफ्टिङ’ प्रविधि

blog

बाँके समाचारदाता

बाँके, जेठ ३० गते । नेपालगन्जमा बर्खाको समयमा सयौँ घर जलमग्न हुने गरेका छन्। सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्खाको समयमा पानी पसेर दुःख दिने गरेको छ। पहिले निर्माण गरिएका घरहरूभन्दा पछि निर्माण भएका सडकको उचाइ बढी भएकाले घरभित्र पानी पस्ने समस्याले विकराल रूप लिँदै आएको छ। यो समस्यालाई सम्बोधन गर्न घरको उचाइ बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने विधि नेपालगन्जमा भित्रिएको छ। 

भारतमा दुई दशकदेखि घर सार्ने र उचाइ बढाउन प्रयोग हुने ‘लिफ्टिङ सिफ्टिङ’ मार्फत काम गर्दै आएका बाँकेको जानकी गाउँपालिका–३, मानपुरका भोलासिंह राठौरले गत पुसदेखि यो विधिमार्फत काम गर्दै आउनुभएको छ। हाल नेपालगन्जको न्युरोडनजिकै रहेको लोकबहादुर सुनारको घरको काम अन्तिम चरणमा छ। घरको उचाइ बढाएर अन्तिम चरणको काम भइरहेको राठौरले जानकारी दिनुभयो। 

प्रत्येक वर्ष डुबान हुने समस्याबाट वाक्कदिक्क भएका सुनारले यो विधिबाट आफ्नो घरको उचाइ बढाउन लाग्नुभएको छ। घरको करिब चार फिट उचाइ बढाउने कार्य अन्तिम चरणमा छ।  नेपालगन्ज–गुलरिया सडकखण्डस्थित मानपुरमा सडकछेउमा परेका आफन्तका दुईवटा घर सारेपछि राठौरले हाल नेपालगन्जमा यो काम गरिरहनुभएको छ। यसरी घर उठाउँदा ठूला खाले मेसिनको प्रयोग गरिएको छैन। गाडी बिग्रिएपछि टायर झिकेर अडेस लगाउने फलामे बिमहरू प्रयोग गरेर घरलाई सुरक्षा प्रदान गरिन्छ।  घर सार्दा कुनै क्षति हुँदैन तर केही खर्चिलो भने छ। एकतले घरको प्रतिस्क्वायर फिट पाँच सय रुपियाँ, दुईतले घरको प्रतिस्क्वायर फिट ७५० र तीनतले घरको प्रतिस्क्वायर फिट एक हजार रुपियाँ शुल्क तोकिएको छ। 

राठौर घर भत्काउनुभन्दा यसरी काम गर्नु कम खर्चिलो हुने दाबी गर्नुहुन्छ। पछिल्लो समय धेरैतिरबाट यो विधिका बारेमा सोधीखोजी भइरहेको उहाँको भनाइ छ। भारतमा लामो समय यो प्रविधिमा काम गरेका राठौर नेपालगन्जमै केन्द्रित भएर काम गर्न खोजेको बताउनुहुन्छ।